मङ्गलबार, १५ चैत २०७३, १९ : २९
‘मरेकी’ आमासँग जम्काभेट
सोमबार, ११ पुष २०७३


आज एसएलसी सकिएको छ । अब घर जादैछु   । मेरो आफ्नो घर । जहाँ मैले ८ बर्षसम्म लुकामारी खेलेको छु ।  मेरो प्यारो जन्मघर, जहाँ मेरो बाबा हुनुहुन्छ ।  उहाँले एक्लै दिनरात मेरै लागि मेहनत गर्दै आउनु भएको छ । आमा बितेदेखि उहाँले अर्को बिहे पनि त गर्न सक्नुहुन्थ्यो । मेरो हेरचाहमा कमी होला भनेर उहाँले अर्को विवाह गर्नुभएन । आज म १८ बर्षको भएर आफ्नै घर जाँदैछु। कठिन होस्टल जीवनलाई सधैंका लागि छोडेर ।

बाबा मलाई लिन आउनुभयो । गुलाबको फूलजस्तै खुशीलाई आँखाभित्रै अटाएर मेरो भब्य स्वागत गर्नु भयो । म उहाँको पछिपछि गृह प्रवेश गरेँ । बाबाले मलाई मेरो कोठा देखाइ दिनुभयो । लामो एकांगी जिवनपछिको मिलन । हामी बाबुछोरा बेलुका निकैबेरसम्म गफियौं । कलेज कहाँ पढ्ने ? अब के गर्ने ? यस्तै यस्तै बिषयमा केन्द्रीत थिए हाम्रा कुराकानी ।

बुवा पेशाले डाक्टर हुनुहुन्छ । उहाँ मलाई पनि त्यही बिषय पढाउन चाहनु हुन्थ्यो । मैले नतिजापछाडि मात्र अरु यसबारे सोचौंला भनेर यस कुरालाई अन्तै मोडिदिएँ । धेरै दिनपछि प्रवेश गरेको आफ्नो । त्यसैले होला राती मज्जाले निदाएछु । गर्मीको मौसम । बिहानपखको चिसोले निदाउन अझै सघाएछ । गहिरो निन्द्रामा रहेका बेला कताकता किचनबाट आएको भाँडाकुँडाको चर्को आवाजले मेरो मिठो निन्द्रालाई तिखो सियोलेझै घोचेर बिउँझाइदियो ।

सुतिरहन मन थियो अझै । बाबाले ब्रेकफास्ट रेडी गरेर टेबलमा रखिदिएको बताउनुभएपछि उठ्नै पर्ने भयो । उहाँले  हिड्ने बेलामा मलाई बोलाएर ‘बाबु † मेरो कोठामा साँचो  लगाएको छु,  नखोल्नु है’ भन्नुभयो ।  अल्छि गर्दै उठेँ र चाहारे आफ्नै घरआँगन । पल्लो घरकी माइली आन्टीलाई देखे । उहाँलाई ठम्याउन मलाई गाह्रो परेन । नमस्ते गरेँ। आन्टी छक्क पर्नुभयो । मलाई देखेर उहाँ आश्चर्यमा परेजस्तो गर्दै सोध्नुभयो, ‘तिमी शुभम् नै हौ त ?’
मैले उहाँको प्रश्नको उत्तर हाँसेरै दिएँ ।

‘राम राम † कत्रो अग्लो भएको ? आँखा त काटिकुटी आमकै जस्तो ।’
 
आन्टीको मुखबाट आएको आमा शब्दले म झस्किए ।
आमा । म ८ बर्षको हुँदा उहाँसँगै मामाघर जाँदै थिएँ । सिलिगुडीको रेल्वे स्टेशनबाट मलाई छोडेर हिन्नुभएको रे उहाँ । म त्यतिखेर बेहोस् अवस्थामा भेटिएको थिएँ रे । कुनै एउटा दन्त्य कथाजस्तै लाग्छ अहिले त्यो कुरा सम्झिदा ।  त्यसको ४ बर्षपछि उहाँको शव भेटिएको थियो रे । मैले बिछोडिएपछि उहाँको पार्थिव शरीरलाई समेत देख्न पाइन ।मेरो कलिलो मस्तिस्कमा ठूलै घाऊ भएको थियो त्यतिखेर । बुवाले दिनु भएको स्नेहको मलमले मेरो घाउमा खाटा बसेका थिए । आज त्यही खाटो फेरी माइली आन्टीले उप्काइ दिनुभयो ।

बिगतमा आमासँगको यादलाई दिनभरि आँखाका नानीबाट बगाउँदै विताएँ । बेलुकीतिर केही हल्का भयो । त्यसपछि गाउँ घुम्न बाहिर निस्किएँ । मेरो बल्यकालको साथी हरि भेटियो । निकै बेर गफियौं हामी । अनायासै उसले भन्यो, ‘तेरो घरमा कोहही महिला देखिन्छिन् रे कहिलेकही ।’ कहिले महिलाका कपडा पनि सुकाएको देखेको कुरा गर्छन् छिमेकीहरु ।’
मैले भने, ‘मेरो घरमा बुबाबाहेक को छ र ?’

‘हैन, कोही बाहिरकै महिला हो । आफ्न्तलाई गाउँलेले चिनिहाल्छन् नि । गाउँमा गाइँगुईं यस्तै चर्चा सुनिन्छ ।’
उस्ले यस्तो सुनाउँदै गर्दा मनमा अलिक उथलपुथल महुसुस भयो । चस्स काँडाले रोपेजस्तै  भयो । आखिर को होला मेरो घरमा कोही त्यस्तो महिला ?

बाबाले बिहे गर्नु भएको भए मलाई थाहा हुनु पर्ने । विहे गरेकै भए पनि यस्तो लुकाउनु पर्ने के छ र ? मेरो त्यसमा के गुनासो हुन्छ र ? उमेरकै हनुहुन्छ । अझै लामो जिन्दगी काट्नुछ । कोही जीवन साथीको खाँचो सबैलाई हुन्छ । म सधैंभरि साथ दिन सकुँला नसकुँला ? मैले दिने साथले बावाका हरेक आवश्यकताहरु पूरा गर्लान् भन्ने पनि त छैन । जिवन साथीबाट पाउने माया छोराबाट कहाँ पाउनु ?

मनमा यस्तै कुराहरु पोखरीमा डाइभ हानेजस्तै पौडनथे । हिजोसम्म घर पुग्न पाए मात्र हुन्थ्यो भन्ने थियो । आज भने अनेकौं कुराहरु मेरो मनमा अटेसमटेस गर्दै बस्न आईपुगे ।   मन अस्थिर भयो, नियन्त्रणमा ल्याउन गाह्रो हुने गरी  ।
बाबासँग यस बिषयमा खुलेरै कुरा गर्न चाहान्थे । उहाँ आफ्नै पेशामा ब्यस्त हुनु भएकाले कुरा गर्ने मौकै मिलिरहेको थिएन ।

 सधैं मेरालागि बिहानीको ब्रेकफास्ट अनि खानासमेत बनाएर उहाँ आफ्नो काममा निस्किनु हुन्थ्यो । बेलुकी उहाँ फर्कँदा लगभग ११ बजेको हुन्थ्यो । फर्केर पनि भान्छामा निकै बेर आल्मलिनुहुन्थ्यो । लुगा धोएको आवाज पनि कानमा पथ्र्याे । त्यसैले रातको समयमा उहाँसँग कुरा गर्ने खासै मौकै मिल्दैनथ्यो । काममा रहेका बेला भने उहाँ ‘मलाई फोन गरेर के खाँदै छौ ? के गर्दै छौ ? फलानो ठाउँमा पैसा छाडिदिएको छु’ भन्नुहुन्थ्यो । उहाँले फोन गरेका बेला यस्तो विषयमा प्रश्न गर्ने कुरा आएन ।  

एक दिन सधैझंै बिहानै उठेँ र भान्छामा ब्रेकफास्टका लागि गएँ ।  फ्रिज खोल्दा त्यहाँ   रगतजस्तै कुनै चिज लतपतिएको देखँे ।  के हो ? कहाँबाट आयो ? भन्ने कुनै अनुमानै गर्न सकिन । मलाई यसबारे जिज्ञासा लागिरह्यो । त्यसको समाधान कतैबाट निस्केन । त्यसको रहस्य पत्ता लगाउन मन लाग्यो ।

 बाबाले सधैं किन आफ्नो कोठाको ढोका लगाएर जानुहुन्छ ? उहाँ कोठाको साँचो मलाई किन छाड्नुहुन्न ? बिहान भान्छामा निकै बेर किन आल्मलिनु हुन्छ ? अनि राती लुगा सधैं आँफै किन धुनुहुन्छ ? लुगा कहाँ सुकाउनुहुन्छ ? फ्रिजमा देखिएको रगतजस्तै बस्तुले मेरो शंकाको घेरा फराकिलो पार्दै लग्यो । यसअघि साथी हरिले मलाई अझ रहस्य लाग्ने केही कुराहरु सुनाएकै थियो ।

मेरा मनमा अनगिन्ती प्रश्न उब्जिए, तिनको समाधानका लागि मैले आफैं लाग्नु पर्ने भयो । जतिजति म बुझ्न खोज्थें, त्यती नै बाबाले कुरा लुकाउन खोजेको अनुभव गर्थेँ । मैले उहाँको इच्छाविपरित कर गरेर कुनै कुरा खोल्न लगाउन सकिन ।    
 
एकदिन सधैंझै फ्रिज खोल्दा सानो कन्टेनरमा रगत रखिएको थियो । लाग्छ त्यो रगत बाबाले केही कुराको टेस्ट गर्न निकालेर राख्नुभएको हो । उहाँले तयसलाई लैजान  बिर्सिनुभएको पनि हुनसक्छ । त्यसमध्ये थोरै रगत मैले अर्को कन्टेनरमा खन्याएर ल्याबमा लिएर गएँ ।

त्यतिकैमा साथी हरिले मलाई चितवन घुम्न जान आग्रह गर्दै फोन ग‍र्यो । मैले पनि बाबासँग अनुमती लिएँ । हामी दुई भाई चितवन घुम्न गयौँ ।  गर्मी लागिसकेकाले तराईको त्यो रापिलो वातावरणमा लामो समय बस्नै मन लागेन ।  बाबासँग मैले १ हप्ताको बिदा लिएको थिएँ । यात्रा छोट्याएर तुरुन्तै फर्किने निधो गरें  ।
 
बाबालाई सरप्राइज दिने निधो गरेर नभनी फक्र्यौं ।  घर फर्किँदा विहानको १० बजेको थियो । सोचें अब घर सफा गर्छु । फेरि अस्ती टेस्ट गर्न दिएको रगतको रिपोर्ट कस्तो आयो होला भन्ने जिज्ञासा मनमा पलायो । त्यसपछि ल्याबतिर लागेँ ।

रगत टेस्टको रिपोर्ट माग्दा टेक्निसियनले ‘कस्को रगत हो’ भनेर सोध्यो ? मैले मेरो बाबाको भनेर ढाँटेँ ।  
‘यो रिपोर्टमा त एचआइभी पोजिटिभ देखिन्छ । के तपाईंलाई बुबालाई यस्तो रोग छ भन्ने थाहा थियो ?’
मलाई रगत कस्को हो भन्नेसम्म त थाहा थिएन । कसरी बाबालाई यस्तो रोग छ भनेर थाहा हुनु ?
मेरो उत्तरको प्रतीक्षा नगर्दै टेक्निसियनले भने, ‘नडराउनुहोस् । एचआइभी पोजिटिभ हुँदैमा  कोही मरिहाल्दैन । त्यतिकै यो रोग अरुलाई सर्दैन ।’

उसले थप्दै गयो, ‘बरु तपाईं उहाँलाई माया गर्नुहोस् ।’
मलाई मनमा चिसो पस्यो । मैले अघिसम्म अरु कसैको रगत ठानेर ल्यावमा टेस्ट गर्न ल्याएको थिएँ । त्यतिखेरसम्म मलाई उक्त रगतमा एचआइभीकै संक्रमण देखिएला भन्ने कल्पनासम्म थिएन । भयो उल्टो । घरमा अरु कोही नभएकाले मलाई त्यो बाबाकै रगत हुनु पर्छ भन्ने करिवकरिव निश्चय भयो ।

अब भने मेरो मुटु काम्दै थियो । आमा पहिल्यै गुमाई सकेको थिएँ । अब बाबा गुमाउनु पर्ने अबस्था आउन लागेको थियो । आँखा धमिलियो । पिडाले मलाई भनन्न रिङ्गटा लाग्यो. ।
कसोकसो सम्हालिएर घर आईपँुगे । अरुले ‘तेरो बुवाको अरु महिलासँग संगत छ’ भन्थे । आज त्यही करणले मेरो बाबा यस्तो गंभिर रोगको शिकार बन्नु भएको हो कि ? आफैं डाक्टर हुनुहुन्छ । उहाँले त्यस्तो गंभिर कुरा किन लुकाइरहनु भएको छ ?

म किन यसरी आत्तिएको हुँला ? त्यो रगत बाबाको नभएर अरु कसैको पनि त हुन सक्छ ? मनलाई शान्ता पार्न फेरि किचन सफा गर्न थाल्छु । बाबाको रूमबाट खस्याकखुसुक  आवाज आएजस्तो सुन्छु ।  सफा गर्दै जाँदा जुत्ता राख्ने ठाउँमा हात पुग्छ । त्यहाँ एउटा साँचो झरेको देख्छु । मेरा हातले तिनलाई टिप्छन् । केही नसोची बाबाको कोठातिर मेरा पाइला अगाडि बढ्छन् ।

सोचे यो पक्कै यही कोठाको साँचो हुनुपर्छ । आज रूम सफा गरि दिनुपर्यो । मलाई उहाँको  रुम कस्तो छ भन्ने हेर्न मन लगेको थियो । होस्टलबाट फर्किएदेखि उहाँले मलाई आफ्नो कोठाभित्र छिर्न अनुमति दिनुभएको थिएन ।  साँचो खोलें । रूम सफा थियो । बेड मिलाएर राखिएको थियो ।

त्यहाँ मिलाउनु पर्ने केही थिएन । अचम्म त के थियो भने रूमभित्र अर्को ठूलो रूम थियो । त्यो रुम खुल्लै थियो । म त्यो अर्को रुमतिर अगाडि बढेँ । रहस्यमय कथामा जस्तै म पनि रहस्य खोज्दै थिएँ त्यो अर्को कोठामा । त्यसमा समेत सफा बेड थियो । सरसमान मिलाएर राखिएको थियो ।

बेडको छेउमा प्रशस्त औषधी राखिएका थिए । एसि पनि जाडान गरिएको थियो ।  कसैले लामो सास फेरेजस्तो लाग्यो । छेउमा एट्याच ट्वाइलेट पनि रहेछ । बिस्तारै पाइलाहरु अगाडि बढाएँ ।

म र उनी एकैचोटी एक अर्कालाई देखेर तर्सियौं । उनी ‘मेरो बाबु †’ भन्दै रुन थालिन् । लामो समयदेखि विछोडिएकी आमासँगको जम्काभेटले मलाई अर्को रहस्यमा धकेलिदियो । एउटा मरेको भनिएको मान्छेलाई म जिबितै देख्दै थिएँ । त्यसले मलाई एक प्रकारको हर्ष दिएको थियो, साथै रहस्यको अर्को पोको पनि ।  
हो साँच्चै तिनी मेरी आमा थिईन् । मलाई जन्माउने आमा । मलाई आएर मेरो आमाले अंकमल गरिन् । ‘अब म ढुक्कले मर्ने भए’, उनले भनिन् । मेरा प्रश्नले भरिएका आँखातिर नियाल्दा उनलाई म के सोध्दैछु भन्ने अनुमान पहिल्यै भइसकेको हुनुपर्छ ।
उनी बोलिन् अनी म चुप भएँ ।

‘बाबु तिमी र जुन दिन मामाघर जादैँ थियौ, त्यो दिन कसैले मेरो आँखा र तिम्रो आँखामा पानी छ्यापिदियाृे । जसको असरले हामी दुबैजना बेहोस् भयाँै । मेरो होस् आउँदा म दिल्लीको एउटा ठूलो जेल जस्तो घरमा थिएँ । त्यहाँ मलाई बन्दी बनाईयो । मेरो देहको ब्यापार गरियो । मैले त्यहाँबाट उम्किने धेरै प्रयास गरेँ तर म बिफल भए । ४ बर्षपछि कोही ग्राहकमार्फत तिम्रो बाबालाई सन्देश पठाएँ । मेरो उद्धार गरियो ।
 
मेरो उद्दार त गरियो । तर म मात्र निस्किन त्यो जेलबाट । मभित्र घर बनाईसकेको एचआइभी भाइरस पनि मसँगै आयो । त्यसले मभित्र घरजम गरेर बस्ने तर्खर गरेको थियो ।’

आमाले यती बोलिसक्दा बाबा पनि आईपुग्नुभयो । मैले कुनै प्रश्न नै गरेको छैन । बाबाले आँफै उत्तर दिन थाल्नुभयो ।
‘मैले तिम्रो आमालाई एचआइभीसहित लिएर त आएँ । तर यो समावले हरेक दिन सोध्ने प्रश्नलाई दिने उत्तर थिएन मसँग । भनेर पनि के गर्ने ? माया केबल म मात्र गर्छु उनलाई । बाँकी दुनियाँले कुरा काट्ने मात्र त हो । मैले दिनुपर्ने हरेक माया दिएँ । समाजबाट उनलाई लुकाएर राखेँ । तिमीबाट लुकाउनुको कारण तिमीलाई पनि तिम्रा साथीहरुले कुनै आरोप नलगाउन् भन्ने हो ।  तिम्रो पढाईमा कुनै बाधा नआओस् भनेर हो । मैले उनको उपचारमा केही कमी राखिँन । रगत परीक्षण पनि लगातार गर्छु ।’

बल्ल बुँझे बाबाले रगत परीक्षण गर्न राखेको रगतको रहस्य ।
अन्तिममा म बोले, ‘बाबा । हजुर एक्लै हुनुहुन्न । अब म पनि हजुरको साथै छु । जाउँ आमालाई बाहिर घुमाउँन ।’
बाबाबाट आएको मुस्कानमा उहाँको सहमति मैले बुझें । 

© Arthasansar.com 2016, All Rights Reserved