Like us!
Follow us!
Connect us!
Watch us!

अण्डा किन्दा होसियार, नेपाली बजारमा रंग गरिएको अण्डा भेटियो

सोमबार, १४ चैत्र २०७३, ११ : ३० मा प्रकाशित

अण्डा किन्दा होसियार, नेपाली बजारमा रंग गरिएको अण्डा भेटियो

अर्थ संसार 
काठमाडौँ– तपाईले हरेक दिन अण्डा खानुहुन्छ । नियमित रुपमा अण्डा नखाएपनि  अण्डाको रंग तथा स्वाद भने तपाईलाई पक्कै पनि थाहा छ । तर अब अण्डा खाँदा होसियार हुनुहोस । बजारमा कलर गरिएका अण्डा छ्याप छ्याप्ती पाइन थालेको छ ।

कारण हो नेपाल भारतबीच रहेको खुल्ला सीमा । नेपाली अण्डालाई कमजोर बजाउन र नेपाली व्यावसायीलाई हतोत्साहित गराउने उद्देश्यका साथ तस्करहरुले भारतबाट सेतो अण्डा आयात गरेर त्यसमा रंग दलेर बजारमा पठाएका छन् ।

नेपाली अण्डा रातो रंगको हुन्छ भने भारतबाट आयात गरिएका अण्डा सेतो रहेको पाइएको छ । तस्करले आयात गरेका त्यस्ता अण्डामा रातो रंग दलिएको छ । रंग दलिएको अण्डा र नेपाली अण्डा सँगै राख्दा कुन सक्कली अण्डा र कुन नक्कली अण्डा सजिलै छुट्टयाउन सकिन्छ ।

त्यसकारण सक्कली अण्डा छुट्टयाएर मात्रै खरिद गर्नुपर्ने देखिएको छ । भारतबाट आयात गरिएको सेता अण्डा स्वास्थ्यका दृष्टिले समेत हानीकराक हुन सक्ने पाइएको छ । भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ ।

बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा भित्र्याउने गरिएको छ ।

बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी प्रशासन मौन रहेको छ ।

भारतबाट आयात भई नेपाल भित्रिने पक्षी तथा पक्षीजन्य पदार्थ अवैध रुपमा पैठारी नगर्न नेपाल सरकारबाट नेपाल राजपत्रको खण्ड ५६ भाग तीन अतिरिक्त ३७-८ असोज २०६३ मा सूचना प्रकाशित गरी पक्षी तथा पक्षीजन्य पदार्थ, पंक्षी उत्पादन सामग्री, मासु उत्पादन, कुखुरा, मल, दाना औषधि आयातमा रोक लगाएको व्यवस्था गरिएको पशु क्वारेन्टाइन चेकपोस्ट वीरगन्ज विर्ताले जनाएको छ ।

निरीक्षण गर्ने पशु सेवा कार्यालय तथा पक्राउ गर्ने काम प्रहरीको हो, पशु क्वारेन्टाइन चेकपोस्ट वीरगञ्ज विर्ताका प्रमुख डा हरेराम यादवले भने, ’हाम्रो काम भने नष्ट गर्ने मात्रै हो ।’ बारा जिल्लामा कुखुराको अन्डा उत्पादन गर्ने फर्म सात वटा रहेको छ ।

वार्षिक एक करोड २९ लाख, ७४ हजार वटा अन्डा उत्पादन हुने बारा जिल्लामा वार्षिक १५ करोड ५६ लाख ८८ हजार मूल्य बराबरको अन्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाराले जनाएको छ ।

तर भारतीय अन्डा सस्तो भएकाले खुला सीमाको कारण भारतबाट व्यापक मात्रामा सेतो अन्डा आउने गरेको जिज्ञासा राख्दा पशु सेवा कार्यालय वाराका वरिष्ठ पशुविकास अधिकृत डा देवानन्दन साहले अनभिज्ञता प्रकट गर्दै आफूलाई थाहा नभएको बताए । कतिपय व्यापारी तथा तस्करले  सेतो अन्डा ल्याई रातो रङमा रङ्गाएर नेपालको रातो अन्डा हो भनी बेच्ने गरेको समेत खुलासा हुन आएको छ ।

भारतमा बेलाबेलामा बर्डफ्लुका रोगी भेटिने गरेकाले नेपाल सरकारले भारतीय कुखुरा, अन्डा र कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि भारतीय अन्डा नेपालमा भित्रिनु भनेको नेपाली जनता बर्डफ्लुको जोखिममा पर्नु हो बाराबासीको भनाइ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको