Like us!
Follow us!
Connect us!
Watch us!

‘गाडी र साडी बेचेर देश उँभो लाग्दैन’

आइतबार, २३ माघ २०७३, १८ : १३ मा प्रकाशित

‘गाडी र साडी बेचेर देश उँभो लाग्दैन’

अर्थसंसार
काठमाडौँ–एमालेका नेता घनश्याम भूसालले मुलुकमा गाडी र साडी विक्री गर्ने काममात्र भएकाले विकास हुन नसकेको बताएका छन् ।‘विदेशबाट आयात धेरै हुँदै आएको छ,’ उनले भने, ‘नेपालबाट विदेश पठाउने कुनै कुरा छैन । यसरी मुलुक कसरी विकास हुन्छ ?’

नेपाल अध्ययन केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा पुँजीवादको चरित्र : कम्युनिष्ट पार्टीहरुमाथि आलोचनात्मक टिप्पणी’ कार्यक्रममा भूसालले पुँजीवादको चरित्र विषयमा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नेता भुसालले माक्र्सवाद र लेनिनबादले दिने पूँजीको अवधारणाबारेमा धारणा राखेका थिए । उनले पुँजीको अनुत्पादक र दलाल चरित्रको बारेमा समेत विचार प्रस्तुत गरेका थिए । हाम्रो देशको अर्थतन्त्र अनुत्पादक भएको भन्दै उनले दलालहरु बढी भएको धारणा कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

एमाले नेता तथा अर्थशास्त्री डा. बिजय पौडेलले कार्यपत्रमाथि टिप्पणी गर्दै बैदेशिक लगानीबाट दलाल पूँजीवाद भित्रिएको धारणा ब्यक्त गरे । उनले एनसेलले कर नतिरेको उदाहरण दिँदै केही मानिसले निजी अस्पताललाई दलाल पुँजीवादी भनेर ब्याख्या गर्ने गरेको पाइए पनि सेवाका लागि खोलिएका अस्पतालाई दलाल भन्न नमिल्ने धारणा राखे  । सबैको उद्देश्य नाफा कमाउने रहेको बताउँदै उनले दलाल पूँजिवादले यसलाई अघि बढ्न नदिएको विचार व्यक्त गरे ।

वाम बुद्धिजिवी हरि रोक्काले कार्यपत्रमाथि टिप्पणी गर्दै एउटा व्यापारी एउटा मात्र व्यापारमा सिमित नभएको बताउँदै यस्तो प्रवित्तिको अन्त्य हुनुपर्ने धारणा राखे ।  प्रत्येक उद्योगलाई वर्क फोर्समेन्ट तरिकाले हेर्ने जरुरी रहेको धारणा व्यक्त गरे । ‘हामी डरलाग्दो अभावमा छौ । समायोजन खोज्छौँ, तर आकारमा ध्यान दिदैनौ’ उनले थपे ।

कार्यक्रममा नेकपा संयुक्तका नेता सुनिल मानन्धरले नेपाल सामन्ती युगबाट पुँजीवादी युगतिर प्रस्थान गरिसकेको बताए । उनले नेपालको अहिलेको पूँजीवाद अनुत्पादक र दलाल नै रहेको भन्ने कार्यपत्रको आसयमा सहमति व्यक्त गरे । नातावाद र पार्टीगत रुपमा सम्पत्ती कमाउने पार्टीका बारे पनि खोजी गर्न आवश्यक रहेको धारणा उनले राखे ।
 
यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले दुनियाँको अर्थशास्त्र बुझ्ने तर नेपालको समाजको अध्ययन गर्ने नचाहने प्रवृत्तिले नेपालको अर्थतन्त्र खस्किदै गएको विचार प्रस्तुत गरे । नेपालीहरु राष्ट्रियताको मामलामा कमजोर रहेको विचार पनि उनले ब्यक्त गरे ।

‘पूँजीवादी क्रान्ती भयो तर दलाल बढी हावी भए’, उनले भने, ‘यसलाई बदल्न समाजवादी क्रान्ती आवश्यक छ ।’ राष्ट्रिय लगानीलाई प्रात्साहन गर्न र अन्तर्राष्ट्रिय सहयोगलाई कम गर्न आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पूँजीको बारेमा जति पढ्यो त्यति ज्ञान बढ्दै जाने भन्दै सबैले यसबारे पढ्न आवश्यक रहेको बताए । उनले सबै कुरा विश्वव्यापिकरण भएको बताउँदै पूँजीवादबारे ब्यापक बहस आवश्यक रहेको धारणा राखे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको