Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

निशा हुमाँगाई

शुक्रबार, १४ चैत्र २०७६, १० : २२ मा प्रकाशित

विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

अर्थ संसार, काठमाडौं – काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ । “आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने”, पत्रमा भनिएको छ, “वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने”, भनिएको छ ।

कामपाको गत चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख निकाशा गरिसकेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको