Like us!
Follow us!
Connect us!
Watch us!

अलैँची रोप्ने चटारोमा किसान

रबिन दङगाल

सोमबार, ०९ असार २०७६, १५ : ०९ मा प्रकाशित

अलैँची रोप्ने चटारोमा किसान

अर्थ संसार, लमजुङ- मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो ।
बेंसीशहर नगरपालिका-१० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थालेका  हुन्  । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उनले गरेका छन् । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताए । 

खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त छन् । उनले २५ रोपनी क्षेत्रफलमा ३५ हजार अलैँचीको बिरुवा लगाइसकेको बताए । अझै ३०/३५ रोपनीमा ५० हजार बिरुवा रोप्नुपर्ने छ । साउनसम्म अलैँची लगाइसक्ने किसान गुरुङले बताए ।उनीहरु जस्ता अलैँची किसान यतिबेला सबै अलैँचीका बिरुवा रोप्नमा व्यस्त हुन्छन् । लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैँची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक एवं लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए । 

उनले भने , “प्रत्येक वर्ष जेठ महीनाबाट साउन महीनासम्म बिरुवा लगाउने गरिन्छ । बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको छ ।”

यसवर्ष प्रति नर्सरी बिरुवाको मूल्य पाँच रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा प्रति बिरुवा दुई रुपैयाँले कम भएको छ । जिल्लामा साउन्ने, जिर्मले, डम्बरशाही गोलशाही, रामशाही र भलाङे जातका बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । 

किसान ले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । एक हजार ५६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले रु पाँच करोड २५ लाख आम्दानी गरेको बताइएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको