Like us!
Follow us!
Connect us!
Watch us!

हालै विदेशबाट आएका व्यक्तिको सूचना दिन आग्रह

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १५ : ०८ मा प्रकाशित

हालै विदेशबाट आएका व्यक्तिको सूचना दिन आग्रह

अर्थ संसार, काठमाडौं - कास्कीको अन्नपूर्ण गाउँपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्तिबारे सूचना दिन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिएका छन् । विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा सङ्क्रमण भए नभएकोबारे ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले गाउँपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको अध्यक्ष कुँवरले बताए ।

“गाउँपालिका भित्र तत्कालै विदेशबाट कोही आएको भए त्यसको सूचना गाउँपालिका पदाधिकारी, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरीमा दिन भनेका छौं,” उनले भने, “हालसम्म गाउँपालिका भित्र केही दिन यता विदेशबाट आएका दुई जनाका सम्बन्धमा सूचना प्राप्त भएको छ ।” गाउँपालिकामा आजैदेखि सरकारले शुरु गरेको लकडाउनको पूर्ण प्रभाव परेको बताउँदै उनले सर्वसाधारणले निर्देशन पालना सहित आआफ्नै घरमा सुरक्षित बसेको जानकारी दिएका छन् ।

धर्मको नाममा अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्बासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर ३२ वर्षीय केशब आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ राजकुमार केसीले जानकारी दिए । कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको केसीले जानकारी दिएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको