Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगीले मागे अर्थमन्त्रीसँग भ्याट छुट

सोमबार, ३२ असार २०७५, ११ : १७ मा प्रकाशित

उद्योगीले मागे अर्थमन्त्रीसँग भ्याट छुट

अर्थ संसार, काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा युवराज खतिवडासँग साना तथा मझौला उद्यमी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या तथा महिला उद्यमशीलता विकास कोषको रकम वृद्धिलगायत गुनासो गरेको छ ।

महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले साना व्यवसायीलाई मूअकमा अनिवार्य दर्ताबाट पर्न गएको समस्या समाधानका लागि आग्रह गर्यो । शृङ्गार  र सिलाइकटाइ जस्ता ससाना व्यवसायलाई अनिवार्य मूअकमा दर्ताको व्यवस्थाबाट यी पेशा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले पुनःविचार गर्न आग्रह गरिएको महासंघले जनाएको छ ।

प्रतिनिधिमण्डलले सो व्यवसायमा सीमाका आधारमा मूअकमा दर्ता गर्ने व्यवस्था गराउन सुझाव दिएको थियो । प्रतिनिधिमण्डलले अर्थमन्त्रीसमक्ष घरेलु तथा साना उद्योग विभागअन्तर्गत सञ्चालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको मागसमेत वृद्धि भइरहेका सन्दर्भमा नयाँ बजेटले कोषको रकम कटौती गरेका तर्फ चिन्ता प्रकट गर्दै कोषको रकम वृद्धि गर्न आग्रह ग¥यो ।

जवाफमा अर्थमन्त्री डा खतिवडाले महासंघबाट ससाना व्यवसायलाई अनिवार्य मूअकमा दर्ता हुने व्यवस्थामा पुनःविचार गर्न गरिएको आग्रह, समस्या तथा सुझावमा मन्त्रालयले सक्दो ध्यान दिने आश्वासन दिनुभयो ।

उहाँले निश्चित समयका लागि महिला उद्यमशीलता विकास कोषका लागि मागअनुसारको रकम थप गरी महिला उद्यमीलाई ऋण प्रवाहमा सहयोग गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा महिला उद्यमीबाट सञ्चालन हुने परियोजनामा आधारित रु १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्ने प्रावधान पनि क्रमशः कार्यान्वयन गर्दै जाने विश्वास दिलाउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको