Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घट्दा पनि बढेन कर्जा, आन्तरिक अर्थतन्त्र दबाबमै

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १३ : ३० मा प्रकाशित

ब्याजदर घट्दा पनि बढेन कर्जा, आन्तरिक अर्थतन्त्र दबाबमै

पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा निक्षेप थुप्रिँदै गइरहेको छ । 

रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ,कर्जा प्रवाह सुस्त छ,भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकले देखाउछ । 

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा ब्याजदर घटाइरहेका छन् । ब्याजदर घटिरहेको बेलामा कर्जा माग बढ्नुपर्ने,तर निजी क्षेत्रमा प्रवाह हुने कर्जामा अपेक्षाकृत सुधार भएको छैन भने आयात तथा निर्यातमा संकुचन कायमै देखिन्छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको ब्याजदर घट्दा पनि कर्जा लगानी भने सोचे अनुसार बढ्न नसकेको बताएका छन् । केहि समय अघिसम्म ब्याजदर बढी भएर कर्जा नबढेको चर्चा हुने गरेको भएपनि अहिले ब्याजदर घट्दा पनि कर्जा नबढेको उनले बताए ।
सोचेअनुसार कर्जा बढ्न नसक्नु चिन्ताको विषय भएको उनले बताए ।

‘ब्याजदर घट्दै गएको छ । कर्जाको विस्तार सोचेअनुसार बढेको छैन,’ उनले भने ।  आधार दर निकै तल झरिसकेको छ । बढेको ब्याजदर औसतमा करिब २ प्रतिशत विन्दुले घटिसकेको छ ।’ उनले भनेका छन् । 

कर्जा बढ्न नसक्ने र आयात समेत घटेको तथ्यांकले आन्तरिक अर्थतन्त्रमा शिथिलता बढ्दै गएको देखिएको छ । निक्षेपको आकार तीव्र गतिमा बढ्दै जाने तर सोही अनुसार यता कर्जा लगानी बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा मात्र नभइ राष्ट्रिय अर्थतन्त्रमा नै चुनौती थपिएको छ । 
सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, यता अपेक्षित रूपमा निजी तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढ्न नसक्दा उत्पादन घट्ने निश्चित जस्तै छ ।

बैंकहरुमा अहिले सिडि रेशियो समेत ८० प्रतिशतमा झरेको छ । ९० प्रतिशतसम्म कायम गर्न पाइने सिडि रेशियो अहिले ८०.८२ प्रतिशतमा झरिसकेको छ । यसले बैंकहरुमा ५ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम रहेको देखाउँछ ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६२ अर्ब अर्थात ६.२७ प्रतिशतले बढेको छ । यसमा सरकारले स्थानीय तहको रकमलाई गणना गर्न दिएको एक खर्ब बढी रकम घटेको छ । वास्तवमा तेस्रो त्रैमाससम्ममा बैंक वित्तीय संस्थाको निक्षेप साढे ४ खर्ब बढीले बढेको छ ।

कर्जा लगानी भने २ खर्ब २९ अर्ब रुपैयाँले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४.६९ प्रतिशतले मात्रै बढेको छ । राष्ट्र बैंकले यस वर्ष साढे ११ प्रतिशत कर्जा विस्तार हुने अनुमान गरेको थियो तर अहिले कर्जा लगानी झनै सुस्ताएको देखिन्छ । 

बैंकहरुले ब्याजदर घटाउँदै लगे पनि कर्जा प्रवाह भने त्यो गतिमा बढ्न सकेको छैन् । अहिले बैंकहरुको निक्षेपको ब्याजदर औसतमा ७ प्रतिशतभन्दा तल झरिसकेको छ भने कर्जाको ब्याजदर पनि १० प्रतिशतमा झरेको छ । तर पनि बैंकहरुमा कर्जाको माग भने बढ्न सकेको छैन् । 

आर्थिक मन्दीका कारण आम उपभोक्ताको क्रयशक्ति घट्दा अहिले बजारमा उपभोग्य वस्तुको माग घटेको छ । त्यस्तै, विकास निर्माणले गति लिन नसक्दा निर्माणजन्य उद्योगको उत्पादन न्यून छ । यस्तो अवस्थामा ऋण लिएर लगानी गर्दा प्रतिफल पाउन नसकिने र कर्जाको ब्याज समेत महँगो भएकाले कर्जाको माग नै नभएको उद्योगीहरू बताउँछन् ।

कोरोना महामारीयता समस्यामा देखिएको अर्थतन्त्रमा केही सूचक कहिलेकाहीँ सकारात्मक देखिए पनि औसत आयामहरूमा अहिले पनि निराशा नै बढी देखिएको छ । यता सरकार भने विप्रेषण थुप्रिनु र वित्तीय प्रणालीमा देखिएको तरलतालाई सुधारको संकेत मानिरहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको