Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक बृद्धिका लागि उत्पादक बढाउनु पर्ने विज्ञको सुझाव

मंगलबार, ११ माघ २०७३, ०९ : ३७ मा प्रकाशित

आर्थिक बृद्धिका लागि उत्पादक बढाउनु पर्ने विज्ञको सुझाव

अर्थ संसार
काठमाडौं–समावेशी आर्थिक वृद्धिका लागि उत्पादकत्व बढाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘समावेशी आर्थिक वृद्धि’ विषयक कार्यक्रमका सहभागीले स्रोतको समान वितरण तथा दक्षताको अभावमा आर्थिक विकास समावेशी हुन नसकेको धारणा राखे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समग्र आर्थिक क्षेत्रको आकार बढाएपछि मात्रै समावेशीतालाई समेट्नु उपयुक्त हुने बताए । उनले जागिरभन्दा उद्यममा आधारित अर्थतन्त्र बनाउन सरकारी योजनाहरु केन्द्रित हुनु पर्ने बताए । ‘जागिर आम्दानी गर्ने क्षेत्र होइन, त्यसैले सबैलाई उद्यमी बन्नतर्फ उत्पे्ररित गर्नुपर्छ’ उनले भने । त्यस्तै खाडी मुलुक, मलेसिया, जापान र कोरियाबाट फर्कने कामदारलाई नेपालमै अवसर र उपयुक्त तलबको व्यवस्था गर्नेतर्फ तयारी सुरु गर्नुपर्ने समय आइसकेको उनले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले समावेशीताको विषयलाई धेरै प्रचार गरिँदा पनि लगानीको माहोल सिर्जना गर्न समस्या हुन सक्ने धारणा राने । ‘कृत्रिम भयले वृद्धि दर अघि बढ्न नसकेको परिस्थिति छ’ उनले भने । वृद्धिलाई रोक्ने नीतिगत व्यवस्थाभन्दा वृद्धि दरलाई चलायमान र दीगो बनाउन नेपाल तयार हुनुपर्ने उनको भनाइ थियो । नेपालमा असमानता नबढे पनि संरचनागत परिवर्तन भने सुरु नभएको उनको दाबी थियो ।

एसियाली विकास बैङ्क (एडीबी)का देशीय निर्देशक केनिचि योकोयामाले नेपालले पूर्वाधार र जनशक्ति विकासमा लगानी गर्न सके समावेशिताको लक्ष्य भेटाउन सक्ने भनाइ राने । कम उत्पादकत्व भएका क्षेत्रबाट धेरै उत्पाकत्व हुने क्षेत्रमा जोड दिदैं संरचनागत परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो ।

योकोयामाका अनुसार कृषिलाई परम्परागत प्रणालीबाट उच्च मूल्यका वस्तु तथा सेवा उत्पादनतर्फ लैजान सके त्यसले गरीबी निवारण र समावेशी विकासमा ठूलो भूमिका खेल्ने छ । अहिले नेपाल राम्रा परियोजना बनाउन पनि नसक्ने र बजेट खर्च गर्न पनि नसक्ने अवस्थामा रहेको उनको भनाइ थियो ।

पूर्व अर्थसचिव तथा नयाँ शक्ति पार्टीका नेता रामेश्वर खनालले स्रोत उपलब्ध हुदाहुँदै असमानता कायमै रहेको धारणा राखे । उत्पाकत्व बढाउन पूर्वाधार विकास र प्रविधिको अवलम्बन आवश्यक बनिसकेको उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको