Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामा ८ सहकारी समस्याग्रस्त घोषणा

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १४ : १९ मा प्रकाशित

नौ महिनामा ८ सहकारी समस्याग्रस्त घोषणा

सरकारले चालु आर्थिक बर्षमै ८ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको सिफारिसमा सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारी संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरेको हो ।

गत चैतमा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै समस्याग्रस्त घोषणा हुने संस्थाको संख्या २० पुगेको छ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक करीब ५ हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलेको यो सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सरकारले यसलाई पनि संकटग्रस्त घोषणा गरेको हो ।

गत फागुनमा दुईवटा सहकारीलाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो ।  लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । 
लालीगुराँस सहकारीका सञ्चालकले बचतकर्ताको ६ अर्ब निक्षेप दुरुपयोग गरेको सहकारी विभागको अनुगमनले देखाएको थियो । सर्वसाधारणको पैसा फिर्ता नभएको र सञ्चालकले विभिन्न निजी कम्पनीमा लगानी गरी दुरुपयोग गरेको विभागको ठहर छ । कान्तिपुर सेभिङका ११ सञ्चालकविरुद्ध प्रहरीले आठ सय ५० बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा २७ फागुनमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थीयो । उनीहरूको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ ठगी भएको आरोप छ । 

गत माघमा पनि दुईवटा सहकारीलाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । ११ माघमा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र २८ माघमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । नयाँ कृषि सहकारीले ३६ जना बचतकर्ताको चार करोड ९२ लाख रकम फिर्ता नगरेपछि विभागले सहकारीका सञ्चालकलाई स्पष्टीकरण सोधेको थियो । १५ दिनको समय दिए पनि जवाफ नआएपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । 

यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यको एक अर्ब ५४ करोड ७५ लाख रकम हिनामिना गरेको छ । प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिका नाममा सञ्चालित ४३ कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको सिआइबीले जनाएको छ । 

यी हुन् समस्याग्रस्त २० सहकारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म कुबेर बचत तथा ऋण सहकारी, स्ट्याण्डर्ड मल्टिपर्पोज को(अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेण्टल को(अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

यस्तै, हालसम्म कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपती सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्धेशिय सहकारी, हाम्रो नयाँ कृषी सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को(अपरेटिभ, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी र श्री लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरिसकेको छ । यी सहकारीको कुल ५ अर्ब बढी बचत रकम रहेको छ ।

सहकारी स्वनियमन र सुशासनमा चल्नुपर्ने संस्था हुन् । सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा हुँदा ठगी बढ्दा उनीहरू उनुत्पादक क्षेत्रमा लगानी गर्न लालायित भइरहेका छन् । फलस्वरूप सहकारीहरू समस्या पर्ने गरेका छन् । ऋण तथा बचत सहकारीमा बढी समस्या देखिएको छ । नियमन र सुशासनको अवस्था कमजोर भएरै कतिपय सहकारीमा समस्या देखिने गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको