Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेन र रसुवागढीको IPO मा लगानी गर्ने आज अन्तिम दिन

विहीबार, १२ बैशाख २०७६, ०७ : ४९ मा प्रकाशित

साञ्जेन र रसुवागढीको IPO मा लगानी गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – बुधवारदेखि विक्री बन्द गर्ने भनिएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको आईपीओ बिहीवार अर्थात आजसम्म विक्रीका लागि खुला रहने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा दुवै कम्पनीको आईपीओ विक्री अवधि थप हुने भएको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो शेयर एपमा समस्या आएकाले आम लगानीकर्ताले सहज रूपमा शेयरका लागि आवेदन दिन नपाएको गुनासो गर्दै अवधि थपको माग गरेका थिए ।

सोही गुनासोलाई ध्यानमा राखी दुई दिनको अवधि थप गर्न विक्रीप्रबन्धक र सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता नीरज गिरिले बताए ।

वैशाख ६ गतेदेखि विक्रीमा आएको दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ ।

बुधबार साँझसम्ममा सान्जेन जलविद्युत कम्पनीको आइपीओमा १ करोड ३४ लाख २५ हजार ८१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार २ लाख ८८ हजार जनाले १ अर्ब ३४ करोड २५ लाख ८१ हजार रुपैयाँको सेयर भरेका हुन् । यस आधारमा सान्जेन जलविद्युतमा माग भन्दा २.६९ गुणा बढी आवेदन परेको देखिन्छ ।
 
यता, रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा भने १ करोड ६३ लाख ५३ हजार १९० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ लाख ८५ हजार ७२० जनाले १ अर्ब ६३ करोड ५३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर भरेका हुन् । रसुवागढी हाइड्रोपावरमा पनि माग भन्दा १.७५ गुणा बढी आवेदन परेको छ ।

सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४ प्रतिशत २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
 
त्यसै गरी रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ४ प्रतिशत ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत ९५ लाख १३ हजार १५७ कित्त म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको