Like us!
Follow us!
Connect us!
Watch us!

बबई नहरको सफाईमा दुई हजार बढी सहभागी

आइतबार, ०६ जेठ २०७५, ११ : ११ मा प्रकाशित

बबई नहरको सफाईमा दुई हजार बढी सहभागी

अर्थ संसार, बर्दिय–  बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरूले जनश्रमदान गरेर सरसफाई गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो तथा वालुवा सरसफाइ गर्न आज करीब दुई हजार कृषकहरू जुटेका हुन् ।

बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका दुई हजार कृषकहरू सहभागी भई नहर सरसफाइ गरेको बर्गदा–जम्ती–नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका सचिव वेदप्रसाद खनालले जानकारी दिनुभयो ।

सिँचाइ सुविधा नहुँदा विगतका वर्षमा जेठदेखि असार मसान्तसम्म झण्डै ४५ दिन जनश्रमदान (बेगारी) गरेर आफ्नो गाउँमा खेतीपातीका लागि नदीबाट कुलामा पानी लैजाने गरिन्थ्यो, आठ वर्षयता सिँचाइ संरचना नहर बनेपछि अहिले वर्षमा एकदिन मात्र नहर किनारमा जम्मा भएको माटो सरसफाइ गरिने गरेको बर्गदा जम्ती नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुजराम थारु बताउनुभयो ।

बबई सिँचाइको नहर सरसफाइ अभियानमा हरेक वर्ष आलोपालो नहरको पूर्वी र पश्चिी भेगका कृषकहरू जुटने गर्छन् । यस वर्ष पश्चिमी क्षेत्रका कृषकको पालो परेको थियो, गाउँका बडघरले चौकीदारमार्फत कृषकहरूलाई खबर गरेपछि सरसफाइ अभियानमा जुटेका छन्, सरसफाइ भएको एकहप्ताभित्रै कृषकको खेतबारीमा सिँचाइ सुबिधा पुग्छ र धानबालीका लागि कृषकहरूले धानको बीउ राख्ने गर्छन् ।

गाउँका कृषकहरूको परम्परागत सामूहिक काम नहर सरसफाइ अभियानमा कोही बिरामी भएको वा समस्यामा परेको खण्डमा गाउँको बडघरसँग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारीबिना सहभागी नभए चलनचल्तीअनुसार एकदिनको ज्याला जरिवानास्वरूप तिर्नुपर्ने नियम रहेको छ ।

बबई नदीको नहर सरसफाइमा कृषकहरू जुटिरहेका बेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाइ आयोजनाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको