Like us!
Follow us!
Connect us!
Watch us!

गाईलाई ५ सय सुत्केरी भत्ता

शुक्रबार, ०४ साउन २०७५, १३ : ४९ मा प्रकाशित

गाईलाई ५ सय सुत्केरी भत्ता

अर्थ संसार, रत्ननगर, चितवन– रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।

“अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्याउनुपर्ने हुन्छ” उहाँले भन्नुभयो ।

भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ ।

प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागेको हो ।

रत्ननगर नगरपालिका क्षेत्रमा करीब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताउनुभयो ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ, भन्ने अनुमानले करीब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उहाँको भनाइ थियो ।

यसका लागि रु ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिनुभयो । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताउनुभयो ।

“यो रकमले केही हुने त होइन तर पनि सम्बोधन गर्यो, सम्झ्यो भन्ने हुन्छ नी,” उहाँले थप्नुभयो । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिननसक्दा धेरै व्यवसायी पलायन भइरहेको समेत किसान भुषालले बताउनुभयो ।
रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आउनुभएका डोलबहादुर बस्नेतको दुईवटा गाई ब्याउने छन् । “अब गाई ब्याउने वित्तिकै खबर गर्छु,” उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो । रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउने छन् ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिनुभयो ।
रत्ननगमा प्रति लिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर रु एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ ।

यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले रु आठ लाख अनुदान वितरण गरेको जनाएको छ ।  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको