Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिमा जोड

मंगलबार, २३ कार्तिक २०७३, ०९ : २२ मा प्रकाशित

दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिमा जोड

अर्थ संसार
काठमाडौ–दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी) को चौधौँ वार्षिक सम्मेलन काठमाडौंमा सोमबार शुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सेनीको चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयक दुईदिने कार्यक्रममा परराष्ट्र मन्त्री महतले सार्क राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए ।

दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको बताए । उनले भने,‘क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ ।’

दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक ऐन कानूनमा एकरुपता कायम गरिनुपर्ने विचार व्यक्त गरे ।
दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उहाँले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने– ‘क्षेत्रीय एकीकरणको यस्तो संरचना बनाऔँ जसले बजारलाई जोड्नुका साथै जनता–जनताबीचको सम्पर्क वृद्धिमा पनि सघाउ पुर्याओस् ।’

सेवा तथा व्यापारसम्बन्धी सार्क सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक भएको बताउँदै मन्त्री महतले गैरभन्सार अवरोध हटाएर क्षेत्रीय बजार विस्तार गर्नुपर्ने विचार व्यक्त गरे ।नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको दाबी गरे । उनले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल अर्थशास्त्र संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेको बताए । उनले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको भन्दै एक आपसमा समन्वयनात्मक भूमिका हुन नसकेको जिकिर गरे ।

सेनीका संयोजक तथा सर्वाङ्गीण विकास अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले क्षेत्रीय सहयोग, समझदारी र विकासका बृहत्तर चासोका विषयमा सुदृढ आर्थिक अनुसन्धान अघि बढाउन र अन्तरदेशीय सम्पर्क कायम गर्न सेनी प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा, गरिबी निवारण, सहरी योजनालगायत आर्थिक विषयमा सेनीले गर्दै आएका अनुसन्धानात्मक कार्यक्रमबारे जानकारी दिएका थिए ।

कार्यक्रममा विश्व विकास सञ्जालका अध्यक्ष डा. पियरे ज्वाक्वइटले दक्षिण एसियाली मुलुकको विकास नीतिलाई नयाँ तवरले तयार गरी प्रभावकारी अनुसन्धानमा ध्यान पु¥याउनुपर्ने बताए । उनले स्थानिय तहमा प्रभावकारी अध्ययन अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको भन्दै शताब्दी विकास लक्ष्य हासिल गर्न थप अनुसन्धान आवश्यक भएको औंल्याए ।

दुई दिनसम्म आयोजना हुने सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुनेछ । सम्मेलनमा सार्क मुलुकसहित अमेरिका तथा फ्रान्सका अनुसन्धान विज्ञहरुको सहभागीता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको