Like us!
Follow us!
Connect us!
Watch us!

महामारीमा पनि अर्थतन्त्र उकालो : पुन

अर्थ संसार

आइतबार, १८ साउन २०७७, २१ : १० मा प्रकाशित

महामारीमा पनि अर्थतन्त्र उकालो : पुन

अर्थ संसार, काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताउनुभएको छ । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आव २०७६/७७ मा २.२८  प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धि भएको बताउनुभयो । 

संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उहाँको भनाइ रहेको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको जानकारी दिनुभयो । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुक ऋणात्मक अर्थतन्त्रको सिकार भएका बेलामा नेपालमा आर्थिक वृद्धि हुनु चानहुने नभएको उहाँको भनाइ छ । 

“कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्”, मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आज मन्त्री पुनले भन्नुभयो, “यस्तो अवस्थामा पनि ३।२ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलता हो ।” 

मन्त्री पुनले कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालयअन्तर्गत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गर्नुभयो । उहाँले लकडाउन अवधिभर ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत् आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिँचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्ले आफ्नै प्रस्तावमा जलविद्युत्सहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माण कार्य अगाडि बढाएको स्मरण मन्त्री पुनले गर्नुभयो । सोही कारण आव ०७६/७७ मा मन्त्रालयको वित्तीय प्रगति ७२.९१ तथा भौतिक प्रगति ७४.३२ प्रतिशत भएको उहाँले बताउनुभयो । 

मन्त्री पुनले राष्ट्रिय सङ्कटको अवस्थामा समेत धेरै उत्कृष्ट काम गर्न मन्त्रालय सक्षम भएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयको मनिटरिङमा पनि आफ्नो मन्त्रालय काम धेरै गर्ने ठूला पूर्वाधार मन्त्रालयमध्ये एक/दुई नम्बरमै रहेको उल्लेख गर्नुभयो । मन्त्री पुनले असामान्य अवस्थामा देखाएको स्पिरिटलाई सामान्य अवस्थामा कायम राख्दै चालू आवमा थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले प्रदेश–२, वाग्मती, गण्डकी र प्रदेश–५ यसै आवमा र कर्णाली र सुदूरपश्चिम आगामी आवभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने जानकारी दिनुभयो । मन्त्री पुनले कुनै पनि बहानामा विकास आयोजनाका काम रोक्न नहुन भन्दै व्यावहारिक, कानूनी, नीतिगत वा जनस्तरबाट आउने समस्याका कारण परियोजनामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो । राजनीतिक नेतृत्वलाई समयमै समस्याबारे जानकारी नहुँदा ढिलाइ हुनेमात्र नभई आयोजनाको लागतसमेत बढ्ने मन्त्री पुनको भनाइ थियो । 

मन्त्री पुनले सरकारले विसं २०८५ ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै सो अवधिमा जसरी पनि नेपालको कूल जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट बनाउनै पर्ने दृढता व्यक्त गर्नुभयो । लगानीकर्ता आकर्षित गर्ने, उनीहरुलाई सहुलियत दिनेदेखि नीतिगत सुधारका काम गर्नुपर्ने भए अहिल्यै भन्न र आवश्यक तयारी गर्न मन्त्री पुनले आग्रह गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको