Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले सचिवलाई भने- ‘बजेट र नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयन हुनुपर्छ’

आइतबार, ३१ असार २०७५, ११ : १७ मा प्रकाशित

प्रधानमन्त्रीले सचिवलाई भने- ‘बजेट र नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयन हुनुपर्छ’

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा मन्त्री तथा सचिवहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको मूल लक्ष्यलाई कार्यान्वयन गर्न सबै निकायले उत्तिकै प्रभावकारी र योजनाबद्ध प्रयास गर्नुपर्छ । नेपाली जनताले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षालाई पूरा गरिनुपर्छ ।”

  सरकारको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित तथा  योजनाबद्धरुपमा समयमा नै परिणाम निकाल्ने गरी कसरी काम गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले छलफल गर्नुभएको  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

  सरकारको नीति तथा कार्यक्रम र बजेटलाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले नियमित छलफल गरिरहनुभएको छ ।

गत बिहीबार पनि प्रधानमन्त्रीले यस्तै छलफल गर्नुभएको थियो । सोही छलफलको निरन्तरताका रुपमा आज पुनः छलफल गर्नुभएको हो ।

  सरकारले व्यवहारमै भ्रष्टाचारलाई शुन्य सहनशीलताको नीति अपनाएको भन्दै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिततामा छुट दिन नसकिने स्पष्ट पार्नुभयो ।

आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनका लागि योजनाबद्ध, गतिशील र प्रभावकारी कार्ययोजना जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्णरुपले कार्यान्वयनमा जाने गरी लिखित कार्ययोजना प्रस्तुत गर्न सम्बद्ध मन्त्री र सचिवलाई निर्देशन दिनुभएको थियो ।

  सोही निर्देशनअनुसार मन्त्री र सचिवहरुले एकवर्षे तथा पञ्चवर्षीय मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गर्नुभएको छ ।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि अत्यावश्यक योजना र रणनीति, समस्या रहेका स्थानमा समाधानको उपायका बारेमा समेत सम्बद्घ अधिकारीसँग चासोपूर्वक महत्वपूर्ण छलफल गर्नुभएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

साउत १ गतेदेखि लागू गरिने सरकारका सबै योजनाको व्यवस्थित र तोकिएको समयमा नै नतिजा आउने गरी कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

  यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आज १३ वटा मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको