Like us!
Follow us!
Connect us!
Watch us!

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

शुक्रबार, ०६ बैशाख २०७६, १७ : २३ मा प्रकाशित

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

अर्थ संसार, घोराही– गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो । 

उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो । उहाँले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाउनुभयो । 

सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु ।’ भन्दै सुन दिन मानेनन् । गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिनुभयो ।

उहाँको जाहेरी दरखास्तका आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ गर्यो । पक्राउ गरेसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना फलामको घर्रामा राखेको भेटियो ।

गुप्ताले लामो समयदेखि त्यहाँका मानिसका गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

“मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ”, शाहले भन्नुभयो “अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुनलगायतका सबुद प्रमाणको आधारमा गुप्ताविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।”

उहाँले गुप्तालाई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । बरामद भएका सुनका पोका अदालतको आदेशपछि मात्रै खोलिने हुँदा के कति छन् भन्ने बारेमा जानकारी नभएको बताइएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको