Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन ?

बुधबार, २९ मंसिर २०७३, १२ : २८ मा प्रकाशित

एमालेको चार करोडको कोष किन सञ्चालनमा आएन   ?

काठमाडौं-एमालेले चार वर्षअघि बनाएको कार्यकर्ता संरक्षण कोष अझै सञ्चालनमा आएको छैन । सहयोगी, शुभेच्छुक र कार्यकर्ताबाट करिब चार करोड रुपैयाँ जम्मा भए पनि नियम र कार्यविधि नबन्दा कोष अझै सञ्चालन हुन नसकेको हो ।

पार्टीका असहाय, गरिब, अशक्त तथा भूमिगतकालका सहयोगीको स्वास्थ्योपचार तथा बालबालिकाको शिक्षामा सहयोग गर्न तत्कालीन अध्यक्ष झलनाथ खनालका पालामा  कोष बनाइएको थियो । आठौँ महाधिवेशनबाट कोषको अवधारणा अघि बढेको हो ।

कार्यकर्ता संरक्षण कोषमा सुरुवाती दिनमै करिब चार करोड रुपैयाँ संकलन भएको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले समर्थक प्रवासी नेपालीले कोष निर्माणमा उल्लेख्य सहयोग गरेका थिए । असहाय, भूमिगत सेल्टरदाता र दुःख पाएका कार्यकर्ताको स्वास्थ्योपचार र तिनका बालबालिकाको पठनपाठनमा सहयोग गर्नेगरी निर्देशिका बने पनि थप कार्यविधि नबन्दा कोष अझै सञ्चालन हुन नसकेको हो । कोषको अध्यक्ष महासचिव ईश्वर पोखरेल तथा सचिव योगेश भट्टराई छन् ।

कोष सञ्चालन नभएपछि पैसा पार्टीको खातामा

लामो समयसम्म सञ्चालन नभएपछि एमालेले कोषमा जम्मा भएको करिब तीन करोड रुपैयाँ पार्टी कोष र प्राकृतिक विपत्ति कोषमा ‘ट्रान्सफर’ गरेर खर्च गरेको छ । कोषमा अहिले जम्मा एक करोड २७ लाख रुपैयाँ रहेको छ । चार करोडसम्म पुर्याएर मुद्दति निक्षेपबाट आउने ब्याजबाट दुःख पाएका कार्यकर्तालाई सहयोग गर्ने एमालेको योजना थियो ।  कार्यकर्ता संरक्षण कोष अझै सञ्चालन नभएपछि एमालेले पार्टीकै कोषबाट कार्यकर्तालाई सहयोग गर्दै आएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

सहयोग माग्नेको धुइरो

एमाले कार्यालय धुम्बाराहीमा प्रायः हरेक दिनजसो कार्यकर्ता सहयोगको याचनासहित पुग्ने गर्छन् । केही तल्ला कमिटीको सिफारिस त केही ठूला नेताको भनसनुकै भरमा निवेदन लिएर पुग्ने कार्यकर्तालाई केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले सहयोगका लागि तोक लगाउँछन् । ‘निवेदन लिएर सहयोगका लागि आउनेको संख्या पहिलेभन्दा न्यून नै छ,’ श्रेष्ठले भने । ठूलो सहयोगका लागि निर्णय गर्न भने केन्द्रीय सचिवालय बैठकसमेत बस्ने गरेको छ ।

एक लाखसम्म सहयोग  

औचित्य र आवश्यकताका आधारमा १५ हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग दिने गरिएको कार्यालयका लेखा प्रमुख खेम पौडेलले बताए । नवौँ महाधिवेशनयता एमालेले सयजना नेता–कार्यकर्तालाई साढे १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुर्गम जिल्लाबाट काठमाडौं आएर बेखर्ची भएका कतिपय कार्यकर्तालाई ठूला नेताहरूको भनसुनका आधारमा एमालेले बाटो खर्चसमेत दिएर पठाउने गरेको छ ।

प्राकृतिक विपत्ति राहत कोषमा तीन करोड

बाढीपहिरो, भूकम्प, आगलागीलगायतका प्राकृतिक विपत्तिमा परेका पीडितलाई सहयोग गर्न एमालेले तीन करोडबराबरको छुट्टै प्राकृतिक विपत्ति राहत कोष पनि बनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला भोलिदेखि, बार्षिक १० अर्बको मेडिकल सामग्रीको कारोबार

हस्तकला महासंघले मनायो चवालिसौं वार्षिकोत्सव​

एप्पलका उत्पादनमा जेनेरेसन नेक्स्टको होलोग्राम, सक्कली हेरेर मात्र खरिद गर्न आग्रह​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको