Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ट्राभल मार्टमा अनियमितताको आशंका

सोमबार, २३ असोज २०७४, ०८ : २१ मा प्रकाशित

हिमालयन ट्राभल मार्टमा अनियमितताको आशंका

अख्तियारले फाइल नियन्त्रणमा लियो

अर्थ संसार, काठमाडौ - मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आयोजना गरेको ‘हिमालयन ट्राभल मार्ट २०१७’ को खर्च विवरण अपारदर्शी भएको भन्दै अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

प्रत्येक वर्ष आयोजना गर्ने योजनासहित सुरु भएको मार्ट पहिलो पटकमै विवादमा परेको छ । जसका कारण अर्को वर्र्ष हुने मार्टनै अन्योलमा पर्ने देखिएको छ । 

जेठमा आयोजना गरिएको उक्त मार्टको आयोजना नेपाल सरकारले गरेको थियो । मार्टको आयोजना सुरुमा एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले गर्ने भनिए पनि पछिल्लो चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्ड नै मुख्य आयोजक रहेका थिए ।

तर, सम्पूर्ण व्यवस्थापन तथा खर्चको अधिकार भने पाटा नेपाल च्याप्टरलाई दिइएको थियो । सोही विवादास्पद निर्णयसँगै मार्टमा अनियमितताको आशंका उत्पन्न भएको हो ।

तर, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पान्डे पाटाले खर्च गरेको नभएर सहयोग मात्र गरेको बताउँछन् । “हामीले सहयोग मात्र गरेका हौं, सबै होटल–होटलमा बिल नेपाल पर्यटन बोर्डले नै तिरेको हो,” पान्डेले भने । पाण्डेले कुनै पनि कार्यक्रम गर्दा सबैको चित्त नबुझेको हुनसक्ने भए पनि  सबै खर्च पारदर्शी रुपमा सार्वजनिकसमेत गरेको दावी गरे ।  
अख्तियारले सार्वजनिक खरिद ऐनविपरित लाखौं खर्च हुँदा कुनै पनि टेन्डर आह्वान नभएकोले समेत मार्टको खर्च छानविनमा परेको हो । अख्तियारले ३  करोड ५० लाख खर्च हुँदा कुनै पनि शीर्षकमा टेन्डर नदेखिएपछि मार्टको खर्चमा छानबिन गरिएको जानकारी दिएको छ ।

अख्तियारले हाल जारी राखेको छानविनमा आयोजक नेपाल सरकार हुने तर सम्पूर्ण खर्च तथा हिसावकिताव किन निजी क्षेत्रको संस्थालाई दिइएको भन्ने विषयमा केन्द्रित रहेर छानविन गरेको स्रोतले जानकारी दिएको छ ।

सार्वजनिक खरिद ऐनविपरित लाखौं रुपैयाँ खरिद गर्दासमेत कुनै पनि टेन्डर आह्वान नगरी गरिएकोले समेत मार्टको खर्च विवादमा तानिएको हो । १ सय जनाभन्दा बढी सहभागिलाई आउनेजाने हवाई टिकटदेखि नेपाल बसाईको सम्पूर्ण खर्च नेपाल आफैंले बेहोरेको थियो ।   

अख्तियारले २ करोड रुपैयाँमा खर्च सम्पन्न गर्ने भनेको मार्टलाई ३ करोड ५० लाखभन्दा बढी नगद खर्च गरेको तथा अन्य बार्टर तथा सहयोग भन्दै झन्डै ७ करोड रुपैयाँको खर्च विवरणमा आशंकाका कारण छानविन गरेको हो ।

अख्तियारले मार्टका सम्पूर्ण डकुमेन्ट तथा खर्च विवरण जफत गरेर छानविन जारी राखेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारले नेपाल पर्यटन तथा मार्ट सचिवालय पाटाबाट सवै विवरण जफत गरेको हो ।  

अख्तियारमा मार्ट सम्पन्न भएलगत्यै ६ सय १७ दर्ता नम्बरमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले छानविन सुरु गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले यस विषयमा कुनै पनि जानकारी नभएको बताए । हिमालयन ट्राभल मार्ट २०१७ मा ३ करोड १९ लाख ८४ हजार ३ सय ३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । गत जुन १ देखि ४ सम्म काठमाडौंमा सम्पन्न गरिएको थियो ।

मार्टमा १ करोड २५ लाख ६८ हजार ४४ रुपैयाँ उठेकोले बाँकी रहेको १ करोड ९४ लाख १६ हजार २ सय ९३ रुपैयाँ सह आयोजक नेपाल पर्यटन बोर्डले भुक्तानी गर्नुपर्ने भन्दै पाटा च्याप्टरले खर्च विवरण सार्वजनिक गरेको थियो । उठेको तथा बाटर भनिएका हवाई टिकटसमेत एउटै कम्पनीबाट जारी गरिएको छ । उक्त टिकटको रकम समेत भुक्तानीका लागि बोर्डमा  बिल पठाइएको छ ।

मार्टको खर्च ७ करोड २१ लाख ३८ हजार ६ सय ९३ रुपैयाँ रहेको भएपनि ४ करोड १५ लाख ४३ हजार रुपैयाँ भने नेपालका विभिन्न संस्थाले प्रायोजन गरेको पाटाले बताउँदै आएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको