Like us!
Follow us!
Connect us!
Watch us!

लघु जलबिद्युत स्वच्छ विकास संयन्त्रलाई अन्तर्राष्ट्रिय अवार्ड

विहीबार, २८ बैशाख २०७४, १५ : २६ मा प्रकाशित

लघु जलबिद्युत स्वच्छ विकास संयन्त्रलाई अन्तर्राष्ट्रिय अवार्ड

अर्थ संसार 
काठमाडौं– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रवद्र्घन गरेको लघु जलबिद्युत स्वच्छ बिकास संयन्त्र आयोजनाको ”नवीन परिणाममा आधारीत लगानी” तर्फ एक अन्तराष्ट्रिय पुरस्कारद्घारा पुरस्कृत भएको छ ।

संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धि ढाँचा महासन्धि अन्तर्गत दर्ता भएको यो आयोजना ग्लोबल पार्टनरसिप अन आउटपुट बेस्ड एड बाट सन् २०१६ को महत्वपूर्ण अर्वाडद्घारा पुरस्कृत भएको हो । बिश्व बैंक अन्तर्गत रहेको जिपिओबिए सन् २००३ मा बिभिन्न दातृ निकायबाट स्थापना भएको कोष हो । यो पुरस्कार वार्षिक रुपमा प्रदान गरिन्छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयमा विहिवार आयोजित कार्यक्रममा नेपाल स्थित विश्व वैकका निर्देशक टाकुया कामाताले विश्व वैंकको तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताललाई प्रदान गर्नुभयो ।

लघु जलबिद्युत आयोजनाहरुको स्थापना मार्फत् नेपालका ग्रामिण क्षेत्रमा विस्तारीत विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको र यो परिणाममा आधारीत लगानीको नवीन कार्य भएकोले केन्द्रलाई पुरस्कृत गरीएको हो ।

पुरस्कृत यो स्वच्छ बिकास संयन्त्र आयोजनामा नेपालको ग्रामिण क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् नेपाल सरकारको नवीकरणीय अनुदान नीति अन्तर्गत निर्मित कुल करीब १५ मेगावाट क्षमताका ४ सय ५० वटा लघु जलबिद्युतलाई संयोजन गरीएको छ । यो स्वच्छ बिकास संयन्त्र आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धि ढाँचा महासन्धिमा दर्ता भएको हो ।

आयोजनाबाट हालसम्म ४३३ वटा लघु जलबिद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई १ लाख ३३ हजार १५४ ग्रामीण घरधुरीमा बिद्युतको पहुँच पुगेको छ । बिश्व बैंकको सहयोगमा दर्ता भएको यस आयोजनाबाट स्थानिय क्षेत्रमा उद्यमशिलता र आथिक क्रियाकलापहरु मार्फत् रोजगारीका तथा आयआर्जनका अवसरहरु सृजना भई गरीवी निवारण र जिवनस्तरमा सुधार ल्याउनुका साथै प्रत्यक्ष रुपमा शिक्षा, लैङ्गिक समानता, महिला शशक्तिकरण, स्वास्थ्य तथा वातावरण संरक्षणमा योगदान पुगेको छ ।

यस केन्द्रको अध्ययन अनुसार एउटा लघु जलबिद्युत आयोजनाले निर्माणको चरणमा औषत ४६ जना तथा आयोजनाको निर्माण सम्पन्न भएपछि तथा आयोजना संचालन गर्न औषत ३ जनालाई रोजगारी प्रदान गरेको छ । साथै यस आयोजनाको कार्यान्वयन पश्चात त्यहाँका उपभोक्ताको बचतमा बृद्घि भएको, बिद्युतको उपयोगमा बृद्घि भई उज्यालो पार्न चाहिने खर्चमा कमि आएको, समयको बचत भई अन्य आय मुलक कार्यको लागि समय भएको तथा आय आर्जन गर्ने खालका परिप्रयोग प्रवद्र्घनमा  बृद्घि भएको देखिएको छ ।

कार्बन उत्सर्जन न्यूनीकरणबाट मात्रै ६ लाख ५० हजार डलर आम्दानी


यस आयोजनाबाट हुने कार्बन उत्सर्जन न्युनीकरण बिक्रीका लागि बिश्व बैंकसँग सम्झौता भएकोमा हालसम्म ९३,४३७ टन प्रमाणीत उत्सर्जन न्युनीकरण जारी भई सो को बिक्री बाट करीब ६ लाख ५० हजार अमेरीकी डलर आम्दानी प्राप्त भई सकेको छ । 

जलवायु परिवर्तन सम्बन्धि क्योटो अभिसन्धिको प्रावधान अनुरुप यस केन्द्रले हाल सम्म बायोग्याँसका पाँच, सुधारीएको पानी घट्टको एक, लघु जलबिद्युतको एक र सुधारीएको चुलोको एक गरी हालसम्म आठ वटा स्वच्छ बिकास संयन्त्र आयोजनाहरु दर्ता गराई सकेको छ  ।

जस अन्तर्गत हाल सम्म झण्डै २ लाख १६ हजार बायोग्याँस प्लान्ट, कुल १५ मेगावाट क्षमता बराबरका ४ सय ५० वटा लघु जलबिद्युत आयोजना, लगभग ३ हजार ४ सय सुधारीएको पानी घट्ट तथा २२ हजार सुधारीएको चुलो दर्ता भईसकेका छन् ।

कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले परम्मरागत ऊर्जाको खपतलाई कम गर्दे नवीकरणीय ऊर्जाको विकास र विस्तारमा सरकार कटिवद्ध रहेको वताउनुभयो । मन्त्रालयमा सचिव विश्वदेव ओलिले यस प्रकारका सवन्वयात्मक कार्यका लागि देशको केन्द्रिय स्तरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अझै महत्वपूर्ण भुमिका रहेको वताउनुभयो ।   

जलवायु परिवर्तन तथा कार्बनका गतिबिधिहरुलाई अघि बढाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सन् २०१० मा जलवायु तथा कार्बन ईकाई स्थापना भएको केन्द्रका कार्यकारी निर्देशक श्री राम प्रसाद धितालले बताउनुभयो ।

कार्यकारी निर्देशक धितालका अनुसार उल्लेखित आयोजनाहरुबाट हाल सम्म करीब १६ लाख ५० हजार टन कार्बन उत्सर्जन न्युनीकरण प्रमाणीत भई जारी भैसकेको र यस कार्बन व्यापार बाट कुल लगभग ७७ लाख ७२ हजार अमेरीकी डलर बराबर आम्दानी प्राप्त भई सकेको छ ।

 कार्यकारी निर्देशक धिताल अन्य नवीकरणीय ऊर्जा प्रबिधिहरुलाई पनि कार्बन आयोजनाका रुपमा बिकास गर्न अध्ययन भैरहेको तथा भविष्यमा आयोजनाबाट हुनै सबै उत्सर्जन न्युनीकरण बिक्रीका लागि बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुसँग छलफल भईरहेको बताउनुहुन्छ ।

नवीकरणीय ऊर्जा प्रबिधिहरु कार्बन आयोजनाको रुपमा दर्ता भई संचालन हुँदा समग्र नवीकरणीय ऊर्जा कार्यक्रमको दीगोपनामा सहयोग पुर्याउने भएकोले आगामी दिनहरुमा सबै नवीकरणीय ऊर्जा प्रबिधिहरुलाई क्रमशः कार्बन आयोजनाको रुपमा बिकास गरी कार्बन आम्दानी बढाउने तथा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकुलनमा सहयोग पुर्याउने नवीकरणीय ऊर्जा आयोजनाहरु कार्यान्वयन गर्न हरित जलवायु कोष जस्ता जलवायु परिवर्तन सँग सम्बन्धित बिभिन्न अन्तराष्ट्रिय कोष मार्फत श्रोत परिचालन गर्ने तर्फ केन्द्रले आवश्यक पहल गरीरहेको कार्यकारी निर्देशक धितालले जानकारी दिनुभयो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको