Like us!
Follow us!
Connect us!
Watch us!

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

बुधबार, १३ पुस २०७३, १२ : ३८ मा प्रकाशित

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

काठमाडौं –नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् । सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् ।

व्यक्तिगत वा व्यावसायिक

कामले विदेश गइरहने प्रयोगकर्ताले अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन । अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ । ‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने ।

छोटो समय विदेश रहँदा उपयुक्त

कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ । यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ । कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन् ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ । नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ । तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ । यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन् । खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन् ।

महसुल दरमा प्राधिकरणको चासो छ

मीनप्रसाद आर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो समय अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनेहरू बढेका छन् । तर, महसुल अत्यधिक हुने भएकाले सीमित सेवाग्राहीले मात्रै सेवा उपभोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय रोमिङको महसुल दरमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय रोमिङमा सक्दैन । अन्तर्राष्ट्रिय रोमिङको महसुल दर सम्बन्धित दुई मुलुकका सेवाप्रदायकबीचको सम्झौताअनुसार तय हुन्छ । यसमा हामीले हाम्रो लोकल सेवा प्रदायकलाई नाफा बढी नराख्न सचेत गराउने गरेका छौँ । रोमिङको महसुलमा प्राधिकरणको चासो अधिक छ ।

७२ देशमा टेलिकमको रोमिङ

नेपाल टेलिकमले सन् २००३ मा भारतको मुम्बईबाट सुरु गरेको अन्तर्राष्ट्रिय रोमिङ सेवा अहिले ७२ वटा मुलुकमा उपलब्ध छन् । यसका लागि टेलिकमले ती मुलुकका २ सय ४५ वटा सेवाप्रदायकसँग सम्झौता गरेको छ । हाल कम्पनीले आफ्ना पोस्टपेड ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै आएको सहायक प्रवक्ता सोभन अधिकारीले बताए ।

११० देशमा एनसेलको रोमिङ

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको अन्तर्राष्ट्रिय रोमिङ सेवा ११० मुलुकमा उपलब्ध छन् । यसका लागि कम्पनीले ती मुलुकका कुल ३३८ वटा सेवाप्रदायकसँग सम्झौता गरेको छ । कम्पनीले रोमिङको दायरा बढाउँदै लगेको र दरलाई घटाउँदै लगेको एनसेलका कम्युनिकेसन एक्स्पर्ट मिलनमणि शर्माले बताए ।

के हो अन्तर्राष्ट्रिय रोमिङ ?

कुनै एक मुलुकमा रहेको टेलिकम कम्पनीको सिम ९नम्बर० अन्य मुलुकमा रहेको सेवा प्रदायकको नेटवर्कमा समेत चल्न सक्ने सुविधा अन्तर्राष्ट्रिय रोमिङ हो । उदाहरणका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएपछि नेपाल टेलिकम वा एनसेलका सेवाग्राहीले आफूले प्रयोग गरिरहेको नम्बर अर्को देशमा रहेको अन्य सेवा प्रदायकको नेटवर्कमा समेत चलाउन सक्छन् । 

रोमिङले यात्राका क्रममा जुन मुलुकमा पुगे पनि ‘वायरलेस सेवा’ विनाअवरुद्ध नेटवर्कमा आबद्ध भइरहने र भ्वाइस, एसएमएस र डाटा सेवा लिन सक्ने प्रत्याभूति दिन्छ । यसका लागि सम्बन्धित मुलुकका सेवाप्रदायकबीच अन्तर्राष्ट्रिय रोमिङको सम्झौता हुन्छ । रोमिङ इनवाउन्ड र आउटवाउन्ड गरी दुई किसिमको हुन्छ । नेपालका सेवाग्राहीले यहाँ प्रयोग गरिरहेको नम्बर विदेशमा गएर त्यहाँको नेटवर्कमा प्रयोग गर्नु आउटवाउन्ड रोमिङ हो । त्यस्तै, विदेशका मोबाइल प्रयोगकर्ताले त्यहाँको नम्बर नेपालमा आएर प्रयोग गर्नु इनवाउन्ड रोमिङ हो ।

कृष्ण रिजाल र नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको