Like us!
Follow us!
Connect us!
Watch us!

आफन्तकाे मृत्युकाे बहानामा पास लिएर यात्रु ओसार/पसार : अब यस्ता प्रयोजनका लागि मात्र पास पाइने

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १६ : ०७ मा प्रकाशित

आफन्तकाे मृत्युकाे बहानामा पास लिएर यात्रु ओसार/पसार : अब यस्ता प्रयोजनका लागि मात्र पास पाइने

अर्थ संसार, काठमाडौं – कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको समयमा सवारी पासकाे दुरुपयोग हुने क्रम बढ्दै गएकाे छ । 

विभिन्न बहानामा झुटा विवरणहरू पेश गरेर अनावश्यक व्यक्तिहरुले पास लिने गरेको पाइएको छ । पासको दुरुपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरुपयोगबारे आजदेखि कडाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

यसैगरी, पासको दुरुपयोग रोक्न अबदेखि मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । 

आज प्रशासनले विज्ञप्ति जारी गरी पास दुरुपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । 

सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरुपयोग हुन थालेपछि रोक्न लागिएको हो ।

लकडाउन अवधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो । 

त्यसैगरी, प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दुरुपयोग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको