Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

मंगलबार, २६ पुस २०७३, १२ : ५६ मा प्रकाशित

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

अर्थ संसार

नेपाल धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्ड धितोपत्र बजारको सर्वोच्च नियमन निकाय हो । यसले धितोपत्र बजारसम्बन्धी नीति नियमहरु तर्जुमा गर्ने, धितोपत्रको सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको विवरणपत्र स्वीकृत गर्ने, स्टक एक्सचेन्ज तथा धितोपत्र ब्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने र स्टक एक्सचेन्ज, धितोपत्र व्यवसायी तथा धितोपत्रनिष्काशनकर्ता कम्पनीहरुको अनुगमन गर्नेजस्ता कार्यहरु गर्दछ ।

बोर्डले सरकारलाई बजार सुधार तथा विकास सम्बन्धमा आवश्यक रायसुझाव समेत दिने गर्दछ । स्वच्छ र व्यवस्थित तबरले धितोपत्र विनिमय कारोबार गराउने, धितोपत्र व्यवसायीहरुलाई अनुशासित गराउने तथा बजारमा संस्थागत तथा अन्य सूचना प्रवाहलाई सबल गराउने जिम्मेवारी स्टक एक्सचेन्जमा रहेको हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज 

सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने मुख्य उद्देश्य स्टक एक्सचेन्जको हुन्छ । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रुपान्तरण गरिएको हो ।

नेप्सेले सार्वजनिक रुपमा जारी भएका धितोपत्रहरुको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ ।

सूचीकरण भएका धितोपत्रहरुको किनबेचका लागि नेप्सेले कम्प्युटरकृत स्वचालित कारोबार प्रणाली उपलब्ध गराउँदै आएको छ । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरु लाई धितोपत्र किनबेच सेवा प्रदान गर्न सक्छन् ।

केन्द्रीय निक्षेप प्रणाली

नेपालमा धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । यो नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

यो प्रणाली धितोपत्र बजारमा निष्कासन भएका धितोपत्रहरु सम्बन्धित धितोपत्रधनी बाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र कारोबारको राफसाफ, फर्छ्यौट तथा नामासारी प्रक्रियालाई शिघ्र रुपमा सम्पन्न गर्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकारको विद्युतीय अभिलेख राख्ने जस्ता महत्वपूर्ण सेवा प्रदान गर्ने धितोपत्र बजारको महत्वपूर्ण पूर्वाधार हो ।

साधारण लगानीकर्ताहरु निक्षेप सदस्य (डिपोजिटरी पाटिसिप्यान्ट्स, डिपी) मार्फत यो प्रणालीमा आवद्ध हुन सक्छन् । बैंकहरुले नगद राख्न वा झिक्न खाता खोल्ने सुविधा दिएजस्तै डिपीले धितोपत्र राख्न वा झिक्नका लागि लगानीकर्ताहरुको नाममा खाता खोल्ने सुविधा दिन्छन् ।

धितोपत्र दलाल 

कमिसन लिएर लगानीकर्ताहरुका लागि धितोपत्र किनबेच गरिदिने कम्पनी सेयर दलाल हुन । यीनीहरु स्टक एक्सचेन्जका सदस्य हुन्छन । सेयर दलाललाई व्यवसाय गर्न इजाजत दिने कार्य नेपाल धितोपत्र बोर्डले गर्छ । स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड दुवैले दलालको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन गर्छन । हाल ५० सदस्य दलालले काठमाडौं उपत्यका भित्र कारोबार गरिरहेका छन् । विराटनगर, धरान, नारायणगढ, पोखरा, धनगढीमा पनि सदस्य दलालका रिमोट वर्क स्टेसनबाट कारोबार गर्न सकिन्छ ।

शेयर रजिष्ट्रार 

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

बजार निर्माता 

नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

धितोपत्र ब्यापारी 

प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

मर्चेण्ट बैंक

धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई प्राथमिक बजारमा धितोपत्र बिक्री गर्न सहयोग गर्ने कम्पनी मर्चेन्ट बैंकर हुन । यीनीहरुले धितोपत्र निष्कासन कार्य प्रबन्धको जिम्मा लिने, धितोपत्र बिक्री नभए आफैले खरिद गर्छु भनेर प्रत्याभुति गर्ने लगायतका कार्य गर्छन । यीनीहरुलाई व्यवसाय गर्न इजाजत दिने कार्य नेपाल धितोपत्र बोर्डले गर्छ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको अनुगमन गर्छ ।

स्रोतः नेप्से

यो पनि पढ्नु भयो ? 

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको