Like us!
Follow us!
Connect us!
Watch us!

काे हुन् थपिएका १० नयाँ संक्रमित ?

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १३ : १२ मा प्रकाशित

काे हुन् थपिएका १० नयाँ संक्रमित ?

अर्थ संसार काठमाडाैं - नेपालमा आज (साेमबार) थप १० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । यो सँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताएका छन् ।

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक-एक जना युवकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए । गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताएका छन् ।

सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताएका छन् – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको