Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा रहेका नेपालीहरुको अभिभावकको रोदन : सरकारले कानमा तेल हाल्यो, बच्चाहरु भन्छन- 'न खाने कुरा छ, न पिउने पानी' (भिडियोसहित)

अर्थ संसार

सोमबार, २७ माघ २०७६, १९ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोराना भाईरस’ बाट संक्रमित नभएको भन्दै उनीहरुले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले सरकारले चीनमा बन्धकको अवस्थामा रहेका आफ्ना नागरिकहरुको उद्धारको लागि गम्भिरता नदेखाएकोमा भने कडा आपत्ति जनाएका छन् । ती विद्यार्थीहरुको उद्धारको लागि आफूहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।

कतिसम्म भने चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुले पनि आज भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीहरुसँग चाँडै नेपाल झिकाउनको लागि पहल गरिदिन आग्रह गरेका थिए । चीनमा रहेको नेपाली दुतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीहरुको गुनासो छ ।

यता, अभिभावकहरुले भने आफ्ना सन्तान नै यस्तो विपद् र संकटबाट गुज्रँदा आफूहरु निकै ठूलो पीर र मर्कामा परेको बताएका छन् । आफन्तलाई स्वदेश फर्काउने विषयमा नेपालको सरकारी अधिकारीबाट कुनै ठोस जवाफ नआएको भन्दै कहिलेसम्म स्वदेश फर्काउने हो ? भन्दै लिखित जवाफ दिनुपर्ने अभिभावकहरुले माग गरे ।

वाइडबडी मार्फत वुहानका नेपाली ल्याइँदै 

 

चीनमै चिकित्सक शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टहरुले आफू उद्धारको लागि चीन जान तयार रहेको स्पष्ट पारेका छन् । चीनको उहानमै ईन्टर्नल मेडिसिन अध्ययनरत डा. सुमन श्रेष्ठले आफू जनवरी २ तारिखमात्रै काठमाडौं आएको सुनाउँदै भने,‘म काठमाडौं आएको २ हप्तापछि अर्थात जनवरी १५–१८ सम्म त चीनमा कोरोनाको महामारी नै फैलियो । अहिले यो रोगको बारेमा विश्वभरि चर्चा छ । नेपाल सरकारले कुनै संकोच नमानीकन नेपालीहरुलाई स्वदेश फर्काउनुपर्छ । त्यहाँ रहेका नेपालीहरु कोही पनि संक्रमित छैनन् । तर, उहाँहरुलाई नेपाल ल्याउनको लागि सरकार डराएको छ ।’

चीनमा रहेका अन्य मुलुकका नागरिकहरुलाई त्यहाँको सरकारले सफलतापूर्वक उद्धार गरिसकेको पनि उनले जानकारी दिए । ‘चीनमा रहेका साथीहरु अहिले हामी त नेपाली नै पो होईनौं कि भन्नेमा पुगेका छन्’–उनले भने,‘सरकारले उद्धारको लागि कुनै चासो नदेखाएपछि यस्तो भन्नु स्वभाविक हो । चीनमा रहेका नेपालीहरुको पीडा धेरै छ । उहाँहरु समस्यामा पर्नुभएको छ ।’

सरकारले उद्धारको लागि जनशक्ति छैन भनेको सुनाउँदै आफू ती साथीहरुको उद्धारको लागि जान तयार रहेको डा. श्रेष्ठको भनाई छ । उनले भने,‘म जान तयार छु, उहाँहरुलाई कुनै संक्रमण नै छैन् । अहिले करिब २ सय जना नेपालीहरु त्यहाँ छन्, तर कोही पनि ईन्फेक्टेड छैनन् ।’

अर्का चिकित्सक डा. प्रकाश कँडेलले पनि आफ्ना साथीहरु कोही पनि संक्रमित नभएको स्पष्ट पारेका छन् । उनले भने,‘संक्रमित नभएपछि सरकारले उद्धार गर्नुपर्छ । नेपाल सरकारका प्रतिनिधिहरुले हामीसँगको भेटवार्तामा चिन्ता र दुःख व्यक्त गर्नुभएको छ। तर, उद्धार गर्ने कुरामा पनि पहल लिनुभएन् ? त्यहाँ भएका नेपालीहरुको लागि सहानुभुति भन्दापनि उद्धार नै ठूलो कुरा हो । भारत, श्रीलंकाले त आफ्ना नागरिकहरु सकुशल उद्धार गरिसकेको छ । तर, हाम्रा नेपालीहरु भने यतिवेला बन्धक बनेका छन् ।’ अहिले नेपालीहरुको लागि हरेक सेकेण्ड महत्वपूर्ण भएको सुनाउँदै त्यहीस्तरको पीडा यता नेपालमा हुने अभिभावकहरुलाई पनि भैरहेको उनले कारुणिक अवस्था सुनाए । उनले जतिसक्दो चाँडो चीनबाट नेपालीहरुलाई सरकारले उद्धार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले कोरोना भाईरसबारे नै आम मानिसहरुमा सही जानकारी नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘यसको उपचार कहीँ पनि छैन् । चीनमा रुघोखोकीको बेग्लै ट्रिटमेन्ट र निमोनियाको बेग्लै उपचार गरिन्छ । हाम्रो पनि त्यही गर्ने हो । यो भाईरस हावाबाट सर्दैन् भनेर भनिसकिएको छ । र, चीनमा रहेका नेपालीहरु कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् ।’

नेपाल सरकारले नेपालीहरुको उद्धारको लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाई छ । उनले भनिन्,‘भारतले आफ्ना नागरिकहरुको उद्धार गरिसकेको छ । उसले टेन्टमा राखेको छ । बंगलादेशले तन्नामा राखेको छ ।’ नेपाल सरकारले फागुण ३ गते जहाज पठाउने कुरा गरेको मिडियामार्फत थाहा भएपनि यसबारेमा सरकारले आधिकारिक रुपमा केही जानकारी नदिएको उनको गुनासो छ ।

उनले भनिन्,‘हामी त दुई हप्तादेखि पर्खिरहेका छौं । अहिलेसम्म कुनै पहलकदमी सरकारको तर्फबाट भएको छैन् । हामी अभिभावक र उता हाम्रा आफन्तहरु दुवैतिर त्रासदीपूर्ण जीवन जिउन बाध्य भैरहेका छौं । सरकारले हाम्रो आवाज कहिले सुन्छ ?’ वर्तमान सरकार अत्यन्तै कमजोर भएको भन्ने आफूहरुलाई अनुभुति भएको उनको आरोप छ । उनले एक दुईदिनभित्रै आफ्ना आफन्तहरुको उद्धार गर्न सरकारलाई आग्रह गरिन् ।

कार्यक्रममा अर्का अभिभावक रमेश बहादुर सिंहले पनि सरकारले उद्धारको लागि ठोस पहल नगरेको गुनासो पोखे । उनले भने,‘हामीले मन्त्रीहरुलाई भेट्यौं । उहाँहरुले सहानुभि देखाउने र दुःखी छौं भनेरमात्रै हुँदैन्, उद्धार गर्नुपर्यो । मलाई अहिले तिर्खा लागेको छ, दश वर्षपछि पानी दिएर हुन्छ ? अहिले हाम्रा सन्तानहरुको चीनमा यस्तै अवस्था छ । उनीहरुको कुरा सुन्दा हृदय काँप्छ । कहिले उद्धार गर्नुहुन्छ ? हामीलाई भनेर उताबाट रोदन आईरहेको छ ।’

सिंहले नेपाल सरकारले यतिका दिन बितिसक्दापनि किन ठोस कदम नचालेको होला ? भन्दै प्रश्न गरे । उनले चेतावनी दिँदै भने,‘भोलि यस्तो दिन नओस्, हामी त अझैपनि आफ्नो सरकारप्रति भरोशा गरेर बसेका छौं । तर, हुँदै भएन भने मर्ता तो क्या नहीँ कर्ता ? भनेझैं मजबुरी भएर हामीले अरु देशलाई घुहाउर्नु नपरोस् । यदि अरु देशलाई घुर्हादा नेपालको नाक कहाँ रहन्छ ?’

अर्की अभिभावक लीलादेवी भट्टराईले पनि आफ्ना सन्तानहरु ठूलो पीडामा रहेको सुनाईन् । उनले भनिन्,‘चीनमा रहेका हाम्रा नेपालीहरुको जस्तो दुःख अरुले भोग्न नपरोस् । सरकारले जति ढिलो गर्छ, त्यति नै त्यहाँ रहेका नेपालीहरुमा संक्रमण हुने डर छ । तरुन्त नेपाल झिकाउन पहल गर्नुपर्छ ।’ उनले आफूहरु पीरमा बसेको विलौना गरिन् । उनले भनिन्,‘उताको पीडा सुन्दा भक्कानो फुटेर आउँछ ।’

चीनमा एम.डी. अध्ययनरत अमित श्रीवास्तवकी श्रीमती पल्लवी श्रीवास्तवले पनि नेपाल सरकारले कहिले उद्धार गर्ने हो ? त्यो कुरा मौखिक रुपमा नभई लिखित रुपमा सार्वजनिक गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘सरकारले उद्धार गर्ने भनेर त भनेको छ, तर यो समाचारमा कुनै विश्वास छैन् । त्यसैले सरकारले लिखित रुपमा दिनुपर्यो ।’

 

त्यस्तै, अर्का अभिभावक वसन्त भण्डारीले सरकारले आफूहरुको विलौना नसुनेकोमा आक्रोश पोखे । नेपालमा बस्ने अभिभावकहरुसमेत अहिले भयावह अवस्थामा रहेको उनको भनाई छ । आफ्ना आफन्तहरुलाई संक्रमण नहुँदै नेपाल फर्काउनुपर्ने उनको माग छ । उनले चीनमा रहेका नेपालीहरुलाई २४ घण्टाभित्र उद्धार गर्न सरकारलाई अल्टिमेटमसमेत दिए । उनले भने,‘होईन भने अब ठूलो संघर्ष पैदा हुन्छ ।’ उनले पत्रकार ऋषि धमलाले आफूहरुको पीडालाई सरकारको कानमा पुर्याउनको लागि र दबाब सिर्जना गर्न ठूलो भूमिका खेलेको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा चीनमै अध्ययनरत विद्यर्थाी मनोज सिंहले उहानमा रहेका चिकित्सकहरुसँग नेपालबाट भिडियो कलमार्फत उनीहरुको बास्तविक अवस्था के रहेछ ? भनेर जानकारी लिनको लागि सहयोग पुर्याएका थिए । उहानमै पि.एच.डी अध्ययनरत गौरव पोखरेलले आफूहरु विगत १५ दिनदेखि कोठामा थुनिएर बस्नुपरेको पीडा सुनाए । उनले आफूहरु कोही पनि संक्रमति नभएको भन्दै समयमै नेपाल उद्धार गर्न मिडियाकर्मीहरुसँग आग्रह गरेका थिए ।

उनले भने,‘हामी कोही पनि संक्रमित छैनौं । सबै स्वस्थ छौं । यो क्षेत्र उद्गमस्थल हो, चीनस्थित् नेपाली दुतावासले हामीसँग लिष्ट मागेको थियो । फर्म भर्न लगाएको थियो । तर, अहिलेसम्म कुनै ठोस कदम चालेको छैन् । हामी त्रासमा बाँचेका छौं ।’ कतिपय साथीहरुको श्रीमती गर्भवती रहेको पनि उनले सुनाए । उनले भने,‘यो समय नै उद्धारको लागि उचित समय हो । चीनले पनि नेपाल पठाउँदा हामीलाई चेकजाँच गरेरमत्रै पठाउँछ । नेपालमा पनि हामीलाई चेक गरेर अर्थात स्क्रिनिङ गरेरमात्रै विमानस्थलबाट बाहिर जान दिने हो ।’

उनले आफूहरु छात्रावासमा थुनिएर बसेको सुनाए । उनले भने,‘नेपाली भएर हामीले बाँच्न नपाउने ? हामीलाई मानसिक रुपमा पनि तनाव बढेको छ । अहिलेको अवस्था भनेको साह्रै ईमरजेन्सी हो ।’ चीनमा रहेको नेपाली दुतावास र राजदुत लिलामणि पौडेलले पनि खासै चिन्ता नगरेको आफूहरुले पाएको उनको गुनासो छ ।

बरु, आफूहरुको प्राध्यापक (चिनियाँ) हरुले बरु कहिले नेपाल जान्छौं ? छिटो जाउ भनेर सोधेको उनले सुनाए । उनले भने,‘हामी अहिले चिनियाँ सरकारको लागि पनि बोझ भएका छौं ।’ अहिले चीनमा मास्क पनि अभाव भएको सुनाए । तर, नेपालबाट चीनलाई एक लाख मास्क सहयोग गर्नुभन्दापनि आफूहरुलाई उद्धार गरेको भए त्यो महत्पूर्ण हुनेथियो भन्ने तर्क गरे ।
अर्का चिकित्सक डा. सुदीप राउतले पनि आफूहरु ठूलो पीडामा रहेको सुनाए । उनले भने,‘हामी चीनको बोझ भयौं । हामी संक्रमित होईनौं । खाना सकिएको छ । हाम्रो राज्य सरकार उदासिन भएको छ । हामी अहिले अप्ठ्यारो स्थितिमा छौं । सरकारले चाँडै उद्धार गरोस् ।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुको समस्या आफूहरुको पनि समस्या भएको भन्दै उद्धारको लागि सरकारसँग पहल गरिने बताए । उनले भने,‘म प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसँग तपाईहरुको कुरा राख्छु । प्रधानमन्त्रीज्यूसँग अन्तरक्रिया गराउन पहल गर्छु । तपाईहरुको साथमा हामी सम्पूर्ण मिडियाकर्मीहरु रहेका छौं ।’

धमलाले २४ घण्टाभित्र चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले ठोस पहलकदमी लिनुपर्ने धारणा राखे । उनले भने,‘सरकार मुकदर्शक भएर बस्न मिल्दैन् । हामी परिवारको साथमा छौं । नेपाल फर्कन चीनस्थित नेपाली राजदूतावासमा १ सय ८० जनाले फाराम भरेका छन् । उनीहरूका अनुसार खानेपानी, खाद्यान्नलगायतको अभाव सिर्जना हुन थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको