Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको लाख डलर बराबरको सेयर नेपाल हाउस प्रोजेक्टलाई

शुक्रबार, ०४ साउन २०७५, ०८ : ०० मा प्रकाशित

सगुनको लाख डलर बराबरको सेयर नेपाल हाउस प्रोजेक्टलाई

अर्थ संसार, लन्डन - सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको सेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।

सो सम्बन्धि सम्झौतापत्र (एमओयू) सोमबार अल्डरसटमा आयोजित एक कार्यक्रमबीच आदानप्रदान भएको हो। सम्झौतामा वर्तमान शेयर भ्यालु अनुसार सगुनले ४ हजार ३४७ कित्ता शेयर एनआरएनए यूकेलाई दिनेछ।

सम्झौतापत्रमा सगुनका तर्फबाट संस्थापक एवं सिइओ गोविन्द गिरी र सहसंस्थापक कविन्द्र सिटौला तथा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्यबहादुर गुरुङको हस्ताक्षर गरेका छन्।

गत सातामात्र दश लाख डलर शेयरको सगुन फाउण्डेशन स्थापना गरेको उक्त स्टार्ट अप कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एनआरएनए यूकेले अघि सारेको नेपाल हाउस प्रोजेक्टलाई दिने सम्झौता गरेको हो। सगुनको यस्तो घोषणापछि एनआरएनए यूकेको महत्वाकांक्षी योजनाले मुर्तरुप लिने अपेक्षा गरिएको छ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं सगुन यूके सल्लाहकार सूर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समक्षदारीपत्र आदानप्रदान गरेका थिए।

सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ बिलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्ने संस्थाको विश्वास छ।

कार्यक्रममा सगुनका सल्लाहकार सूर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउँदा खुशी व्यक्त गरे।

सगुनले नेपाल हाउस प्रोजेक्टका लागि निशर्त रुपमा यो सहयोग दिएको स्पष्ट पार्दै सल्लाहकार गुरुङले बेलायतका नेपालीले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउन यस सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गरे।

कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख आरणले एनआरएनए यूके र सगुनबीच सुरु भएको सहकार्यले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे।

लगानीको समयसीमा थोरै बाँकी रहँदा सगुनलेअहिले अन्तिम पटक लगानीको आव्हान गरिरहेको छ। सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ सम्ममात्र छ।

सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पाँच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पाँच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको कम्पनीले जनाएको छ। लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ। कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको