Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड

रबिन दङगाल

शुक्रबार, १३ असार २०७६, १६ : २५ मा प्रकाशित

पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड

अर्थ संसार, बुटवल- प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले सडक छेउमा फ्युल फिलिङ स्टेशन स्थापनाका लागि मापदण्ड २०७६ स्वीकृत गरी पेट्रोलपम्प स्थापना मापदण्ड सार्वजनिक गरिएको हो । यो मापदण्डअनुसार सडक छेउमा नयाँ पम्प स्थापना गर्दा लागू हुने मन्त्रिपरिषदको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी गराए । 

प्रदेश सरकारको नयाँ मापदण्डअनुसार प्रदेशमा पर्ने राष्ट्रिय राजमार्गहरुमा पेट्रोलपम्प स्थापना गर्दा अब राष्ट्रिय राजमार्गसँग प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडक एकापसमा काटिएर बनेको चोकदेखि प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडकतर्फ एक किलोमिटरभन्दा बढी दुई हुनुपर्ने व्यवस्था गरिएको छ । 

पहाडी जिल्लाका सडकका हकमा भने यो मापदण्ड केही लचिलो व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रिय राजमार्गसँग प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडक एकापसमा काटिएर बनेको चोकदेखि प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडकतर्फको पम्प स्थापनाको दूरी ५०० मिटरभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रादेशिक राजमार्ग वा दुई जिल्लाको केन्द्र जोड्ने प्रमुख सडकको चोकको एक किलोमिटर क्षेत्रभित्रका कुनै पनि सडकमा पम्प स्थापना गर्न नपाइने मापदण्ड बनाइएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । यसमा पनि पहाडी जिल्लाका सडकमा ५०० मिटर क्षेत्र कायम गरिएको छ ।

मापदण्डअनुसार नगर तथा गाउँपालिका जोड्ने सडकका चोकमा ५०० मिटरभित्र ‘फ्युल फिलिङ स्टेशन’ स्थापनाका नपाइने व्यवस्था गरिएको छ । यो मापदण्डमा पहाडी जिल्लाका लागि भने ३०० मिटर कायम गरिएको छ । 

स्थानीय तहले आवासीय क्षेत्र भनेर तोकेको क्षेत्रमा मापदण्डमा तेल भर्ने केन्द्र (फ्युल फिलिङ स्टेशन) स्थापना गर्न नपाइने, पुरातत्व विभागले व्याख्या गरेबमोजिम पुरातात्विक क्षेत्र, स्मारक स्थल स्थापना गर्न नपाइने व्यवस्था गरिएको छ भने नेपाल सरकार वा प्रदेश सरकारले औद्योगिक क्षेत्र भनि तोकेको क्षेत्रभित्र भने फ्युल स्टेशन स्थापना गर्न सकिने मापदण्ड रहेको छ ।

मापदण्डमा फ्युल स्टेशन परिसरभित्र पानीको पर्याप्त उपलब्धता, महिला तथा पुरुषका लागि अलगअलग शौचालय र अपाङ्गमैत्री शौचालयको समेत व्यवस्था हुनुपर्नेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको