Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा प्रहरीको एक्सन, बहूमूल्य धातुका मूर्तिसहित तीन पक्राउ

सोमबार, २४ बैशाख २०७५, ११ : ३० मा प्रकाशित

काठमाडौँमा प्रहरीको एक्सन, बहूमूल्य धातुका मूर्तिसहित तीन पक्राउ

अर्थ संसार,काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना बीचमा प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी पुरातत्व विभागमा दर्ता नगरी आफूखुशी मनपरी रकममा मूर्ति बेचेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “जति धेरै पुरानो भयो त्यति नै धेरै मूल्य लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ,” उहाँले भन्नुभयो ।

 पक्राउ परेका व्यक्तिले ७० वर्षअघिदेखि मूर्ति अमेरिकाको रुविन्स म्यूजियमसम्म बिक्रीवितरण गर्दै आएको अनुसन्धानमा खुलेको कार्कीले बताउनुभयो । नेपालबाट पुरातात्विक मूर्ति खरिद गरी विदेश लैजाने गिरोहको समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलो तौलको पुरानो बुद्धको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले आज बा ६० प ३९०६ नं को स्कुटर चेकजाँच गर्दा झोलामा लुकाएर ल्याएको बुद्धको मूर्तिसहित २४ वर्षीय सञ्जय बानियाँलाई पक्राउ गरेको होे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको