Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा आलु महोत्सव शुरु

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, ०७ : ५१ मा प्रकाशित

पोखरामा आलु महोत्सव शुरु

पोखरामा १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव आइतबारदेखि सुरु भएको छ ।

‘सुन्दर ठाउँ हेम्जा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए । उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको उल्लेख गरे ।

प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेम्जाको सिंचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुर्ननिर्माणलाई जोडेर पठाएको उल्लेख गरे । उनले भने, "साझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बहुवर्षेमा परेको छ, अगामी वर्ष करिव २८ अर्वका योजनाहरु महानगरमा लागु हुँदैछन्, सुईखेत डुवान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ ।"

महानगर प्रवक्ता समेत रहेको पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको स्पष्ट पारे । उनले बहुउद्देश्यीय भवन निर्माणको खुशीयाली साट्दै हेम्जाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेम्जाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे । आलुका परिकारलाई मूल्य शृङखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

महोत्सव अघि स्थानीय माईस्थानबाट बाजागाजा सहित सयौं हेम्जावासीको सहभागितामा शोभा यात्रा एवम् झाँकी र्याली निकालिएको थियो । र्याली  मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगी टुङ्गिएको थियो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।

महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ । महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्था गरिएको छ । हेम्जा क्षेत्रमा मात्रै करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ भने करिव १५ करोडको आलु बिक्रीवितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाको तथ्यांक छ । महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको