Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बलिङ सामु हङकङ निरीह, ११४ रनमै अलआउट

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १४ : २५ मा प्रकाशित

नेपाली बलिङ सामु हङकङ निरीह, ११४ रनमै अलआउट

एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङलाई ११४ रनमै अलआउट गर्न सफल भएको छ ।

ओमान टर्फ मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । नेपाली टोलीमा आज विवेक यादवको ठाउँमा खेलेका करन केसीले शुरूवाती सफलता दिलाए । मार्टिन कुत्जेलाई केसीले ८ रनमै आउट गराए । त्यसपछि हङकङका अन्सुमन रथले ३४ रन बनाउँदै पारी सम्हाने कोशिस गरे । तर रथबाहेक अन्य कुनै खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा हङकङ १७.५ ओभरमै अलआउट हुनपुग्यो ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले दुई-दुई विकेट लिए । वर्षाको कारण  ढिला गरि शुरु भएको खेल प्रति इनिङ १८ ओभरमा घटाइएको छ । ११५ रनको लक्ष्य पछ्याउँदै नेपालले केही क्षणमा ब्याटिङ थाल्दैछ ।

प्रतियोगितामा नेपालले यसअघि भएका आफ्ना दुई खेलमा जीत हासिल गरिसकेको छ भने हङकङले एक खेल जित्दा अर्को खेलमा हार व्यहोरेको छ । आजको खेल जितेमा नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ । हङकङ भने आफ्नो सेमिफाइनल सम्भावना कायम राख्ने दाउमा हुनेछ ।

ओमानमा जारी प्रतियोगितामा १० देश सहभागी छन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको