Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफले घोषणा गरेको अन्तरिम लाभांश के हो ?

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १४ : ४० मा प्रकाशित

सिटिजन लाइफले घोषणा गरेको अन्तरिम लाभांश के हो ?

सिटिजन लाइफले सोमबार अन्तरिम लाभांशको घोषणा गर्यो । नेपालमा खासै प्रचलनमा नरहेको अन्तरिम लाभांशको प्रस्ताव विश्वमा भने नौलो हैन । बेलायतमा त झन् अर्धवार्षिक रुपमै लाभांश दिइने हुँदा अन्तरिम लाभांश सामान्य मान्ने गरिन्छ ।

अन्तरिम लाभांश बुझ्न सबैभन्दा पहिले कम्पनीको लाभांश प्रक्रिया बुझ्नुपर्नेहुन्छ । नियमित लाभांश दिने कम्पनीहरुले वर्षभरिको कमाईबाट लगानीकर्तालाई वार्षिक लाभांशका रुपमा भुक्तान गर्ने गर्दछन् । कम्पनीले यसरी लाभांश वितरण गर्दा केही रकम सञ्चित मुनाफाका रुपमा राख्ने गर्दछन् । यसरी सञ्चित मुनाफा राख्नुको उद्देश्य कुनै समयमा नाफामा गिरावट भएमा वा कम्पनीको आम्दानी प्रभावित भएमा पनि लगानीकर्तालाई नियमित लाभांश दिन सकियोस् भन्नु नै हो । 

सिटिजन लाइफको हकमा यस अघि घोषणा गरिएको ५.२६३२ प्रतिशत लाभांश नियमित लाभांश हो । तर कम्पनीले आज घोषणा गरेको २८.४०४ प्रतिशत लाभांश नियमित नभई इन्स्योरेन्सको सेयर प्रिमियम रिजर्भबाट घोषणा गरिएको लाभांश हो । यस्ता रिजर्भ, जनरल रिजर्भ वा सञ्चित मुनाफाबाट विशेष परिस्थितिमा दिइने लाभांशलाई अन्तरिम लाभांश मान्न सकिन्छ । यस्तो लाभांशको खास विशेषता भनेको यो वार्षिक साधारणसभा नभई विशेष साधारणसभाबाट पारित हुन्छ भने यस्तो किसिमको लाभांश अन्तिम लेखापरीक्षण गरि वार्षिक वित्तीय विवरण प्रकाशित हुनुपूर्व नै प्रदान गर्ने गरिन्छ ।

नेपालकै हकमा पनि विगतमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाडौं, नबिल बैंक, नेपाल इन्स्योरेन्स, युनिलिभर लगायत कम्पनीले अन्तरिम लाभांश घोषणा गरेका छन् । पछिल्लो पटक आव २०७४/७५ मा एचडिएलले एकपटक २९.५ र अर्कोपटक ६८.४२ प्रतिशत गरि एकै वर्ष ९७.९२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सिटिजन लाइफले पनि कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेकोमा बीमा प्राधिकरणले निर्धारण गरे अनुसार चुक्ता पुँजी पाँच अर्ब पुर्याउन बाकिँ थप एक अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर अन्तरिम लाभांशका रुपमा जारी गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको