Like us!
Follow us!
Connect us!
Watch us!

सचिव छाडेकी महत्तो बनीन ताराकुमारी माडीको उपमेयर

मंगलबार, ०९ जेठ २०७४, १३ : ५९ मा प्रकाशित

सचिव छाडेकी महत्तो बनीन ताराकुमारी माडीको उपमेयर

(नारायण ढुङ्गाना)
रत्ननगर (चितवन)- उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा हुनुहुन्थ्यो अहिले उपप्रमुखको कुर्सीमा पुग्नुभयो ।

सोमबार माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि वडाध्यक्षहरुसँग छलफल गर्नुभयो । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु,” खुसी हुँदै ताराकुमारीले भन्नुभयो – “अब बोझ बढेको छ ।”

उहाँको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोलानालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ ।

निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन । त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने ? मेरो चिन्ता नै त्यही हो ” – ताराकुमारीले भन्नुभयो ।

गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारीलाई खासै चिन्ता भएन । पार्टीबाटै तपाईं आउनुप¥यो भनेपछि उहाँले राजीनामा दिएर उपप्रमुखको आकाङ्क्षा राख्नुभयो ।

उपप्रमुख भए पनि नभए पनि जागिर गुमेकामा कुनै चिन्ता लागेन ताराकुमारीलाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” – ताराकुमारी काजीले भन्नुभयो । नेकपा एमालेबाट नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस भयो र पछि उहाँ छानिनुभयो ।
 
प्रमुखमा नेकपा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्ततः जित उहाँकै भयो । उहाँले माओवादी केन्द्रका सरिता चौधरीलाई हराउनुभयो । उहाँको मत चार हजार ६९० आयो भने प्रतिद्वन्द्वीको तीन हजार ८०४ आयो । सर्वा्धिक मत ल्याउनेमा उहाँ पर्नुभयो ।

माडीलाई इको नगर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, खोलानालाको व्यवस्थापन गर्ने, जङ्गली जनावर आक्रमण न्यून गर्ने तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उहाँले अठोट गर्नुभएको छ ।
माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उहाँको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको इज्जत नै भएको दाबी गर्नुहुन्छ ।

त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उहाँ उपप्रमुखमा निर्वा्चित हुनुभएको हो । दलित महिला सदस्यमा विजयी हुनुभएका माडीका इन्दिरा विक अरु पार्टीको पनि मत तात्न ताराकुमारी सफल भएको बताउनुहुन्छ । भोट माग्न जाँदा पनि उहाँको नाम मतदाताबाट आउने गरेको विक अनुभव सुनाउनुहुन्छ ।

त्रिचालीस वर्षीया ताराकुमारीको घर माडी वडा नं ३ वसन्तपुर हो । प्लस टु उत्तीर्ण उहाँका दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक हुनुहुन्छ ।

एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उहाँको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेको अनुभव सुनाउनुहुन्छ उहाँ । विसं २०६१ मा पहिलोपटक उहाँले जागिर सुरु गर्नुभयो ।

युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाउनुभयो । त्यसपछि उहाँले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाउनुभयो । त्यसपछि माडी नगरपालिका बन्यो ।
 
उहाँ वडा नं ३, ४, ५ को वडा सचिव बन्नुभयो । वडा सचिवमा बहालमा रहँदारहँदै स्थानीय निकायको निर्वाचन आएपछि वैशाख १६ मा राजीनामा दिएर राजनीतिमा होमिनुभएका उहाँले अब विकासमा लाग्ने अठोट गर्नुभएको छ । उहाँ भन्नुहुन्छ – “अब मैले गरेर देखाउने दिन आएको छ ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको