Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक परे धितोपत्र बोर्डको कारबाहीमा !

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १७ : २० मा प्रकाशित

हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक परे धितोपत्र बोर्डको कारबाहीमा !

अर्थ संसार, काठमाडौँ - सूचिकृत संगठित संस्था हिमालयन डिष्टिलरी लिमिटेडको पूर्व सञ्चालक रहिशा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेकाे छ । श्रेष्ठलाई एक वर्ष नपुग्दै शेयर बिक्री गरेको भनेर कारवाही गरिएको बोर्डले जनाएको छ ।

बोर्डले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको शेयर बिक्री गरेको तथा उक्त शेयर कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी  इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपालले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको तथा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सो को पूर्ण रूपमा पालना नगरेको तथा प्रणालीमा बिक्री आदेश प्रविष्ट गर्नु अघि उक्त कारोबार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएको सन्दर्भमा बोर्डले आवश्यक छानबिन गरी कारबाही गर्ने निर्णय गरेको हाे । 

हेर्नुस् बोर्डले गरेको कारबाही :

(१) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरूको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पचास हजार देखि पचहत्तर हजार रूपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था भएकोमा रहिशा शाह श्रेष्ठलाई पचहत्तर हजार रूपैयाँ जरिवाना गर्ने ।

(२) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रूपैयाँदेखि एक लाख पचास हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई एक लाख पचास हजार रूपैयाँ जरिवाना गर्ने ।

सूचिकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारबाही रहेको बाेर्डले जनाएकाे छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरूको न्यूनीकरण भई दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरूले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5f6b4268543eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको