Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दै निकाे भएर घर फर्किनेकाे संख्या, थप २१ संक्रमितले जिते कोरोना

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, ०९ : ३४ मा प्रकाशित

बढ्दै निकाे भएर घर फर्किनेकाे संख्या, थप २१ संक्रमितले जिते कोरोना

अर्थ संसार, काठमाडौं –  नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताएका छन् ।

उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको