Like us!
Follow us!
Connect us!
Watch us!

आरडिटी पोजेटिभ देखिएकाले उपत्यकाकाे यी क्षेत्र सिल गरिँदै

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ५९ मा प्रकाशित

आरडिटी पोजेटिभ देखिएकाले उपत्यकाकाे यी क्षेत्र सिल गरिँदै

अर्थ संसार, काठमाडौं – शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आरडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी गरिएको थियो ।

आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडिटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उनले बताए । अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।

कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडिटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले जानकारी दिएका छन् ।

आरडिटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए ।

यसअघि आरडिटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गरी पोजेटिभ आएका दुई जनाको पिसिआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । -  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको