Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, यस्ता छन् विशेषता

बुधबार, ३० जेठ २०७५, ०५ : २० मा प्रकाशित

सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, यस्ता छन् विशेषता

अर्थ संसार, काठमाडौं –  सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ ।

घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो ।

 करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गरेको छ ।

त्यसको फल सुपारी जस्तो हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भागमा काँचो नरिबलको स्वाद हुने गरेको छ । उक्त रुखमा फलेको फलको वैज्ञानिक परीक्षण शुरु भएको छ ।

 खाँदा मीठो लागेपनि एक÷दुई दानासम्म खाएमा केही नहुने र त्योभन्दा बढी खाएमा रिंगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लागी बिरामी पर्ने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार २०५२ सालमा सामुदायिक वन उपभोक्ता समिति बन्नु अगाडिदेखि नै त्यहाँ सो रुख रहेको थियो । हाल त्यस रुखको संख्या ८० देखि ९० वटा रहेको छ ।

 कसैले रामबुबा र कसैले राबुबा नामले पुकारिने सो रुखको काठ दाउरा कसैले पनि प्रयोगमा ल्याउँदैनन् । रामको नाम भएकाले अनिस्ट हुने आशंकामा स्थानीय कसैले पनि यस रुखलाई प्रयोग नगरेको अध्यक्ष थापाको भनाइ रहेको छ ।

प्रत्येक जेठ महिनाको पहिलो सातादेखि फल्न शुरु भई असारको पहिलो सातासम्म रहन्छ । त्यसपछि फुटेर झर्न थाल्छ । सो रुखको पात सिउँडी आकारको हुने र पशुले समेत खाँदैनन् । फलेको फललाई चराचुरुङगी र बाँदरले खाने सो फलको बारेमा हालै मात्र वैज्ञानिक परीक्षणको लागि पठाइएको हो ।

त्यसको फल जैतुनको फल जस्तै बल्ने हुँदा परीक्षणद्वारा इन्धनको रुपमा पनि प्रयोग हुनसक्ने स्थानीयको अनुमान छ ।त्यस प्रकारको रुख यहाँ बाहेक देशको अन्य भागमा नभएको रेञ्जर न्यौपानेले दाबी गर्नुभयो । परीक्षणका रुपमा चौताराको पात्लेपानी वन नर्सरीमा समेत विरुवा उत्पादन गर्ने कार्यक्रम रहेको छ ।

5b1f5c4002791.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको