Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमासमा ६ बैंक तथा वित्तीय संस्था परे राष्ट्रबैंकको कारवाहीमा

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १४ : ४० मा प्रकाशित

दोस्रो त्रैमासमा ६ बैंक तथा वित्तीय संस्था परे राष्ट्रबैंकको कारवाहीमा

चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ६ बैंक तथा वित्तीय संस्था परे राष्ट्रबैंकको कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा तीन वाणिज्य बैंक, दुई विकास बैंक र एक फाइनान्स कम्पनी रहेका छन् ।

कारवाहीमा पर्नेमा वाणिज्य बैंकमा हिमालयन बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । यसैगरी कारवाहीमा पर्नेमा विकास बैंकमा मुक्तिनाथ र गरिमा विकास बैंक तथा फाइनान्समा रिलायन्स फाइनान्स रहेका छन् । ग्लोबल आएमई बैंकले प्रिमियम दर  बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिईएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको र आव ०७९/८० मा पुनःनिर्देशन विपरीत प्रिमियम दर बढाएको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

यसैगरी राष्ट्रबैंकले एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रकृयामा रहेको, डिई अनुपात नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ को बुँदा नं.८(५) को व्यवस्था विपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण/ पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको पाईएकोले ग्लोबल आई.एम.ई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिएको जनाएको छ । साथै सञ्चालक/सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको पनि राष्ट्रबैंकले उल्लेख गरेको छ ।

प्रभु बैंकले पनि एकीकृत निर्देशन, २०७९ को निर्देशननं. २/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. १५/०७९ को ३(८) को व्यवस्था विपरीत प्रिमियम दर वृद्घि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६÷०७९ को बुँदा नं.२ को सञ्चालक/ सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

हिमालयन बैंकले बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा यस बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको, एकीकृत निर्देशन २०७९, निर्देशन नं.२/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को खण्ड (क) बमोजिम नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ । साथै, बैंकको सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरुमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराईएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मुक्तिनाथ विकास बैंकले एकीकृत निर्देशन नं. १९/२०८० को बुँदा नं.५(१) बमोजिम वास्तविक धनी पहिचान गर्ने  संयन्त्रको स्थापना नभएको तथा सोही निर्देशनको बुँदा नं. १४(१) बमोजिम निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लंघन गरेकाले एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार रु.१० लाख नगद जरिवाना गराईएको राष्ट्र बैंकले जनाएको छ ।

गरिमा विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्ति समेतको नाममा सञ्चालनमा रहेको संयुक्त खातामा बिमा कम्पनी खोल्ने उद्देश्यले सर्वसाधारण तथा वित्तीय संस्थाका संस्थापक समेतबाट आवेदन रकम संकलन गर्ने कार्य भएको तथा सो खाताबाट विभिन्न चरणमा खर्च भएको अवस्थामा पनि ती कारोबारहरुको अनुगमन नभएको देखिएकोले संस्थाको संस्थागत सुशासन र संचालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएकोले संचालक डा.आनन्द प्रसाद श्रेष्ठलाई नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको पनि राष्ट्र बैंकले जनाएको छ ।

रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यवसायिक कारोबारहरु भएको, खाताको नियमित रुपमा अद्यावधिक समेत नभएकोले संस्थाको संस्थागत र सञ्चालकको आचरण कार्यान्वयनको अवस्था समेत कमजोर देखिएको हुनाले सञ्चालक कुशप्रसाद मल्लीलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । साथै, उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले नेपाल राष्ट्र बैक, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको