शनिबार, ०७ असोज २०७४, १३ : ०७
हामीले मेटल क्राफ्टमा सबैभन्दा राम्रो गरेका छौं
शनिबार, २२ माघ २०७३

नेपालको मौलिक व्यवसायका रुपमा परिचित हस्तकलाका सामानको वार्षिक रुपमा ६ अर्वभन्दा बढीको निर्यात हुदै आएको छ । यसबाहेक आन्तरिक बजारमा समेत यसको कारोबार बढीरहेको छ ।

तर, हस्तकलाका सामानको उत्पादन वृद्धि, सामानहरुको विविधिकरण र व्यवसायीकताको अभावमा यो क्षेत्र खासै अघि बढ्न नसकेको बताउछन् नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार डंगोल । हाते कागज व्यवसायबाट हस्तकला क्षेत्रमा लागेका उनी यसको निर्यातमासमेत संलग्न छन् । यस क्षेत्रमा १७/१८ वर्ष विताएका उनले इकोलोजिमा मास्टर्स गरेका छन् ।

हस्तकला व्यवसायको उत्पादन र बजारको अवस्था कस्तो छ ? 
नेपाली हस्तकला व्यवसायको तथ्यांक हेर्ने हो भने ६/७ वर्षदेखि स्थिरजस्तै देखिएको छ । हाम्रो प्रत्येक वर्ष ५/६ अर्वको निर्यात भएको महासंघको तथ्यांकमा देखिन्छ । यसबाहेक तथ्यांकमा नआएको कारोबार पनि जोड्ने हो भने १० अर्व जतिको कारोबार भइरहेको छ । कुनै वर्ष सामान्य घटबढ भएपनि खासै बढ्न सकेको छैन । आर्थिक वर्ष २०७०/७१ मा पाँच अर्ब तीन करोड ५९ लाखको सामान विदेश निर्यात भएकोमा आव २०७१/७२ मा चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको सामान निर्यात भएको छ ।

गत वर्ष भूकम्प गएपछि महीनौँसम्म काम ठप्प रहेका कारण व्यापार सामान्य घटेको हो । महासंघले रेशाजन्यसहित २५ प्रकारका हस्तकलाका वस्तु विदेशमा निर्यात गर्दै आएको छ ।  पस्मिना, उनी, रेशम, गाजा, अल्लो, ढाका, चाँदीका गरगहना, धातुकला, हातेकागज, काष्ठकला, सेरामिक, छालाजन्य, धुप, प्लास्टिक, पोतेजन्य, प्रस्तरकला, बाँसका वस्तु बढी निर्यात हुँदै आएको छ । 

हाम्रो हस्तकला सामानहरुको निर्यात बढ्न नसक्नुको कारण भनेको जुन हिसावले हामीले व्यवसायीकरण हुनुपर्ने हो त्यो गर्न सकेनौं । तर कारोबार नघटेकाले नराम्रो मान्नुपर्ने अवस्था पनि छैन । 

हस्तकलालाई डलर आम्दानी गर्ने क्षेत्र मानिन्छ । यसका लागि हाम्रो सम्भाव्य बस्तुहरु के–के हुन् ? 
नेपाललाई चिनाउने क्षेत्र नै हस्तकला हो । ठूला छिमेकी देशको बीचमा रहेर पनि हामी यो व्यवसायमा टिकिरहेकै छौं । छिमेकी देशको उत्पादन क्षमता ठूलो भएपनि हामी टिकिराख्नुको मुख्य कारण हाम्रो दक्षता र मौलिकता हो । भारत, चिनका साथै पाकिस्तान, बंगलादेशको उत्पादन क्षमता हाम्रोभन्दा बढी छ । तर विदेशीहरुले हाम्रो सामानलाई बढी मन पराएकाले हामी बिश्ब बजारमा टिकिरहेका छौं । 

विश्व बजारमा हेर्दा हामी मेटल क्राफ्टमा सबैभन्दा राम्रो गरिरहेका छौं । ललितपुरमा १ सय घरमध्ये आधामा मेटल क्राफ्टको काम हुन्छं । यो परम्परागत रुपमा चलिआएको व्यवसाय हो । निर्यातमा पनि यसैको हिस्सा उच्च छ । यसबाहेक ऊन, पस्मिना, फेल्ट, हातेकागजका सामानहरुको माग पनि राम्रो छ । 

हस्तकलाको आन्तरिक बजार कस्तो छ ? 
हाम्रो तथ्यांकमा नदेखिए पनि जति निर्यात हुन्छ त्यती नै आन्तरिक व्यापार छ । केही वर्षअघि नेपालीहरु हस्तकलाका सामानै किन्दैनथे । आजकाल किन्ने चलन बढेको देखिन्छ । विवाह कार्ड नेपाली कागजमा बन्न थालेको छ । घरघरमा डेकोरेसन, गिफ्ट दिन नेपाली हस्तकलाको प्रयोग हुन थालेकाले आन्तरिक बजार पनि बढिरहेको छ ।

हाम्रा व्यवसायीहरु विदेशमै ताक्ने प्रवृत्तिले आन्तरिक बजार धेरै फस्टाउन सकेको छैन । तर, स्वदेशमा उच्च मूल्यका सामान किन्ने ग्राहक बढेका छन् । प्रोडक्ट राम्रो बनायो भने बजारको समस्या छैन । 

एनआरएन लाखौ छन् । उनीहरु नेपाल आउदा गिफ्ट लैजाने चलन बढेको छ । यसबाट पनि हस्तकलाका सामानको बजार बढेको छ । जुन हिसावले उत्पादन बढाउने र यसलाई विविधिकरण गर्ने काममा भने हामी पछि परेका छौं ।

नेपाली उत्पादनको ब्राडिङ नहुदा समस्या भएको गुनासो सुनिन्छ नि ? 
यो समस्या हामीले भोगिरहेका छौं । हाम्रो सामान चल्योभने विदेशीले ‘मेड इन नेपाल’ ट्याग लगाएर एक्सपोर्टे गरेको पाइन्छ । पस्मिना, कार्पेटमा पनि त्यस्तै भयो । हाम्रो जुन सामान चल्छ त्यसमा विदेशीको आँखा लाग्छ । हाम्रो समस्या त्यसलाई हामीले संरक्षण गर्न सकेका छैनौं ।

सरकारसँग पनि आफ्नो देशको उत्पादन संरक्षण गर्ने नीति छैन । व्यवसायीहरुले पनि गर्न सकेका छैनन् । अहिले जति कमाइन्छ कमाएपछि जे सुकै होला भन्ने गलत बानी पनि छ । 

हस्तकलाको बजार अमेरिका र युरोपमात्र केन्द्रित छ । अन्य देशमा बजार खोल्न व्यवसायीले किन चासो नदिएका हुन् ? 
युरोप र अमेरिका गइरहने बानी र त्यहाँ व्यापार गर्न, सम्पर्क गर्न सजिलो भएर बढी व्यापार त्यहीँ छ । त्यसबाहेकका देशमा विस्तार गर्न नजानेर पनि हो । तर, पछिल्लो समयमा अरु देशमा पनि बढिरहेको छ । केही व्यवसायीले गल्फ देशमा पश्मिनाको सामान पठाउन थालेका छन् ।

सुन्दा त अचम्म लाग्छ, गल्फमा पश्मिना ! तर, त्यहाँ एक तहका मानिस सधै एयर कन्डिसनरमा मात्र बस्ने छन् । उनीहरुले फेसनका लागि प्रयोग गर्छन । त्यसैले विस्तारै अन्य देशहरुमा पनि बजार विस्तार भइरहेको छ । केही वर्षहरुमा अझैै बढ्ला । महासंघले पनि यसका लागि पहल गरिरहेको छ । केही महिनाअघि ठूलो टोली लिएर मलेसिया गएका थियौं । विस्तारै अरु देशमा पनि व्यवसाय विस्तारका लागि पहल गर्दैछौं । 

हस्तकला ग्राम स्थापना गर्ने योजना किन अलपत्र पर्यो? 
हस्तकला ग्रामको योजना ल्याएको लामो समय भइसक्यो तर यो अघि बढ्न सकेको छैन । सरकारले जग्गा दिने कुरा भएको हो । तर जग्गाको विषयमा कुरा नमिल्दा ढिला भएको छ । कहिले कता त कहिले कता भन्दैमा समय वितिरहेको छ । अब हामी आफैंले ठाउँ हेरिरहेका छौं । केही समयपछि योजना पेश गर्ने तयारीमा छौं । 

चादीको सामानमा क्याडियम मिसावटका कारणले निर्यातमा रोक लागेको थियो । यो समस्या समाधान गर्न के प्रयास भइरहेको छ ? 
चाँदीका सामान निर्यातमा समस्या छ । युरोपियन युनियनले चाँदीमा ०.०१ प्रतिशत मिसावट भयो भने पनि सामान लिदैन भन्ने नियम जारी गरेको छ । त्यो लेभलमा सामान उत्पादन गर्न सम्भवै छैन । यसका लागि हामीले लविङ गरिरहेका छौं । युरोपियन युनियनका राजदूतसँग पनि भेटेर भनेका छौं ।

केही हदसम्म सल्टाउन सक्छौं कि । महासंघ र सरकार मिलेर गुणस्तर विभागमा ल्याव खोलेका छौं । जसले मिसावट छैन भन्ने सर्टिफिकेट त दिन्छौं तर यसले अन्तर्राष्ट्रिय मान्यता नपाइसकेकाले निर्यातमा समस्या छ । यसका लागि पनि पहल गरिरहेकै छौं । 

सरकारले केही वर्षदेखि निर्यातको २ प्रतिशत इन्सेन्टिभ दिँदै आएका छ । यसबाट तपाइँहरुलाई कतिको प्रोत्साहन भइरहेको छ ? 
निर्यातका आधारमा दिने इन्सेन्टिभमा समस्या छ । सरकारले उद्यमीलाई मात्र निर्यात गरेको २ प्रतिशत रकम दिन्छ । निर्यातकर्ताले पाएका छैनन् । हाम्रा उद्यमीहरु स–साना छन्, उनीहरु आफंैले निर्यात गर्न सक्दैनन् । उनीहरुबाट सामान संकलन गरेर निर्यात गर्ने त निर्यातकर्ताले नै हो ।

तर, निर्यातकर्ताले इन्सेन्टिभ नै पाउँदैनन् । अर्कोतिर इन्सेन्टिभ लिन यती धेरै कागजात जुटाउनुपर्छ कि सामान्य उद्यमीले सक्दैन । अर्कोतर्फ इन्सेन्टिभ रकम पनि कम छ । चीनमा १६ प्रतिशत, भारतमा १० प्रतिशतसम्म इन्सेन्टिभ छ । त्यसैले इन्सेन्टिभ रकम बढाउने र एक्सपोर्ट गर्नेलाई समेत दिने गरी सहजिकरण गर्नुपर्छ । अहिले सानै रकम भएपनि इन्सेन्टिभ आउदा प्रमोशनका लागि सजिलो भएको छ । 

हस्तकला व्यवसाय प्रवद्र्धनका लागि तपाईहरुले के गर्दै हुनुहुन्छ ? अनि, सरकारबाट अपेक्षा के छ ? 
हामीले धेरै गरिरहेका छौं । हस्तकलाको कच्चा पदार्थदेखिको व्यवस्थादेखि निर्यातसम्मको काम गरिरहेका छौं । स्वदेश तथा विदेशमा प्रवद्धनात्मक काम गरिरहेका छौं । विभिन्न तालिम संचालनका साथै विदेशमा प्रमोशनको काम पनि गर्छौं । ५ जना उत्कृष्ट निर्यातकर्तालाई विदेशी मेलामा भाग लिन आर्थिक सहयोग गर्दै आएका छौं । यस क्षेत्रलाई व्यवस्थित गर्न हस्तकला नीति आवश्यक छ । यसका लागि हामी तयारी गरिरहेका छौं । 

सरकारले त अहिलेसम्म केही गरेको छैन भने हुन्छ । सरकार यो क्षेत्रको विकासका लागि सकारात्मक भइदिए मात्र पुग्छ । नीति नियममा सहजिकरण गर्नुका साथै भन्सार नीति सहज बनाउन आवश्यक छ । हामीले सहुलियत खोजेका छैनौं । भएको व्यवस्थालाई नै सहज रुपमा उपयोग गर्न सकिने अवस्था मात्र सिर्जना गरिदिए पुग्छ ।


 

© Arthasansar.com 2016, All Rights Reserved