Like us!
Follow us!
Connect us!
Watch us!

निर्देशन उल्लंघन गर्ने १६ बैंकलाई राष्ट्र बैंकको कारबाही

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १३ : ०५ मा प्रकाशित

निर्देशन उल्लंघन गर्ने १६ बैंकलाई राष्ट्र बैंकको कारबाही

चालू आर्थिक वर्षको ९ महिनामा  नेपाल राष्ट्र बैंकले करिब डेढ दर्जन बैंकलाई कारबाही गरेको छ । तेस्रो त्रैमासम्ममा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा डेढ दर्जन बैंकलाई कारबाही गरेको हो । 

कारबाहीमा परेका बैंक मध्ये ११ वाणिज्य बैंक छन् । ५ वटा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । विकास बैंक मध्ये मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक कारबाही भएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज र सञ्चालकलाई ८० लाख जरिवाना

राष्ट्र बैंकले लक्ष्मी सनराइज साविकको (लक्ष्मी बैंक) को संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ । बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गरीरगराइ उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । 

उक्त कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरीरगराई भुक्तानी भएकाले राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनमा भएको व्यवस्था उल्लंघन भएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० बमोजिम राजेन्द्रकुमार खेतानलाई १० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।  बैंकलाई पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले ७० लाख रुपैयाँ जरिवाना गरेको थियो । तर, फेरि तेस्रो त्रैमासमा पनि यसले निमय उल्लंघन गरेको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जा घोटालामा एनएमबीका सीईओलाई सचेत

एनएमबी बैंकले सहुलियतपूर्ण कर्जामा घोटाला गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा अन्य प्रयोजनका लागि प्रवाह गरिएको पाइएको हो । उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइसकेको छ ।

उक्त कार्यविधि तथा बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) अनुसार सचेत गराइएको छ ।

बढी ब्याज लिएपछि एनआईसी एसियालाई कारबाही

ग्राहकसँग बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकको कारबाहीमा एनआईसी एसिया बैंक पनि परेको छ । पटक पटक फिर्ता गर्न निर्देशन दिए पनि नगरेको पाइएको भन्दै एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

निर्देशनविपरीत सिटिजन्सले बढायो प्रिमियमदर

सिटिजन्स बैंकले निर्देशनबमोजिम कर्जासापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको तथा प्रिमियमदरमा निर्देशनविपरीत पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललाई राष्ट्र बैंकले सचेत गराएको छ ।

बढी ब्याज असुल्ने ग्लोबल आईएमई पनि कारबाहीमा

ग्लोबल आईएमई बैंकले व्यवस्थाविपरीत प्रिमियमदर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न दिइएको निर्देशन कार्यान्वयन नगरेको राष्ट्र बैंकले जनाएको छ ।

निष्क्रिय कर्जाहरुलाई समेत पुनः तालिकीकरण तथा पुनर्संरचना गरी सक्रियमा वर्गीकरण गरेको पाइएकाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई नसिहत दिइएको छ ।

नबिलले उठायो कर्जामा १.५ प्रतिशत बढी एडिसनल रिक्स प्रिमियम

राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा २ (क) बमोजिम नबिल बैंकको सञ्चालक समितिलाई सचेत गराइएको हो ।

राष्ट्र बैंकले गरेको अनुगमनमा नियमविपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा एडिसनल रिक्स प्रिमियमस्वरुप अतिरिक्त असुल गरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पति गणना नभएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा ऋणको प्रशासनिक शुल्क लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको लगायतको गतिविधि गरेको पाइएको हो । 

प्रभु बैंकका सीईओलाई सचेत

प्रभु बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको, प्रिमियमदर वृद्घि गरी व्याज असुलउपर गरेको नियमनका क्रममा देखिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पूँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा व्यवस्थाविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराइएको हो ।

यता सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशन पालना नगरी उल्लङ्घन गरेको भन्दै सो बैंकको सञ्चालक समितिलाई समेत सचेत गराइएको छ ।

निर्देशन उल्लंघन गर्ने प्राइम कमर्सियल कारबाहीमा

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने प्राइम बैंक पनि कारबाहीमा परेको छ ।

कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, जोखिमभारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा बैंकको २०७८ चैत महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेको पाइएपछि प्राइमका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले पनि पालना गरेन आधा दर्जन निर्देशन

कुमारी बैंकले पनि निर्देशनविपरीत आधा दर्जन काम गरेको देखिएको छ । कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, हुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ विपरीत ब्याज अनुदान दिएकाले कुमारीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

हिमालयनलाई साढे १ करोड ६७ लाख बढी जरिवाना

हिमालयन बैंकले पटक पटक राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको पाइएको छ । २०८० बैशाखमा यो बैंक कर्जा निक्षेप अनुपात कम नगरेको भन्दै कारबाहीमा परेको थियो । पहिलो त्रैमासमै कारबाहीमा परेको यस बैंकले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।

इन्भेस्टमेन्ट मेगाका सीईओलाई सचेत

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी बेनिफिसियरीबाट बैंकले ४१ करोड ३६ लाख बराबरको बिल खरिद गरी कर्जा सापटमा देखाएको छ ।

सो प्रतितपत्रको परिपक्व हुने समय बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत मसान्तसम्म एभरग्रीन गरी असल कर्जाकै रुपमा देखाएको पाइएको छ । यस्तै आधारदर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्ववापतको खर्चलाई समेत समावेश गरी आधारदर गणना गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । पूँजी कोष गणना गर्दा केही कर्जाहरुको जोखिमभारित सम्पत्तिलाई कम देखाइ पूँजी कोष गणना गरेको छ। यस्तो नगर्न नगराउन बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

यस्तै,चार वटा विकास बैंक पनी राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।  मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको