Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा, कामिरीताको नयाँ विश्व कीर्तिमान

बुधबार, ०२ जेठ २०७५, १९ : ५३ मा प्रकाशित

एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा, कामिरीताको नयाँ विश्व कीर्तिमान

अर्थ संसार, सल्लेरी, सोलुखुम्बु–सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन आज मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए ।” सम्र्पक अधिकृत श्रेष्ठले भन्नुभयो, “तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।”

कामिरीताको नयाँ विश्व कीर्तिमान

आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्र्पक अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोड्नुभएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको