Like us!
Follow us!
Connect us!
Watch us!

विमा कम्पनीहरु आइपिओ निष्कासन गर्न हतारिँदै

शनिबार, ०६ माघ २०७४, १५ : २७ मा प्रकाशित

विमा कम्पनीहरु आइपिओ निष्कासन  गर्न हतारिँदै

अर्थ संसार, काठमाडौं– भर्खरै सञ्चालनमा आएका जीवन बिमा कम्पनीहरूले प्रारम्भिक साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका छन् ।

बिमा समितिले जारी गरेको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूले सर्वसाधारणको लागी कम्तिमा पनि ३० प्रतिशत सेयर छुट्टाउनु पर्छ । सोही बमोजिम कम्पनीहरूले आईपीओ जारी गर्ने तयारी गरेका हुन् ।

नयाँ सञ्चालनमा आएका नौ वटा जीवन बिमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो साधारण सभाले चालू आर्थिक बर्षमा नै साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने ६४ लाख ५० हजार रूपैयाँ बराबरको ६४ करोड ५० लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले सेयर निष्काशनका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्गलाई विक्री प्रबन्धकका रूपमा नियुक्त समेत गरिसकेको छ ।

कम्पनीले साधारण सेयर जारी गर्नका लागी समितिबाट स्वीकृति पाईसकेको र धितोपत्र बोर्डमा प्रस्ताव गर्ने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए । “हामीले बोर्डमा निवेदन दिदैछौं । बोर्डबाट स्वीकृति पाएपछि चालू आवमा नै आईपीओ जारी गरिनेछ,” उनले भने ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको भर्खरै सम्पन्न साधारण सभाले पनि साधारण सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको छ । कम्पनीले आफनो चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रूपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्ने निर्णय गरेको हो ।

सञ्चालनमा आएका नयाँ कम्पनीहरूले एक पछि अर्कोले आईपीओ जारी गर्ने तयारी गर्दै गरे पनि नेपाल धितोपत्र बोर्डले भने कम्पनीहरूले चालू आवमा नै साधारण सेयर जारी गर्न नपाउँने बताएको छ ।

कम्पनीहरूले आईपीओ जारी गर्नका लागी एउटा आर्थिक बर्षको वित्तीय विवरण पारित भएको हुनुपर्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

“कम्पनीहरूले एउटा पुरै आर्थिक बर्षको लेखापरिक्षण गरेपछि आईपीओ जारी गर्न पाउँनेछन् अर्थात् कम्पनीहरूले कारोबार गरेको १२ महिना नै पूरा हुनुपर्नेछ,” उनले भने । उनका अनुसार गत आव देखि सञ्चालनमा आएका कम्पनीहरूले आगामी आवमा मात्रै आईपीओ जारी गर्न पाउनेछन् ।

तर, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कर्णले कम्पनीको एउटा आवको वित्तीय विवरण समितिबाट पारित भै सकेकोले बोर्डबाट आईपीओ जारी गर्ने अनुमती पाउने निश्चित भएको बताउँछन् । “बोर्डको प्रावधान अनुसार हामीले एउटा आव पूरा गरिसकेका छौ । एउटा आवको मतलब १२ महिना नै हुनुपर्छ भन्ने होईन,” उनले भने ।

कानुनमा के छ ?

बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ दफा ५ अनुसार संस्थापक समूहको कम्तिमा ५१ प्रतिशत र सर्वसाधारणको लागि ३० प्रतिशत लगानी हुनुपर्नेछ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ दफाका अनुसार नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाले जारी पुँजीको दश प्रतिशत भन्दा घटी र उनन्चास प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक निकाष्शन गर्नुपर्नेछ ।

सोही दफाले बैकिङ्ग, वित्तीय वा बिमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्थाले ऐन तथा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएमा त्यस्तो संगठित संस्थाले आफनो उद्देश्यअनुरूप कारोबार सञ्चालन गरेको एक आर्थिक बर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रूपमा प्रकाशन गर्नुका साथै साधारण सभा समेत सम्पन्न गरिसकेको हुनुपर्नेछ ।

नियमावली अनुसार कम्पनीले आईपीओ जारी गर्नुपूर्व एक बर्षको अवधिसम्म आफनो उद्धेश्य अनुसारको काम गरेको हुनुपर्नेछ । अर्थात् आईपीओ जारी गर्न चाहने जीवन बिमा कम्पनीले एक बर्षको अवधिसम्म जीवन बिमा व्यवसाय गरेको हुनुपर्नेछ ।

कहिले देखि सुरु भयो व्यवसाय ?

बिमा समितिले गत चैत महिनाको अन्तिममा नयाँ बिमा कम्पनीहरूलाई सञ्चालन दिने निर्णय गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भइबसेका कम्पनीलाई २१ दिनको अवधि दिएर अद्यावधिक भएर आउन समितिले निर्देशन दिएको थियो ।

समितिको निर्देशन अनुसार १० वटा कम्पनीले अद्यवधिक भै समितिमा जीवन बिमा व्यवसाय सञ्चालनको निवेदन दिएका थिए । निवेदन दिएका कम्पनीलाई समितिले तीन महिनाको अवधि दिएर चुक्ता पुँजी आउन निर्देशन दिएको थियो ।

जसमध्ये तीन वटा जीवन बिमा कम्पनी (आईएमई लाइफ, युनियन लाइफ र ज्योति लाइफ) ले गत असारको अन्तिम साता चुक्ता पुँजी कायम गरी विमक दर्ता प्रमाणपत्र प्राप्त गरेका थिए ।

असारको अन्तिम साता पुँजी कायम गरेपछि कम्पनीहरूले सोही अवधिको वित्तीय विवरण समितिमा पेश गरेका हुन् । अर्थात् कम्पनीहरूले गत आवको वित्तीय विवरण समितिबाट पारित गरे पनि कम्पनीहरूले उक्त आवको अन्तिम महिनाको अन्तिम साताको मात्रै वित्तीय विवरण बुझाएका छन् ।

तर, उक्त अवधिमा पनि ऐनमा व्यवस्था गरिए जस्तै उनीहरूले जीवन बिमा व्यवसाय सुरु गरेका भने हैनन् । उक्त अवधिमा उनीहरूले बैंकमा राखिएको पुँजीको ब्याज आम्दानी सहितको विवरण मात्रै बुझाएका हुन् ।

चुक्ता पुँजी कायम गरेका तीन कम्पनीमध्ये आईएमई लाइफले गत साउनको ३२ गते समितिबाट कारोबारको अन्तिम स्वीकृति लिएको हो । ज्योति लाइफले भदौ १९ गते र युनियन लाइफले असोज ४ गते कारोबारको अन्तिम स्वीकृति लिएको हो । कम्पनीहरूले बिमक दर्ता प्रमाण पत्र गत आवमा पाए पनि जीवन बिमा व्यवसाय भने चालू आवबाट मात्रै सुरु गरेका हुन् ।

यदि बोर्डको नियमावलीमा गरिएको व्यवस्था हेर्ने हो भने आईपीओ जारी गर्न कम्पनीहरूले आफनो उद्धेश्य अनुसार व्यवसाय गरेको एक बर्ष पूरा हुनुपर्नेछ । अर्थात् कम्पनीहरूले जीवन बिमा व्यवसाय सुरु गरेको एक आर्थिक पूरा हुनुपर्नेछ । तर, सबै कम्पनीले चालू आवमा मात्रै कारोबारको अन्तिम स्वीकृति लिएका छन् ।

भ्रममा पर्न सक्छन् लगानीकर्ता

आईपीओ भनेको सर्वसाधारणले कम्पनीको सेयरमा लगानी गरी प्रतिफल पाउन सकुन भन्ने हो । त्यसैले यस्तो आईपीओमा लगानी गर्नुपूर्व कम्पनीको समग्र वित्तीय अवस्थाको बारेमा लगानीकर्ताले विश्लेषण गर्नु आवश्यक छ ।

तर, सञ्चालनमा आएको एक बर्ष पनि पूरा नभएको कम्पनीको बारेमा लगानीकर्ताले कसरी विश्लेषण गर्न सक्छन् भन्ने बिषयमा सरोकारवालाहरूको ध्यान खिचिएको छ । कम्पनीको विश्लेषण गर्नका लागी कम्तिमा पनि कम्पनी सञ्चालन भएको दुई तिनबर्ष पूरा भएको हुनुपर्छ । तब मात्रै कम्पनीको विश्लेषण गरेर लगानी गर्न सकिने एक लगानीकर्ताले बताए ।

“ सञ्चालनमा आएको एक बर्ष पनि पूरा नभएको कम्पनीलाई आईपीओ जारी गर्न नियमनकारी निकायले पनि रोक्नुपर्छ । अन्यथा लगानीकर्ता भ्रममा पर्छन्,” उनले भने ।

अहिले बजारमा प्राथमिक सेयर प्रति सर्वसाधारणको आकर्षण बढी छ । जस्तो सुकै कम्पनीको पनि आईपीओमा मानिसहरूले लगानी गर्छन् । त्यसमा पनि इन्स्योरेन्स कम्पनीको सेयर भाउ चुलिएको समयमा नयाँ कम्पनीको सेयरमा मानिसहरूको आकर्षण बढ्नु स्वभाविक नै हो ।

यतिबेला कुनै पनि लगानीकर्ताले इन्स्योरेन्सको आईपीओमा आँखा चिम्लेर लगानी गर्छन् । कम्पनीले त्यसैको फाइदा उठाउन खोजेको लगानीकर्ता विमल ढुगांनाले बताए ।

“तर, कम्पनीको एक दुई बर्षको व्यवसाय नहेरीकन भविष्य आकलन गर्न सकिँदैन । भोलिको दिनमा जे पनि हुन सक्छ । तसर्थ लगानीकर्तालाई कम्पनी विश्लेषण गर्ने समय दिईनुपर्छ । लगानीकर्ताले पनि कम्पनीको व्यवसाय हेरेर मात्रै लगानी गर्नुपर्छ,” उनले भने ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भने कम्पनीको प्रमोटर र व्यवसाय हेरेर लगानीकर्ताले ढुक्क भई लगानी गर्न सक्ने अवस्था रहेको बताउँछन् । उनका अनुसार कम्पनीले गत आवमा ३ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । चालू आवको पहिलो पाँच महिनामा १६ करोड रूपैयाँ बिमाशुल्क संकलन गर्न सफल भएको उनले बताए ।

युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ । जसमध्ये संस्थापकहरूको लगानी १ अर्ब ५० लाख रूपैयाँ रहेको छ । कम्पनीमा २९ प्रमोटर रहेका छन् ।

मुख्य गरी जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपानो ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको कम्पनीमा लगानी रहेको छ । २ अर्ब चुक्ता पुँजी रहेको आईएमई लाइफ इन्स्योरेन्समा भने आईएमई ग्रुप सहितको लगानी रहेको कारोबारमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको