Like us!
Follow us!
Connect us!
Watch us!

विवादमा पर्यो छायाँ सेन्टर, पत्रकार सम्मेलन मै भयो यस्तो

मंगलबार, ०७ फागुन २०७५, १९ : ३२ मा प्रकाशित

विवादमा पर्यो छायाँ सेन्टर, पत्रकार सम्मेलन मै भयो यस्तो

अर्थ  संसार, काठमाडौँ– राजधानीको मुख्य व्यापारिक  केन्द्र ठमेलमा अवस्थित छायाँ सेन्टर कम्प्लेक्सले  मंगलबार पत्रकार सम्मेलन गरी आफूहरुले सार्वजनिक सम्पदा कव्जा नगरेको स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने– ‘हामीले जग्गा किनेको ११ वर्ष भयो, अहिले भवन निर्माण गरेपछि केही समूहको स्वार्थ पुरा गर्न नसक्दा हामीमाथि सार्वजनिक गुठीको जग्गा कव्जा गरेको भन्दै विरोध गर्नु कतिको जायज हो ? यो सवैले बुझ्नु पर्ने कुरा हो ।’ हामीले जग्गा किनेदेखि भवन निर्माण पुरा गर्दासम्म स्थानीयवासीसँग छलफल गरिरहेको उले पत्रकार सम्मेलनमा भने ।

जग्गा खरिद गर्दा देखी नै कानुनी प्रकृया पालना गरेकाले यस्ता आरोप लाग्नुमा वैधानिक आधार नभएको छायाँ सेन्टरका सुमन पाण्डेले बताए ।  ‘ठमेल सिंह सार्थ गुरुड भगवान गठीको जग्गा काठमाडौ उपत्याकामा ५ हजार रोपनी थियो, अहिले जम्मा ४ आना जग्गा मात्र छ  । अरु खोइ त ?’ पत्रकार सम्मलेनमा पाण्डले प्रश्न समेत गर्न भ्याए ।

छायाँ सेन्टर कम्लेक्सको औपचारिक उद्घाटनको बेलादेखी नै सार्वजनिक पोखरीको जग्गा हडपेको जस्ता केही विवाद झेल्दै आएको छ ।

स्थानीयवासीको आक्रोश

पत्रकार सम्मेलन कै क्रममा स्थानीयवासीले  गुठीको जग्गा कव्जा गरेको भन्दै छायाँ सेन्टरको चर्को विरोध गरेका थिए ।  पोखरी सार्वजनिक सम्पत्ति नै भएकाले सोही स्थानमा कम्प्लेक्स बनाउन नहुने उनीहरुको  तर्फक थियो ।   ‘आज यो सार्वजनिक पोखरीमाथि ‘छाँया सेन्टर’ बन्यो भने भोली रानीपोखरीमाथि ‘मायादेवि सेन्टर’ बन्ने छ भन्दै पत्रकार सम्मेलनमै स्थानीयवासीले आक्रोस पोखेको थिए


यस्तो छ तथ्य

काठमाण्डौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणको नाममा नामसारी रैतानी दर्ता भएको देखिन्छ ।

साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गा मध्ये माथि उल्लेखित जग्गाहरु अम्बिका राणको नाममा मोही दर्ता भै भोग तिरो रहेको जग्गाका रुपमा छ । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ ।

मोही केशर शमशेरले उल्लेखित जग्गामा पर्खाल लगाएर आफ्नो परिसर भित्र पारेका थिए । यो विषयलाई गुठीको जग्गा खिचोला गरेको भनी काठमाण्डौं जिल्ला अदालतमा फिराद परे पछि २०३० बैशाख २५ गते काठमाण्डौं जिल्ला अदालतले उक्त फिराद खारेज गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको फिराद खारेजीको उक्त फैसलामा पुनरावेदन परे पछि २०३१ असोज २५ गते काठमाण्डौं जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्दै पुनरावेदनको अनुमति पाएर सर्वोच्च अदालतमा २०३३ पुस ३ गते केयुर शमशेर मोही भई भोगचलन गरी खान पाउने गरी भगवान गुठीका तर्फबाट सबै दाबी छाडेर मिलापत्र भएको तथ्यले देखाउँछ ।

१ नम्बर नापीको दर्ता नम्बर ९१२ ले मिति २०३९ जेठ २३ को गुठी तथा तहशिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ चलानी नम्बर २४३३, मिति २०३९ जेठ २१ को पत्र अनुसार कित्ता नम्बर १६७ को १२ रोपनी ११ आना २ पैसा ३ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा दर्तावाला मोही केयुर शमशेर रहेको देखाउँछ ।
कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम मध्येबाट रजिष्ट्रेशन नम्बर १३२३२ मार्फत मिति २०३९ असार १० मा ६ आना जग्गा सुधा पैडोल र रजिष्ट्रेशन नम्बर १३२३३ मार्फत सोही दिन २ रोपनी १० आना जग्गा विना पौडेललाई केयुर शमशेरले राजिनामा लिखतबाट कित्ता काट गरि नामसारी गरिदिएको देखिन्छ ।

केयुर शमशेरको मृत्यू पश्चात उनको हकदाबी अम्बिका राणा भएकाले कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा अम्बिका राणाको नाममा नामसारी गरिपाउँ भन्ने निवेदन परेको थियो । सो पश्चात अम्बिकाको नाममा जग्गा नामसारी गर्न बाधा अड्चन भए सात दिन भित्र सुचना पठाउन भनी ठमेल सिंह सार्थ गरुड भगवान गुठीलाई गुठी लगत तथा तहशिल कार्यालयले पत्र पठाएको थियो ।

जवाफमा भगवान बहाल गुठीले २०४४ माघ १० गते अम्बिका राणाको नाममा जग्गा नामसारी हुँदा कुनै आपत्ति नपर्ने व्यहोरा उल्लेख गरेको थियो । सोही आधारमा २०४४ माघ २० गते उल्लेखित जग्गा अम्बिका राणको नाममा नामसारी भएकोे दस्तावेजमा उल्लेख छ ।

गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझाए पश्चात २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशिल कार्यालयबाट रैतानी नम्बरी कायम भएको व्यहोरा दस्तावेजमा प्रष्ट छ ।

यो रैतानीको निर्णय भुलबस भएकाले रैतानी गर्न नमिल्ने भन्दै रकम लिन आउनु भनी २०४७ फागुन १४ गतेको गुठी तहशिल कार्यालयले पत्र पठाएकोमा उक्त पत्र बदर गरी पाउँ भनी परेको मुद्धालाई काठमाण्डौं जिल्ला अदालतले राणाको मागलाई सदर गर्यो । त्यस पछि गुठी संस्थानको पुनरावेदनलाई समेत पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते सदर गरी राणाको पक्षमा अन्तिम फैसला गरेको थियो ।

यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्धाको सवालमा २०६२ असार १६ गते काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैंया नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो ।

त्यस पछि २०७० बैशाख २०मा काठमाण्डौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भएको थियो । फेरी सर्वोच्च पुगेका उनीहरुलाई सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने भन्ने नै आदेश गरेकोे थियो । फेरी पनि सर्वोच्चमा सोही विषयलाई लिएर पुगेकाहरुलाई सर्वोच्चले २०७१ कात्तिक २ गतेका दिन रोक्का राख्न नमिल्ने भनी विपक्षका नाममा नै आदेश दिएको थियो ।

२०७१ मंसिर २५ गते काठमाण्डौं जिल्ला अदालतले छाँयादेवी कम्प्लेक्सको पक्षमा अन्तिम फैसला गरेको थियो । त्यस पश्चात पछि पुनरावदेन अदालत पाटनले पनि २०७२ फागुन १० गते छाँयादेवी कम्प्लेक्सको पक्षमा नै फैसला गरेको थियो ।

‘अदालतले पटक पटक तार्किक निष्कर्षमा पुर्याएको विषयलाई बखेडा बनाएर किन प्रचार गरिँदैछ भन्नेमा हामी आफैं आश्चर्यमा छौं । लगानीका हिसावले हेर्दा यस्तो गलत अभ्यास देशका लागि नै शुभ छैन ।’ छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ भन्छन् ।

काठमाण्डौं महानगरपालिकाले २०६९ असोज ११ गते छाँयादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । साथै कम्प्लेक्स निर्माणका लागि सार्वजनिक सुनुवाई भएकोमा कसैबाट पनि त्यस बेला विवाददास्पद विषय निकालेका थिएनन् । सोही वर्षको असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो ।

‘जब २०७५ कात्तिक ८ गते काठमाण्डौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो, त्यस पछि अरु प्रोजेक्टमा दुख दिनेहरुजस्तै अहिले छाँया सेन्टरमा सलबलाई रहेका छन् । हैन भने स्वार्थमा बस्नेहरु छाँया सेन्टर सञ्चालनमा आउनु पहिले कहाँ निदाएका थिए ?’ श्रेष्ठले प्रश्न गरे ।

 

5c6ce5055beff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको