Like us!
Follow us!
Connect us!
Watch us!

यसरी बढ्न थाल्यो अन्तरबैङ्क ब्याजदर

विहीबार, ०५ असोज २०७४, ०९ : ३८ मा प्रकाशित

यसरी बढ्न थाल्यो अन्तरबैङ्क ब्याजदर

अर्थ संसार,काठमाडौं – बैङ्क तथा वित्तीय संस्थाले आपसमा रकम सापटका क्रममा लिनेदिने अन्तरबैङ्क ब्याजदर विस्तारै बढ्न थालेको छ ।

चालू आर्थिक वर्ष (आव) २०७४/७५ को साउन मसान्तमा शून्य दशमलव २८ प्रतिशत रहेको औसत अन्तरबैङ्क ब्याजदर भदौ मसान्तमा आइपुग्दा शून्य दशमलव ४० प्रतिशत पुगेको छ । १ महीनाको अवधिमा अन्तरबैङ्कको भारित औसत ब्याजदर शून्य दशमलव १२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको हो ।

दशैंको मुखमा अन्तरबैङ्क ब्याजदर बढ्नुले बैङ्किङ प्रणालीबाट रकम बाहिरिने क्रम बढेको र दैनिक कारोबार चलाउन तथा वैधानिक तरलता कायम गर्न बैङ्क तथा वित्तीय संस्थाले आपसमा सापटी लिन थालेको सङ्केत गरेको छ ।

गत साउन पहिलो साता शून्य दशमलव ३५ प्रतिशतमा कारोबार भएको बैङ्क तथा वित्तीय संस्थाको अन्तरबैङ्कको भारित औसत ब्याजदर घटबढ भइरहेको छ । यसले बजारमा तत्कालै लगानी गर्न मिल्ने पूँजीमा दबाब परेको जानकारहरूको भनाइ छ । यद्यपि, नेपाल राष्ट्र बैङ्कले वित्तीय प्रणालीमा पर्याप्त रकम रहेको बताउँदै आएको छ ।

दशैंका अवसरमा उपभोग खर्च तथा कतिपय पूँजी निर्माणका साधनमा लगानीसमेत बढ्ने हुँदा लगानीयोग्य पूँजीमा चाप पर्नु स्वाभाविक भएको बैङ्करहरू बताउँछन् ।

तथापि, यसपालि गतवर्षजस्तो कर्जा सापटी दिनै नसक्ने गरी पूँजी अभाव नभएको उनीहरूको भनाइ छ । भदौ दोस्रो साता अन्तरबैङ्क ब्याजदर बढेर शून्य दशमलव ४५२२ प्रतिशत पुगेको थियो । गतवर्ष यस्तो ब्याजदर १ महीनामै दोब्बर भएको थियो ।

यसपटक बजारमा लगानीयोग्य पूँजी पर्याप्त भएकाले अन्तरबैङ्क ब्याजदरमा सामान्य वृद्धि भए पनि गतवर्ष जस्तो कर्जासङ्कट (क्रेडिट क्रञ्च)को अवस्था नआउने बैङ्करहरूको भनाइ छ । नेपाल बैङ्कर सङ्घका उपाध्यक्ष तथा नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले दशैंमा माग केही बढी हुने गरेकाले पनि अन्तरबैङ्क कारोबारको ब्याजदर बढ्ने गरेको बताए ।  

गतवर्ष अन्तरबैङ्क मात्र नभएर कर्जा र निक्षेपको ब्याजदरसमेत बढेको थियो । यस पालि तुलनात्मक रूपमा अन्तरबैङ्क ब्याजदर कम र बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त रकम भएकाले निक्षेपको ब्याजदर घट्न थालेको छ । तर, कर्जाको ब्याजदर भने घट्न सकेको छैन ।  
गतवर्ष दशैं नजिकिँदै गर्दा अन्तरबैङ्क ब्याजदर २ दशमलव २२६८ प्रतिशतबाट बढेर ४ दशमलव २५५१ प्रतिशत पुगेको थियो ।

अन्तरबैङ्क कारोबारको ब्याजदरमा पनि वृद्धि भए पनि गतवर्षजस्तो बजारमा तरलता अभाव वा क्रेडिट क्रञ्च नहुने राष्ट्र बैङ्कको भनाइ छ । नेपाल राष्ट्र बैङ्कका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अहिले तरलता अभावको जोखीम छैन ।

केन्द्रीय बैङ्कले विभिन्न मौद्रिक उपकरण जारी गरेर तरलता तथा ब्याजदर व्यवस्थापन गरिरहेको उनको भनाइ थियोा । ‘अहिले बैङ्क तथा वित्तीय संस्थाको ‘अन्तरबैङ्क ब्याजदर गतवर्षको तुलनामा खासै नबढे पनि गत साउनमा भन्दा भदौमा क्रमशः सुस्त गतिले बढेको छ,’ थापाले भने, ‘यो चाडपर्वले पारेको स्वाभाविक प्रभाव हो ।’ अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको