Like us!
Follow us!
Connect us!
Watch us!

स्मृति दिवस आजः नेपाली राजनीतिमा बीपीको योगदान महत्वपूर्ण

आइतबार, ०६ साउन २०७५, ०८ : २९ मा प्रकाशित

स्मृति दिवस आजः नेपाली राजनीतिमा बीपीको योगदान महत्वपूर्ण

अर्थ संसार, काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस  साउन ६ गते विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
राणाशासनविरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहनुभयो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालका विचारमा बी.पी. कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको मूर्धन्य नेता हुनुहुन्थ्यो । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गर्नुभएको र २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा लोकतन्त्र (प्रजातन्त्र) प्राप्तिपछि पनि त्यसको विकास, विस्तार र संस्थागत गर्ने काममा बीपी कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

बीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर (के.बी.) गुरुङले कांग्रेसले सत्तामा हुँदा बी।पी। लाई बिर्सने गरेको र सत्ताभन्दा बाहिर रहँदा उहाँको तस्बिरमा फूलमाला चढाउने कार्य मात्रै गरेको बताउनुभयो ।
बी।पी।लाई राजा महेन्द्रले आठ वर्षसम्म जेलमा राख्दा पनि पछि बी.पी.ले राजासँग राखेको सम्बन्ध, नेपालमाथि विदेशीले हस्तक्षेप गर्दा बी.पी.ले लिएको अडानको चर्चा अहिले किन हुनसक्दैन भनी प्रश्न गर्नुभयो ।

डा. सूर्यमणि अधिकारीद्वारा लिखित नेपाली कांग्रेसको इतिहासमा बी.पी. कोइरालाको नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो । राणाकालीन शोषणको सबैभन्दा बलियो जग बिर्ता प्रथा थियो । देशको कृषियोग्य भूमिको करिब ३६ प्रतिशत विर्तावालहरुको अधिनमा थियो ।

तराईमा बीरशम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरको परिवारको नाममा मात्रै तीनलाख ६३ हजार ३६९ विगाहा जमिन विर्ताको रूपमा थियो । ठूला विर्तावालहरुले सरकारलाई कर नबुझाई मोहीबाट प्राप्त कुतले यश आरामको जिन्दगी चलाइरहेका थिए ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका बीपी कोइरालाको वि।सं। २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो । वि।सं। २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरी बी.पी.कोइरालासहित अन्य नेताहरूलाई जेलमा राख्ने काम भयो । बी.पी. ले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा जीवन बिताउनु भएको थियो ।

नेपाली राजनीतिका साथै साहित्यलेखनमा क्रियाशील रहनुभएका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् । दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रह तथा उहाँको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।

भारतीयको स्वतन्त्रता सङ्ग्राममा सहभागी हुँदा बीपी त्यहाँ पनि जेल पर्नुभएको थियो । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता नेतासँग भारतीय नेताहरूसँग बी.पी.को निकट सम्बन्ध थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर भएको ठहर गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्किनुभयो । उहाँलाई सिधै जेलमा राखिएको थियो । त्यतिबेला उहाँले दिनुभएको ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ विवादमा पनि परेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको