Like us!
Follow us!
Connect us!
Watch us!

अर्घाखाँची सिमेन्टले आइपिओ निष्काशन गर्ने ,बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १५ : २२ मा प्रकाशित

अर्घाखाँची सिमेन्टले आइपिओ निष्काशन गर्ने ,बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

वार्षिक ७ अर्ब रुपैयाँको कारोबार गर्दै आएको अर्घाखाँची सिमेन्टले चुक्ता पुँजीको १२ प्रतिशत आइपिओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब छ भने रिर्जभ ४ अर्ब रुपैयाँ छ । कम्पनीले प्रिमियम वा बुक बिल्डङ प्रणालीमार्फत् आइपिओ निष्काशन गर्ने भएको हो।

चुक्ता पुँजी बढाएर सेयर संख्या बढाउने वा कम सेयर संख्यामै आइपिओ निष्काशन गर्ने सम्बन्धमा छलफल भइरहेको कम्पनीका अधिकारीहरुले बताएका छन् । यसो गर्दा कम्पनीले कम्तिमा १२ लाख कित्तादेखि बढीमा ३६ लाख कित्तासम्म आइपिओ निष्काशन गर्ने देखिएको छ ।

सन् २०१९ मा पौने १० अर्ब रुपैयाँसम्मको कारोबार गरेको अर्घाखाँची सिमेन्टको ब्यापार त्यसयताका वर्षहरुमा केही घटेको छ । कोरोना महामारी, अर्थतन्त्रमा देखिएको संकुचन र कम्पनीहरुबीचको प्रतिस्पर्धाका कारण कम्पनीको ब्यापार घटेको हो ।

सन् २०१८ मा ५ अर्ब ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०१९ मा ९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ, २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँ, २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ र २०२२ मा ७ अर्ब ७० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीमा विभिन्न ८ जना व्यक्तिको स्वामित्व छ । सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत हिस्सा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको