Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्सलाई गर्यो कारवाही, कर्णाली विकास बैंकलाई नगद जरिवाना

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १७ : ४९ मा प्रकाशित

राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्सलाई गर्यो कारवाही, कर्णाली विकास बैंकलाई नगद जरिवाना

नेपाल राष्ट्र बैंकले वित्तीय संस्था सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार विकास बैंक र एक फाइनान्सलाई कारवाही गरेको छ ।

राष्ट्रबैंकले निर्धारण गरेका विभिन्न नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै विकास बैंकतर्फ कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र गरिमा विकास बैंक तथा फाइनान्स कम्पनीतर्फ रिलायन्स फाइनान्स कारवाहीमा परेका हुन् ।

एक्सेल डेभलपमेन्ट बैंकले रियल स्टेट र शेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ व्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको, कर्जाको रकम ऋणी कम्पनीका सञ्चालक- निजका परिवारका सदस्यबाहेकका असम्बन्धित व्यक्ति-संस्थालाई समेत भुक्तानी भई कर्जा सदुपयोग भएको नपाइएको र कर्जा तिर्न ऋण रकमको प्रयोग भएको लगायतका गम्भीर प्रकृतिका कैफियतहरु देखिएको भन्दै कारवाही गरिएको हो । यसैगरी सञ्चालक समितिले आफ्नो अख्तियारीबाट कर्जा प्रवाह गर्दा ड्यु डिलिजेन्स गर्ने नगरेको र कर्जा प्रवाह पश्चात् कर्जाको सदुपयोगिता समेत यकिन गर्ने-गराउने कार्य नभएको हुँदा निक्षेपकर्ताको हित विपरित काम गरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम संस्थाको सञ्चालक समितिलाई सचेत गराइएको जनाइएको छ ।

गरिमा विकास बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२(१) बमोजिम बैंक तथा वित्तीय संस्थाको सञ्चालकले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्ष पूरा नभई आफ्नो नामको धितोपत्र धितोबन्धक राख्न, राख्न लगाउन वा लेनदेन गर्न रोक लगाएको अवस्थामा कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजिनामा गरेको एक वर्ष पुरा नहुँदै निजको नाममा रहेको कर्जा नियमित गर्न शेयर धितो कर्जा दिएको पाइएकोले उक्त संस्थालाई भविष्यमा यस्तो कार्य नगर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको छ ।

यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको हकमा संस्थाको विशेष निरीक्षण स्थलगत प्रतिवेदनमा औल्याइएका कैफियतहरु बमोजिम संस्थाका तत्कालिन सञ्चालक समिति अध्यक्ष राजेन्द्र विर राय र तत्कालिन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर रुपमा उल्लङ्घन गरी संस्था, लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरित कार्य गरेको तथा संस्था सुधारका लागि नेपाल राष्ट्र बैंकबाट पटक पटक दिइएका निर्देशनहरु पालना नगरेको, संस्थाबाट अप्रत्यक्ष रुपमा कर्जा उपभोग गरेको लगायतका कार्य गरी निर्देशन उल्लङ्घन गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम रु.५-५ लाख जरिबाना गरिएको जनाइएको छ ।

सिन्धु विकास बैंकलाई संस्थाको विशेष स्थलगत निरीक्षण प्रतिवेदन बमोजिम संस्थाको आन्तरिक लेखापरीक्षण तथा सञ्चालन जोखिम व्यवस्थापन कार्य अत्यन्त कमजोर रहेको, सञ्चालक समिति र सो अन्तर्गत रहेको विभिन्न समिति/उप- समितिहरुको ओभरसाइट फन्कसन सन्तोषजनक नरहेको, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, ग्राहक पहिचान पद्धती, कारोवार अनुगमन गर्ने पद्धती लगायतका कार्यहरु समेत सन्तोषजनक नरहेको तथा समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरुलाई सचेत गराइएको जनाइएको छ ।

रिलायन्स फाइनान्सलाई ऋणीको व्यवसायिक क्षमता भन्दा बढी हुने गरी नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रबाह गरेको, कर्जाको परियोजना सन्तोषजनक नरहेको, संस्थाबाट प्रवाहित कर्जा पुरानो ऋणीको कर्जा चुक्ता गर्न प्रयोग भएको र बाँकी रकम समेत सम्बन्धित परियोजनामा उपयोग नभई जग्गा खरिदका लागि भुक्तानी भएको तथा कर्जा प्रदान गर्दा उल्लेख भएको उदेश्य भन्दा अन्य प्रयोजनमा कर्जाको प्रयोग भई कर्जा दुरुपयोग भएको र परियोजनाको सञ्चालन अवस्था एवम् धितो सुरक्षणको अवस्थितिका आधारमा कर्जा असुरक्षित रहँदाकै अवस्थामा संस्थाको सञ्चालक समितिबाट कर्जा स्वीकृतिको निर्णय गरी निक्षेपकर्ताको हितविपरित कार्य भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सञ्चालक समितिलाई नसिहत दिइएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको