Like us!
Follow us!
Connect us!
Watch us!

समस्याग्रस्त वित्तीय संस्थाद्वारा सवा ७७ करोड निक्षेप फिर्ता

सोमबार, २६ भदौ २०७४, १० : ०७ मा प्रकाशित

समस्याग्रस्त वित्तीय संस्थाद्वारा सवा ७७ करोड निक्षेप फिर्ता

खराब कर्जा झन् बढ्यो, सवा २ अर्ब निक्षेप फिर्ता हुन बाँकी

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थाले एक वर्षमा सर्वसाधारणको सवा ७७ करोड रुपैयाँ निक्षेप फिर्ता गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७३/७४ मा समस्याग्रस्त वित्तीय संस्थाले सर्वसाधारणको ७७ करोड ३२ लाख रुपैयाँ निक्षेप फिर्ता गरेका हुन् । ती संस्थाहरूले अझै २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा निक्षेप फिर्ता गर्न बाँकी छ ।

अघिल्लो वर्ष फिर्ता गर्नुपर्ने निक्षेप ३ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ रहेको थियो । समस्याग्रस्त संस्थाहरूको सूचीबाट दुईवटा संस्था हटेको तथा अन्य संस्थाले पनि कर्जा उठाउन सफल भएका कारण सर्वसाधारणको निक्षेप फिर्ता गर्न सफल भएको नेपाल राष्ट्र बैंकका निर्देशक झलक शर्माले बताए । समीक्षा अवधिमा समस्याग्रस्त संस्थाहरूले ८६ करोड ४८ लाख रुपैयाँ कर्जा उठाएका छन् ।

त्यस्तै ०७३ मंसिरमा राष्ट्र बैंकले अरुण फाइनान्स र जनरल फाइनान्सलाई समस्याग्रस्त संस्थाको सूचीबाट पनि हटाएको थियो । सोहीकारण आव ०७१र७२ मा ८ अर्ब ४७ करोड रहेको कर्जा ०७३र७४ मा ५ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ ।

खराब कर्जा झन् बढ्यो

समस्याग्रस्त वित्तीय संस्थाको खराब कर्जा (एनपिएल) झन् बढेको छ । पछिल्लो एक वर्षयता समस्याग्रस्त ९ वित्तीय संस्थाको औसत खराब कर्जा १.३९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा समस्याग्रस्त वित्तीय संस्थाको खराब कर्जा ९८.६९ प्रतिशत पुगेको छ ।

आव ०७२/७३ मा ती संस्थाको औसत खराब कर्जा ९७.३ प्रतिशत रहेको थियो । अझ ०७१/७२ मा समस्याग्रस्त संस्थाको खराब कर्जा ८८ प्रतिशत मात्र रहेको थियो । समस्याग्रस्त संस्थाबाट असल कर्जा उठ्दै गएपछि खराब कर्जा बढी देखिएको राष्ट्र बैंकका निर्देशक झलक शर्मा आचार्यले बताए । ‘राम्रा कर्जा उठ्दै जाँदा खराब कर्जा मात्रै बढी देखिएको हो,’ उनले भने, ‘यो स्वाभाविक अवस्था र प्रक्रिया हो ।’

एक वर्षमै साढे ९ हजार खाता बन्द

उक्त अवधिमा समस्याग्रस्त ८ वित्तीय संस्थाका ९ हजार ३ सय ४७ वटा खाता बन्द गरिएका छन् । असार ०७३ मा समस्याग्रस्त वित्तीय संस्थामा १ लाख ४ हजार २४ वटा खाता रहेका थिए । ०७४ असार मसान्तसम्म आइपुग्दा ती संस्थामा ९४ हजार ६ सय ७७ वटा खाता बाँकी रहेका छन् ।

६ वित्तीय संस्था फुकुवा हुँदै

राष्ट्र बैंकले ६ वटा वित्तीय संस्थालाई समस्याग्रस्तबाट फुकुवा गर्ने भएको छ । ती संस्थाको व्यवस्थापन परिवर्तन हुने भएपछि समस्याग्रस्तबाट फुकुवा गर्ने तयारी गरेको आचार्यले जानकारी दिए । फुकुवा हुन लागेका संस्थाहरूमा कुबेर मर्चेन्ट फाइनान्स, वल्र्ड मर्चेन्ट फाइनान्स, ललितपुर फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स रहेका छन् । नयाँ पत्रिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको