Like us!
Follow us!
Connect us!
Watch us!

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

आइतबार, ३१ असार २०७५, १४ : ०९ मा प्रकाशित

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

अर्थ संसार, काठमाडौँ– उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।

उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आजदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “प्रशिक्षणले सडक सभ्यताको विकास हुनाका साथै सडक दुर्घटनामा कमी आउनेछ”, उहाँले भन्नुभयो ।

महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ । उक्त टोलीले बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सडकमा बसेर प्रशिक्षण दिनेछ ।

महाशाखाले नयाँ सडक द्वार, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नागस्थान र नयाँ बसपार्कमा आकाशे पुलको प्रयोग गर्न यात्रुलाई आग्रहसमेत गरेको छ ।

यसअघि महाशाखाले २०७४ जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने यात्रुलाई रु २०० जरिवाना लिँदै आएको थियो । जरिवाना लिएको केही समयपछि यात्रुको चौतर्फी आलोचना र तत्कालीन गृहमन्त्रीले तत्कालका लागि जरिवाना नलिन निर्देशन दिएपछि महाशाखा उक्त निर्णयबाट पछि हटेको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको