शुक्रबार, ०८ मङि्सर २०७४, १३ : १७
एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख
बुधबार, २७ पुष २०७३

काठमाडौं– नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी,  किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ ।

काठमाडौं, दहचोकस्थित नौवटा ऐतिहासिक गढी जीर्ण हुँदै गएका छन् । दहचोक गढीमा पृथ्वीनारायण शाह आफैं बसेका थिए । गढीमा रहेका ढुंगामाटो चोरिन थाले पनि संरक्षण गर्नेबारे सरकारले चासो दिएको छैन । काठमाडौं वरिपरि र काठमाडौंबाहिर रहेका अन्य गढीहरूको पनि स्थिति यस्तै छ ।

 नेपाल एकीकरण युद्धताका निर्मित ऐतिहासिक किल्ला र गढीसँगै थुप्रै इतिहास माटोमा मिल्दैछन्
एकीकरण क्रममा लडाइँ लड्न सामरिक महत्वका स्थानमा अस्थायी या स्थायी रुपमा किल्ला खडा गरेर गढी बनाइएका थिए । धेरैजसो गढीहरू काठ, माटो र ढुंगा प्रयोग गरी बनाइएका छन् ।

पृथ्वीनारायण शाहको पालामा गोरखाबाट गढी बनाउने काम सुरु भई हाल भारतको टिस्टा नदीसम्म पु¥याइएको इतिहासविद् बताउँछन् ।  पृथ्वीनारायण शाहपछि पनि नेपाल एकीकरण अभियान जारी रह्यो । त्यसपछि पूर्वको टिस्टादेखि काँकडासम्म गढी बनाइए । यस्ता गढी करिब ३ हजार भएको इतिहाकार बताउँछन् । पृथ्वीनारायण शाहको पालामा मात्रै विभिन्न स्थानमा करिब एक हजार गढी बनाइएका थिए ।

इतिहासकारका अनुसार पृथ्वीनारायण शाहको निधनपछि उनकी जेठी बुहारी एवं  प्रतापसिहं शाहकी पत्नी राजेन्द्र लक्ष्मीको पालामा लमजुङ, कास्की र तनहुँमा गढी बनाइएका थिए । त्यसपछि बहादुर शाहको पालामा कास्कीलगायत स्थानमा गढी बनाइए । रणबहादुर शाहको पालामा काँगडासम्म गढी बनाइएका थिए ।

२०४६ अघिसम्म गढीको संरक्षण र सुरक्षाको जिम्मा रक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसपछि गढीको सुरक्षा जिम्मा स्थानीय विकास मन्त्रालयले लियो । गढी सुरक्षाको जिम्मा स्थानीय विकास मन्त्रालयमा आएपछि गढी र किल्लाको सुरक्षा गर्ने जिम्मेवारी सम्बन्धित गाविस र नगरपालिकालाई दिइयो ।  गढी सुरक्षा जिम्मा गाविस र नगरपालिकामा आएपछि अलपत्र हुने क्रम सुरु भएको नेपाली सेनाका पूर्वअधिकारी बताउँछन् ।

‘जब गढी सुरक्षा जिम्मा रक्षाबाट स्थानीय मन्त्रालयमा गयो, त्यसपछि गढी, किल्ला, कोट, दुर्ग अलपत्र हुन थाले’, नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्नेतले भने, ‘अब ऐतिहासकि गढीको सुरक्षा जिम्मा सरकारले निर्णय गरेर नेपाली सेनालाई दिनुपर्छ ।’

नेपाली सेनाले अहिले कुनै पनि गढी तथा किल्लाको सुरक्षा जिम्मा औपचारिक रुपमा पाएको छैन । डडेलधुरामा रहेको अमरगढीको सुुरक्षा सशस्त्र प्रहरी बलले गरिहेको छ । त्यो पनि सदरमुकामको सुरक्षा गर्ने क्रममा अमरगढीमा सशस्त्र प्रहरी बल बसेको हो ।

सेनाले बेलाबेला गढी र किल्लाको संरक्षण  र सरसफाइमा भने सहयोग पुर्याउँदै आएको छ । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जिल्लामा तैनाथ सेनाका युनिटले बेलाबेला गढीको संरक्षण र सरसफाइमा सहयोग गरेको बताए । ‘नेपाली सेनाले गढीको सरसफाइ र संरक्षणमा सहयोग  पुर्याएको छ,’  कार्कीले भने ।

इतिहासविद्का अनुसार नेपाल एकीकरण क्रममा  दुईवटा प्रयोजनले गढी बनेका थिए । एकथरी गढी सेना तथा सेनाका खरखजाना  राख्नका लागि बनाइएका थिए भने अर्कोथरी गैरसैनिक व्यक्ति बस्न । सैनिक बस्नेलाई आर्म गढी र गैरसैनिक बस्नेलाई क्यासल गढी भन्ने गरिन्थ्यो । गोरखा दरबार, मकवानपुर दरबार, जाजरकोट दरबारलगायत क्यासल हुन् ।  

मुख्यमुख्य गढी   

काठमाडौं वरिपरिमात्रै दर्जनौं गढी छन्  । एकीकरण क्रममा  नागढुंगाबाट उत्तरपट्टि दहचोकमा नौवटा गढी बनाइएका थिए । यसैगरी शिवपुरी, नगरकोट, नालदुम, साँगाचोकमा किल्ला बनाइएका थिए । काभ्रेको पलाञ्चोक गढी, सिन्धुपाल्चोक गढी पनि अलपत्र अवस्थामा छन् । सिन्धुलीको पोता गढी र सिन्धुली गढी पनि बेवारिसझैं छन् ।  

दैलेख गढी, बुटवलको जितपुर गढी, तनहँको चिनच्याङ गढी, नुवाकोटको सानो गढी, दाउन्ने गढी, मकवानपुर गढी, चिसापानी गढी, चितवनको उपरदाङ गढी, सुमेश्वरलगायत गढी पनि संरक्षण अभावमा अलपत्र छन् ।

ऐतिहासिक धरोहर मानिएका सिन्धुली गढी, रसुवा गढी, दुगना गढी, जितपुर गढी लगायतको संरक्षण हुन नसक्दा इतिहास लोप हुने अवस्थामा पुगेको इतिहासकार बताउँछन् ।  नेपाल एकीकरण क्रममा नेपालीले बनाएका तर हाल भारतीय भूमिमा परेका गढीहरूको सुरक्षा  भने भारत सरकारले गरेको छ । नेपाली सेनाका पूर्व सहायक रथी बस्नेतले नेपालीले बनाएका तर हाल भारतमा रहेका गढीहरूको सुरक्षा भारत सरकारले साइनबोर्ड नै राखेर दिने गरेको बताए ।

‘हाल भारतमा रहेका नेपालीले बनाएका गढीहरूको सुरक्षा भारत सरकारले गरेको छ । तर नेपालमा भने यस्ता गढी किल्ला अलपत्र  छन्’, बस्नेतले भने ।नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको सिमाना मेचीदेखि महाकाली कायम छ ।

भुवन शर्मा/ नागरिक

© Arthasansar.com 2016, All Rights Reserved