Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पूँजीबजार र सकारात्मक दृष्टिकोणको आवश्यकता

हरिहर बजगाईं

अर्थ संसार

शनिबार, २३ मंसिर २०८०, १५ : १५ मा प्रकाशित

नेपालको पूँजीबजार र सकारात्मक दृष्टिकोणको आवश्यकता

पृष्ठभूमि

पछिल्लो समय नेपालको पूँजीबजार राष्ट्रिय बहसको विषय बनेको छ । केहि राजनीतिक नेतृत्व, कथित अर्थविज्ञ एवं संकुचित मानसिकता बोकेका कर्मचारीतन्त्रका बडा हाकिमहरुले पूँजीबजारलाई पूँजीवादी साम्राज्यको एउटा उपकरण मात्र मानी सोहि अनुरुप नीतिगत र कार्यगत व्यवहार गरिरहेको सन्दर्भमा पूँजीबजार राष्ट्रिय बहसको विषय बन्नु सकारात्मक कुरा नै हो ।

यो बहसको निरन्तरता र सकारात्मक गतिशिलताका लागि पूँजीबजार सम्बद्ध सरोकारवालाहरुले निरन्तर रुपमा आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु आवश्यक छ । अझ एक लगानीकर्ताका हिसाबले त पूँजीबजारका हरेक घटनालाई निरन्तर निगरानी गर्ने, अध्ययन र विश्लेषण गर्ने र धारणारनिर्णय निर्माण गर्ने कार्य अत्यन्तै महत्वपूर्ण कार्य हो । यस प्रक्रियामा कुनै आग्रह वा पूर्वाग्रह नराखी सकारात्मक घटनाको निरन्तरताका लागि समर्थन गर्नु र नकारात्मक घटनाको बिरुद्धमा निरन्तर खबरदारी गर्नु लगानीकर्ताको प्रमुख कार्य हो । यद्यपी सबै लगानीकर्ताले अपेक्षाकृत रुपमा भूमिका निर्वाह गर्न सक्दैनन् वा सकेका छैनन् ।

आम लगानीकर्ताले पूँजीबजारप्रति नकारात्मक भन्दा सकारात्मक हुनुपर्दछ र सोहि अनुरुप धारणा निर्माण गर्नु जरुरी पनि छ ।  यो किन पनि जरुरी छ भने पूँजीबजारमा आम लगानीकर्ताको मनोविज्ञानको  ठूलो र महत्वपूर्ण भूमिका रहने गर्दछ ।

विगत २७ महिनादेखि नेपालको पूँजी र सेयर बजार निरन्तर ओरालो लागिरहेको छ र दोस्रो बजारका लगानीकर्ताले अपेक्षाकृत रुपमा प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन् । यसका पछाडि विभिन्न कारणहरु जिम्मेवार रहेका छन् । प्रत्यक्ष रुपमा नेपाल राष्ट्र बैंकको पूँजी र सेयर बजार विरोधी नीति, सरकारको पूँजी र सेयर बजारको विकास र विस्तार प्रति उदासिनता र अरुची रअज्ञानता, कथित अर्थविज्ञका बजारप्रतिको नकारात्मक धारणा र व्यवहार, आधुनिक प्रविधि र वित्तीय उपकरणको अभाव, लगानीकर्ताको भिड मानसिकता र अपरिपक्क व्यवहार जस्ता कारणले बजारले सकारात्मक लय समात्न सकिरहेको छैन भने परोक्ष रुपमा विभिन्न कारणले अन्तर्राष्ट्रिय जगतमा व्याप्त आर्थिक मन्दीको प्रभाव पनि बजारमा परिरहेको छ ।

यसरी नेपालको पूँजीबजारको वर्तमान समयलाई विश्लेषण गर्दा हालको अवस्था एक संक्रमणकालिन अवस्था हो भन्न सकिन्छ । यो संक्रमणकाल पछिको समय पूर्णत उन्नत र प्रतिफलयुक्त हुनेछ भन्ने आधार विश्वको पूँजीबजारको इतिहास हेर्दा प्राप्त हुन्छ । तसर्थ आम लगानीकर्ताले पूँजीबजारप्रति नकारात्मक भन्दा सकारात्मक हुनुपर्दछ र सोहि अनुरुप धारणा निर्माण गर्नु जरुरी पनि छ ।  यो किन पनि जरुरी छ भने पूँजीबजारमा आम लगानीकर्ताको मनोविज्ञानको  ठूलो र महत्वपूर्ण भूमिका रहने गर्दछ ।

पूँजीबजार प्रति सकारात्मक हुने आधार के हुन् ?

पछिल्लो २७ महिनालाई मात्र हेरेर विश्लेषण गर्ने हो भने पूँजीबजार प्रति किन सकारात्मक हुने वा सकारात्मक हुने आधार के हुन् भन्ने प्रश्न टड्कारो रुपमा उठ्ने गर्दछ । निरन्तर रुपमा ओरालो लागिरहेको बजार र एक तिहाई भन्दा बढी पूँजीकरण मूल्य गुमेको सन्दर्भमा यो प्रश्न स्वाभाविक पनि हो । तर गुमेको पूँजीकरण मूल्य पुनः प्राप्तीको निर्विकल्प माध्यम पनि त बजार नै हो । पूँजीबजारको दीर्घकालीन बाटो माथितर्फ वा बढाईतर्फ नै हुने भएकाले धैर्यपूर्वक सकारात्मक हुनु लगानीकर्ताका लागि हितकर विषय हो ।

यस लेखमा नेपालको पूँजीबजार प्रति सकारात्मक हुने आधारलाई निम्न ३ सन्दर्भमा विश्लेषण गरिएको छ ।

१. बजारको वर्तमान अवस्था र भविष्यको सम्भाव्यता

अहिले नेपालको पूँजीबजारको मापक नेप्से परिसूचक ३२०० भन्दा माथिको बिन्दुबाट लगातार घटेर करिब ४५ प्रतिशत तल अर्थात १८०० को आसपासमा रहेको छ । यो घट्दोक्रमले करिब २७ महिना पार गरिसकेको छ । बजारमा सूचिकृत धेरै नै कम्पनीको मूल्य निकै नै तल्लो स्तरमा आएको छ । कतिपय कम्पनीको बजार मूल्य त किताबी मूल्यको हाराहारी नै रहेको पाइन्छ । समग्रमा हेर्दा बजार करिब करिब तल्लो बिन्दुमा नै रहेको छ भन्न सकिन्छ  र अबको बजारको बाटो भनेको उचाईतर्फ नै रहेको आँकलन गर्न सकिन्छ । यो बिन्दुबाट घट्ने जोखिम भन्दा बढी बढ्ने अवसर नै रहेको छ । यसका पछाडि निम्न आधारहरु रहेका छन् ।

क.अहिले नेप्से परिसूचक अत्यन्तै न्यून बिन्दुमा रहेको छ । देख्नलाई त ३२०० को परिसूचक १८०० मा छ जुन करिब ४५ प्रतिशतले कम हो  । तर ३२००  हुँदाको समयमा भएका कम्पनी र तीनको त्यतिबेलाको सेयर संख्यालाई मात्र आधार मान्ने हो भने अहिलेको परिसूचक करिब १५०० हारहारी हुन आउँछ । जुन करिब ५५ प्रतिशतले कम हो । ३२०० हुँदाको समयभन्दा पछि थपिएको आइपिओ, एफपिओ र हकप्रदले बजारलाई यो बिन्दुमा टिकाइरहेको छ । तसर्थ बजारमा १६०० परिसूचक कुर्नेहरुले १५०० को परिसूचक देखिरहेका छैनन् । खासमा बजारको तत्लो बिन्दु यहाँभन्दा तल हुन सक्दैन ।

ख.पूँजीबजार र व्याजदरको विपरित सम्बन्ध हुने गर्दछ । पछिल्लो समयमा निरन्तर बढेको व्याजदरका कारण पूँजीबजार घट्न पुगेको थियो । अहिले व्याजदर उच्च विन्दुमा पुगेर निरन्तर घट्दो क्रममा रहेको छ । यसको अर्थ अब बढ्ने पालो पूँजीबजार कै हो। 

ग. पूँजीबजारमा लगानीकर्ताको गुणात्मक बृद्धि भईरहेको छ । जसले माग पक्षलाई बढाउन मद्दत गर्नेछ । माग बढेपछि मूल्य त यसै पनि बढि हाल्दछ ।

घ.नेपाल राष्ट्र बैंकको पूँजीबजार विरोधी नीतिको क्रमिक परिमार्जन हुन थालेको छ । शेयर कर्जा सिमामा बृद्धि, कर्जामा लगाईएको जोखिम भारमा कटौती जस्ता कार्यले नेपाल राष्ट्र बैंकको पूँजीबजारप्रति सकारात्मक हुन थालेको देखिन्छ ।

ङ.अन्तर्राष्ट्रिय पूँजीबजारमा आएको सुधार एवं बृद्धिले पनि नेपालका लगानीकर्तामा सकारात्मक मनोविज्ञान तयार हुँदै गईरहेको छ ।

च.प्राविधिक दृष्टिकोणबाट पनि करिब एक बर्ष घट्दो प्रवृत्ति (बियरिस ट्रेण्ड)  र करिब १५ महिना साइडबेज प्रवृत्ति (साइडवेझ ट्रेण्ड) मा रहेको बजारमा आगामी दिनहरुमा बढ्दो प्रवृत्ति (बुलिस ट्रेण्ड) नै रहने देखिन्छ ।

यसरी हेर्दा नेपालको पूँजीबजारले अहिले उत्तम लगानीको अवसरलाई आम लगानीकर्ताका माझ पस्किरहेको छ भन्नेमा कुनै दुविधा छैन । यो समयमा प्राप्त अवसरले भविष्यमा गुणात्मक प्रतिफल दिने कुरामा पनि सन्देह छैन ।

२.आर्थिक सम्मृद्धि राज्यको मूल प्राथमिकता

लामो समयपछि नेपालको राजनीतिक नेतृत्व पटक पटकको राजनीतिक व्यवस्था बदल्ने अभियानबाट जनताको आर्थिक अवस्था बदल्नुपर्दछ भन्ने मुद्दामा केन्द्रित हुन थालेका छन् । आर्थिक सम्मृद्धि राज्यको मूल प्राथमिकताको विषय बनेको छ र बहस पनि यसैतर्फ मोडिएको छन् । पूँजीबजार अर्थतन्त्रको ऐना भएकाले राज्यले गर्ने आर्थिक सम्मृद्धिको प्रतिरुप त  पूँजीबजारमा देखिन्छ नै । तसर्थ आगामी दिनमा राज्यले गर्ने प्रगतिको साथमा पूँजीबजारको प्रगति पनि गुणात्मक हुने छ । 

कतिपयले राजनीतिक नेतृत्वले लिन थालेको आर्थिक समृद्धिको मुद्दालाई देखावटी हो कि भनेर शंका पनि गर्ने गर्दछन्, जुन जायज पनि हो । तर विश्वव्यापीकरणका प्रभावले आम मानिसमा सिर्जना गरेको आर्थिक प्रगतिको बेगको विरुद्ध उभिने कुचेष्ठा राजनीतिक नेतृत्वले गर्न सक्दैनन् । जसले यस्तो कुचेष्ठा गर्छन् ति बढारिन्छन्, निश्चित छ ।  तसर्थ राज्यको आर्थिक प्रगतिसँगै पूँजीबजारको विकास पनि निश्चित छ ।  यस तथ्यलाई छिमेकी राष्ट्र भारतले सन् २०१४ पछि करिब १० बर्षमा गरेको आर्थिक प्रगति र त्यहाँको पूँजीबजारले कायम गरेको ऐतिहासिक रेकर्डले पनि पुष्टि गर्दछ ।

३.बजार नियामकको नेतृत्वले देखाएको सकारात्मक कार्यव्यवहार

यस सन्दर्भमा चर्चा गर्दा नेपालको पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको वर्तमान नेतृत्वको कार्यव्यवहारलाई आम लगानीकर्ताले बुझ्ने गरी विश्लेषण हुनु नितान्त आवश्यक भइसकेको छ । यो किन पनि आवश्यक भइसकेको छ भन्दा केहि मानिसले आफ्नो स्वार्थको अनुकुलता र प्रतिकुलतालाई मापदण्ड बनाएर नेतृत्वको देवत्वकरण र दानवीकरण गर्ने प्रचलन व्याप्त छ । यस सन्दर्भमा नेतृत्वको कार्यव्यवहारलाई आम मानिसले प्रष्ट रुपमा बुझ्न सकेनन भने स्वार्थ समूहले आफ्नो निहित स्वार्थका लागि आम मानिसको मनोविज्ञानको चरम दुरुपयोग गर्ने जोखिम रहने गर्दछ । जसको संकेत नेपालको पूँजीबजारमा पनि देखिई सकेको छ । 

खास गरी धितोपत्र बोर्डको अध्यक्षको भूमिकामा रमेश हमालज्यू आउनु भएपछि धितोपत्र बोर्डको कार्य प्रक्रियामा आएको चुस्तता साँच्चै नै प्रशंसा योग्य रहेको छ । केहि सिमित व्यक्तिको नाजायज लाभ हानीलाई आधार बनाएर नीति निर्माण र निर्णय गर्ने देखि लिएर दिनानु दिनका कार्यसञ्चालनमा हुने ढिलासुस्ती र झन्झटिलो व्यवस्थाको अन्त्य गर्नका लागि हमालज्यूले गर्नु भएको सुधार अत्यन्तै आवश्यक र सकारात्मक कदम हो । बजारको हितका लागि व्यक्तिगत तजबिजीभन्दा माथि उठेर प्रणालीले काम गर्नुपर्दछ भन्ने मान्यता स्थापित गर्न र सोहि अनुरुपको प्रणालीको विकास गर्न उहाँले गरिरहनुभएको संघर्षले बजारका लागि अत्यन्तै आवश्यकिय र सकारात्मक कार्यव्यवहार हो । 

यसरी धितोपत्र बोर्डको वर्तमान नेतृत्वको सकारात्मक र पूँजीबजारमैत्री कार्यव्यवहारका बाबजुद उहाँका विरुद्धमा केहि मानिसहरु संगठित रुपमा नै परिचालित भएको पनि देखिन्छ । विरोध गर्नेहरुले विभिन्न कानुनमा नै निर्धारण भएका केहि प्राविधिक विषयमाथि प्रश्न उठाउँदै भ्रष्टाचार गरेको भन्ने आधारहिन तथ्यहरु प्रस्तुत गरिरहेका छन् । उनीहरुले लगाएको आरोपको पुष्टिकालागि यथेष्ट तथ्य, कारण र सबुत प्रमाणहरु पनि नभएकाले उनिहरु यसरी परिचालित हुनुमा उनिहरुको व्यक्तिगत स्वार्थ नै प्रधान हो भन्ने कुरा धेरैले बुझेका छन् ।

तर पनि बुझ्ने मानिसहरु चुप लागेर बस्ने र ती स्वार्थ समूहले चाँही निरन्तर भ्रम फैलाउने कार्य गर्दा आम मानिसमा धितोपत्र बोर्डको वर्तमान नेतृत्वको सन्दर्भमा नकारात्मक धारणा बन्ने जोखिम पनि देखापरेको छ । तसर्थ धितोपत्र बोर्डको वर्तमान नेतृत्व (विशेष गरी रमेश हमालज्यू) को विरुद्धमा निरन्तर बोल्ने, लेख्ने र भ्रम फैलाउनेहरुको असली चरित्रबारे पनि आम मानिसलाई जानकारी हुनु आवश्यक भएकाले विगतमा ति स्वार्थी समूहले गरेका नाजायज कार्यलाई पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन जान्छ ।

सिमित व्यक्तिहरुको समूह बनाई सेयर कर्नरिङ गर्ने, सर्कुलर ट्रेडिङ गर्ने, सेयर पम्प र बम्प गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी भिडलाई डोहो-याएर आफ्नो नाफा सुनिश्चित गर्ने, सेयर बजार भनेको माग र पूर्तिमा मात्र आधारित हुन्छ भन्ने अपूर्ण भाष्य स्थापित गरी कम आपूर्ति भएका तर कमजोर कम्पनीका सेयरमा सट्टा जी मात्र गर्ने, दीर्घकालिन लगानीलाई निरुत्साहित गर्ने जस्ता कार्यहरु ति स्वार्थी समूहले गरेका नाजायज कार्यहरु हुन । जसले पूँजीबजारको समग्र विकास र विस्तारमा भाँजो हालेका छन् । यसको पुष्टिका लागि ति व्यक्तिहरुका सामाजिक सञ्जालका पोस्टहरु, युउटुब च्यानल लगायत अन्य मिडियाहरुमा सार्वजनिक अन्तर्वाता तथा अनलाइन मिडियामा प्रकाशीत उनीहरुका विचार नै पर्याप्त छ ।

यसरी धितोपत्र बोर्डको नेतृत्वको तर्फबाट विषम परिस्थितिका बाबजुद पूँजीबजारको दीर्घकालिन हित, विकास र विस्तारका लागि भए गरेका प्रयासले पनि पूँजीबजार प्रति एक इमान्दार लगानीकर्ताले आशा र भरोसा गर्ने ठाउँ छ भन्न सकिन्छ ।

समग्रमा लगानीकर्ताका लागि पूँजीबजार एक ठूलो अवसर र चुनौती भएको क्षेत्र हो । लगानीकर्ताले यस क्षेत्रको अवसर र चुनौतिलाई पहिचान गरी उपयुक्त अवसर छोप्न सकेमा अन्य क्षेत्रको लगानीबाट भन्दा पूँजीबजारबाट धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ । नेपालको पूँजीबजारको सन्दर्भमा पनि अवसर र चुनौतिहरु विद्यमान छन् । यसर्थ नेपाली लगानीकर्ताहरुले पनि आइपर्ने चुनौति सामनाका लागि उपयुक्त वित्तीय योजनाका साथ उपलब्ध अवसरहरुको सदुपयोग गर्नका लागि पूँजीबजार प्रति विवेकपूर्ण र सकारात्मक दृष्टिकोण राख्नु आवश्यक छ ।


हरिहर बजगाईं

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको